भारततर्फ इन्धन तस्करी बढ्दो «

भारततर्फ इन्धन तस्करी बढ्दो

नेपालगन्ज- लामो समयदेखि नेपालबाट भारततर्फ भइरहेको पेट्रोलियम पदार्थको तस्करी पछिल्लो समयमा आएर झनै बढेको छ । नेपालमा भन्दा भारतमा पेट्रोल र डिजेल झन् महँगो भएपछि तस्करी बढेको हो ।
नेपालगन्जस्थित मुख्य नाकाको जयसपुरमा रहेको पेट्रोलपम्पमा त ९० प्रतिशतभन्दा बढी भारतीय सवारी साधनले तेल हाल्ने गरेका छन् । सो पम्प र नेपालगन्जको बीपी चोकमा रहेका दुईवटा पम्पमा तेल हाल्नकै लागि मात्रै दैनिक ३ सयको हाराहारीमा भारतीय गाडी आउने गरेका छन् । यीबाहेक विभिन्न सामान लिएर आएका ट्रक तथा ठूला गाडीले पनि फर्कने बेलामा ट्यांकी फूल गराएर फर्किने गरेको र सीमापारीका सहरमा बिक्री गर्ने गरेको पाइएको छ ।
यो बाहेक राप्तीपारीको क्षेत्रबाट त ट्रयाक्टरमा तेलका दर्जनांै ड्रम नै राखेर दिनदिनै भारततर्फ पठाइने गरिएको स्थानीयले बताएका छन् । पेट्रोल तथा डिजल नेपालमा भन्दा भारतमा प्रतिलिटरमा करिब २० रूपैया महंगो भएकाले नै ठूलो परिमाणमा तस्करी हुने गरेको हो । तस्करी नियन्त्रण नगरिए नेपाली क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव हुने खतरा रहेको बाँकेका यातायात व्यवसायीले बताएका छन् ।
यातायात क्षेत्रका अगुवा डेकनाथ गौतमले नेपालका लागि आएको पेट्रोलियम पदार्थको ठूलो भाग भारतमै जाने हो भने यहाँ अभाव र समस्या हुने बताए । उनले यो रोक्न प्रशासनले कडाइ गर्नुपर्नेमा जोड दिए ।
यसैबीच पेट्रोलियम पदार्थको तस्करी रोक्न बाँके प्रशासनले दुई महिनाअघि प्रहरीलाई दिएको निर्देशन पालना भएको छैन । प्रहरीले नियन्त्रणमा प्रयास नगर्दा नेपालबाट इन्धन बाहिरिने क्रम बढेको छ ।
सिमा क्षेत्रबाट एकै दिनमा पटक–पटक आवतजावत गर्ने भारतीय सवारी साधनलाई कालो सूचीमा राख्न र कारबाही गर्न प्रशासनले प्रहरीलाई निर्देशन दिएको थियो । सिमा क्षेत्रमा रहेका र नगरका पेट्रोल पम्पलाई पनि एउटै सवारी साधनमा एकै दिन पटक–पटक पेट्रोलियम पदार्थ हालेको पाइए कारबाही गर्न निर्देशन पनि प्रशासनले दिएको थियो । तर ती कुनै निर्देशनलाई पालना गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्