फ्रान्सेली राजदूतद्वारा सहजकर्ताको भूमिका निर्वाह गर्ने आश्वासन

काठमाडौं-नेपालका लागि फ्रान्सका नव नियुक्त राजदूत प्रान्कोइज एक्सभियर लेगरले नेपालको विकास एवं समृद्धिका लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीहरु बीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको र यसको लागि सहजकर्ताको भूमिका निर्वाह गर्न प्रयासरत हुने विचार व्यक्त गरेका छन् । राजदूत लेगरले नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग असोज १८ गते भएको भेटवार्ताका क्रममा व्यक्त गरेका हुन् ।
उक्त अवसरमा राजदूत लेगरले नेपालको औद्योगिक, पर्यटन एवम् हवाई क्षेत्रको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक रहेको र समृद्धिको मार्गमा अघि बढेको नेपालको वर्तमान अवस्थामा फ्रान्सको लगानी नेपालमा भिœयाउन दूतावासको तर्फबाट सक्दो पहल गरिने विश्वास समेत व्यक्त गरेका छन् । साथै उनले नेपालको हवाई सुरक्षाको विषयमा सुनिश्चितता प्रदान गर्न नेपालको हवाई विभाग र पर्यटन क्षेत्रमा तालिम उपलब्ध गराउन समेत इच्छुक रहेको धारणा व्यक्त गरे ।
उक्त अवसरमा फ्रान्सका राजदूतको स्वागत गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा विकासका आधारका साथै लगानीको उचित वातावरण श्रृजना भएको हुँदा फ्रान्सेली उद्योगीका लागि समेत नेपाल लगानीको राम्रो क्षेत्र हुने आफूले विश्वास लिएको विचार सहित नेपाल उद्योग परिसंघ नेपालको निजी क्षेत्रको तर्फबाट यस कार्यमा दूतावाससँग सहकार्य गर्न तयार रहेको कुरा व्यक्त गरे ।
नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानीको राम्रो प्रतिफल प्राप्त गरेको नेपालमा सञ्चालित उद्योगहरुले आफ्नो लगानीको नाफा रकम फिर्ता लग्ने विषयमा कुनै समस्या नभएको र राम्रो वातावरण नेपालमा भएको समेत उनले बताए ।
सो अवसरमा परिसंघ पदाधिकारीहरु, गभर्निङ काउन्सील सदस्यहरु एवं फ्रान्स दूतावासका आर्थिक सल्लाहकारको समेत उपस्थिति थियो ।