यसै वर्षभित्र डिसहोमको आईपीओ जारी हुन्छ «

यसै वर्षभित्र डिसहोमको आईपीओ जारी हुन्छ

पछिल्लो समय नेपाली बजारमा निकै लोकप्रिय बन्दै आएको कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक हुन्— सुदीप आचार्य । नेपाली बजारमा टिभी हेर्ने अन्तर्राष्ट्रिय तरिका सिकाउँदै बजार प्रवेश गरेको यस कम्पनीले नेतृत्व पनि बहुमुखी प्रतिभावान् व्यक्ति पाएको छ । सधैं नयाँपनमा रुचि राख्ने युवा व्यवसायी आचार्यले नेपाली बजारमा डिजिटल र हाइ डेफिनेसन (एचडी) प्रविधिबाट टेलिभिजन हेर्ने बानी बसाल्न निकै ठूलो मेहनत गर्नुपरेको थियो । अमेरिकाबाट इन्डस्ट्रियल इन्जिनियरिङ गरेका आचार्यसँग अन्तर्राष्ट्रिय बजारमा पस्मिना र गलैंचा व्यापार गरेको अनुभव पनि छ । कामना सेवा विकास बैंकको अध्यक्ष तथा मल्टी इनर्जी हाइड्रोपावर कम्पनीको निर्देशकको समेत जिम्मेवारी सम्हालेका आचार्य एक सफल उद्यमी हुन् । उनै आचार्यसँग डिसहोमको बजारीकरण रणनीति, पहुँच, सरकारले अगाडि सारेको डिजिटल टेलिभिजनको अवधारणालगायत सममामयिक विषयमा कारोबारले गरेको कुराकानीको सार :

डिस मिडियाले पछिल्लो समय के–कस्ता कामलाई प्राथमिकता दिएको छ ? नेपाली उपभोक्ताले छिट्टै केही नयाँपन अनुभव गर्न पाउँछन् ?
हामीले सन् २०१० मा लाइसेन्स लिएर काम सुरु गरेका थियाैँ । यो ‘क्यापिटल इन्टेन्सिभ’ प्रोजेक्ट हो । यस्तो परियोजनामा राम्रो नाफा लिन समय पक्कै पनि लाग्छ । छिमेकी मुलुक भारत, चीनलगायत युरोप, अमेरिका जहाँको कुरा गरे पनि ‘क्यापिटल इन्टेन्सिभ’ परियोजनमा राम्रो लाभ लिन १०–१५ वर्ष लाग्नु सामान्यजस्तै हो । लगानीकर्तालाई जति नै कठिन भए पनि हामीले सबै कुरा ओपन नै राखेर काम गरेका छौँ । त्यसले गर्दा नै हामी बजारमा पनि आक्रामक रूपमा जान सकेका हौँ भन्ने मलाई लाग्छ । गत वर्षको अडिट रिपोर्ट आउन बाँकी छ भने अघिल्ला तीन वर्ष नाफामा छौँ । नाफा क्रम पनि बढ्दो छ । आयकर तिर्न थालेको चालू वर्ष चौथो वर्ष हो । यसरी बजार पहुँच, सरकारलाई बुझाउने राजस्व, आयकरलगायत विविध पक्षलाई हेर्दा अब कम्पनीले निकै राम्रो बाटो लिएको अनुभूति हुन्छ । नेपालका लागि डिस होमले दिएको सेवा नयाँ नै हो । सानैदेखि नयाँ काममा मलाई चाख लाग्ने भएकाले पनि अमेरिकाबाट पढेर आएपछि यो क्षेत्रमा हात हालेको हुँ । अहिलेसम्म आउँदा मलाई व्यवसायबाट पछुतो मान्नुपर्ने अवस्था छैन । सबै परियोजनाका काम अगाडि बढेका छन् । भविष्य पनि राम्रो देखेको छु ।

स्याटेलाइट प्रदायकमार्फत देशभर सेवा पुराउने हामी मात्रै छौँ । सगरमाथाको टुप्पोमा पनि पावर ब्याकअप र टेलिभिजन राख्ने हो भने त्यहाँ पनि डिसहोम चल्छ ।

सुरुमा यहाँहरू डिस टिभीका नामले बजारमा आउनुभयो, पछि होम टिभीलाई पनि गाभेर डिसहोम भयो, पछिल्लो पटक फेरि सिम टिभी पनि गाभ्नुभयो । अब त तपाईंहरूको प्रतिस्पर्धी नै बजारमा सकिए नि ? अरू बाँकी रहेका साना कम्पनी पनि मर्ज गर्ने योजना छन् कि ?
कम्पनीलाई बजारमा उच्च गतिमा कुदाउनका लागि अवश्य पनि त्यसलाई बलियो पार्नुपर्छ नै । त्यसका लागि हामीले कम्पनीहरूको स्वामित्व लिने काम गरेका हौँ । अहिले पनि बजारमा राम्रो प्रतिस्पर्धा भइरहेको छ । स्याटेलाइट प्ल्याटफर्ममा मात्रै हाम्रो एकाधिकारजस्तो देखिएको हो, तर समग्रमा भने प्रतिस्पर्धी अरू पनि कम्पनी छन् । बजारमा अहिले आईपी प्रविधि, केबल टेलिभिजन, युट्युब, टेरेस्टोरियलको बजार पनि छ । हामी स्याटेलाइटमा आधारित कम्पनी भएकाले यो आफैमा महँगो प्रविधि पनि हो । अहिले अमेरिकी डलरको भाउ दिनप्रतिदिन बढिरहेको छ । यसले पनि हामीजस्ता व्यवसायीलाई चुनौती थपेको छ । भारतमा पनि डीटीएच सुरुमा सातवटा थिए । अहिले डिस र भिडियोकन मर्ज भएका छन् । केही हराएर पनि गए । हामीभन्दा झन्डै ४० गुणा ठूलो देशमा मात्रै पाँच–छवटा मात्रै डीटीएच छन् भने नेपालमा मात्रै एउटा डीटीएच छ । नेपालको जनसंख्याका आधारमा हेर्दा एउटा डीटीएच ठीक छ । अर्काे कुरा, सिम टिभीलाई मर्जभन्दा पनि प्रपर्टी व्यवस्थापन मात्रै लिएको हो । दुवै कम्पनीको बजार छुट्टाछुट्टै छ । भोलिका दिनमा इन्टरनेटमा जान सजिलो हुन्छ भनेरै सिम टिभी लिएको हो ।

निकट भविष्यमा इन्टरनेटमा नेपाली उपमोक्तलाई नयाँपन दिने हाम्रो तयारी छ । त्यसका लागि केही काम अगाडि बढेको छ भने केही प्रक्रियामै छ ।

अहिलेको अवस्थामा डिस मिडियाको पहुँच र बजार हिस्सा कति हो ?
सुरुमा हामीले जहाँ बिजुली पुगेको थियो तर टिभी पुगेको थिएन, त्यो ठाउँलाई पहिलो प्राथमिकता दिएका थियौँ । त्यतिबेला नेपाल टेलिभिजनले पनि टेरेस्टोरियलमा ७५ प्रतिशत मात्रै बजारहिस्सा ओगटेको अवस्था थियो । कान्तिपुर टेलिभिजनले ४०/५० प्रतिशत मात्रै क्षेत्रमा सेवा दिएको अवस्था थियो । हामी आएपछि शतप्रतिशतमै पहुँच पुगेको हो । दुर्गम क्षेत्रका लागि डीटीएच सेवा अति उपयुक्त सञ्चारको माध्यम बन्न सफल भएको छ ।

काठमाडौँ बसेको मान्छेले जति सुविधा पाएको छ सो बराबर नै दूरदराजमा बस्नेले पनि पाएको छ ।

नागरिक हकलाई स्ट्रेन्थेन मात्रै गरेको हो । हामी पहिले गाउँमा र पछि मात्रै सहरमा आएका हौँ । डिसहोमको सेवा अहिले ७७ वटै जिल्लामा पुगिसकेको अवस्था छ । हामी अझ दूरदराजमा सेवा विस्तारका लागि काम गरिरहेका छौँ ।

इनिसियल पब्लिक अफरिङ (आईपीओ) जारी गर्ने विषय कहाँ पुग्यो ?
आईपीओका लागि पनि केही सर्त पूरा गरेको हुनुपर्छ । ती व्यवस्थाहरू हामी अहिले पूरा गर्दै छौँ । तीन वर्षसम्म निरन्तर नाफामा गएको हुनुपर्ने भन्ने मुख्य सर्त छ । त्यसै गरी पब्लिक लिमिटेड कम्पनी पनि बनाउनुपर्छ । हामीले यो बनाइसकेका छौँ । अहिले कम्पनीको रेटिङ गर्न दिएको अवस्था छ । गत वर्षको अडिट रिपोर्ट आएपछि हामी प्रक्रियामा जान्छौँ । अघिल्ला तीन वर्षको नाफा बढ्दो क्रममा छ । नाफामा भएको पहिलो वर्ष ०७१/७२ मा २ करोड रुपैयाँ, ०७२/७३ मा २३ करोड रुपैयाँ र अघिल्लो वर्ष (०७३/७४) मा ४५ करोड नाफा भएको छ । गत वर्ष ०७४/७५ को लेखापरीक्षणका क्रममा छ । पुरानो घाटा पनि केही रिकभर गर्नुपर्ने भएकाले समय लागेको हो ।

आवश्यक सबै पक्रिया पूरा हुँदै गएको र कम्पनी निरन्तर नाफामा भएकाले यसै आर्थिक वर्षको अन्त्यसम्म आईपीओ जारी गर्ने हाम्रो तयारी छ ।

अब कम्पनीका योजना के छन् ?
नेपाली कन्टेन्टहरू बढाउनुपर्ने पहिलो आवश्यकता देखिएको छ । अहिले जे फिड ग¥यो त्यही हेरिएको अवस्था छ, तर नेपालीले नेपाली च्यानल र कन्टेन्ट खोज्छ भन्ने हाम्रो बुझाइ हो । विश्वकपका बेला स्पोर्ट्स च्यानलमा हामीले नेपाली भाषामा प्रसारण गरेका थियाैँ । त्यो प्रयोगले हामीलाई नेपालीलाई नेपाली कन्टेन्ट नै दिनुपर्छ भन्ने सिकाएको छ । सहरमा बस्नेका लागि अन्य भाषा उपयुक्त होला, तर डिसहोम सबै नेपालीको भावना बुझेर सेवा दिनुपर्छ । अहिले सिनेमा हलमा हिन्दीभन्दा नेपाली सिनेमा बढी लाग्न थालेका छन् । यसबाट पनि अब नेपाली ग्राहकले नेपाली कन्टेन्ट नै खोज्न थालेका छन् भन्ने प्रस्ट हुन्छ । नेपाली कन्टेन्ट बढाउन सकियो भने विदेशी कन्टेन्टप्रतिको निर्भरता बिस्तारै हट्दै जान्छ । प्रविधिका क्षेत्रमा हामी अलि एड्भान्स हुन चाहेका छौँ । त्यसका लागि ‘टिभी एभ्रिहोयर’ भनेर छिट्टै ल्याउँदै छौँ । ह्यान्ड डिभाइसमा हेर्न मिल्ने गरी बढीमा २ महिनामा यो सुविधा दिने तयारी छ । विश्वप्रख्यात कम्पनी कोनएक्ससँग सम्झौता पनि भइसकेको छ । एप्लिकेसन भएकाले इन्टरनेट भएको सबै ठाउँमा मोबाइल, ल्यापटप, ट्याबलेट आदिबाट हेर्न सकिन्छ । खासगरी डिसहोमकै ग्राहकलाई घरभन्दा बाहिर रहेको अवस्थामा टिभी हेर्न वञ्चित हुनु नपरोस् भनेर यो प्याकेज ल्याउन लागिएको हो ।

एनालगबाट डिजिटल प्रविधिमा रूपान्तरण हुने समयसीमा कटेको छ, तर पनि गाउँ–गाउँमा डिजिटल प्रविधि अझै पुग्न सकेको छैन, किन ?
हो, सरकारले डिजिटल भइसकेको घोषणा गरे पनि व्यवहारमा भइसकेको अवस्था छैन । यसै साता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटासमक्ष भेट गरी यसै विषयमा ध्यानाकर्षण गराएका थियौँ । मन्त्रालय पनि यस विषयमा गम्भीर भएको छ । एनालगबाट डिजिटलमा जाँदा सरकारले पनि निकै ठूलो राजस्व प्राप्त गर्न सक्छ । हामीले सामान्यतया बजार हिस्सा अनुमान गर्दा डिसहोमको बजार हिस्सा झन्डै २० देखि २५ प्रतिशत मात्रै होला । हामीले आय कर, उपभोक्ताबाट लिएको भ्याट, कस्टम ड्युटी, टीडीएसलगायतको अन्य शुल्कबापत सरकारलाई बुझाएको रकम गत वर्ष डेढ अर्बभन्दा धेरै देखिएको छ । हामीले डेढ अर्ब रुपैयाँ तिरेका छौँ भने अरू बाँकी रहेको ७५ प्रतिशत बजार त बाँकी नै छ । यसबाट कम्तीमा पनि ६ अर्ब रुपैयाँ उठ्न सक्छ ।

ग्राहकले पैसा तिरिरहेको छ, तर सरकारको खातामा पुगेको छैन । डिजिटाइसेजनलाई राम्रोसँग अगाडि बढाउन सके अर्काे साढे ४ अर्ब राजस्व उठाउन सकिन्छ भन्ने अनुमान छ ।

मेरो विचारमा अहिले पनि ४० प्रतिशत एनालग प्रविधि छ । २५ प्रतिशत ग्रे मार्केटमा छ । भारतको बोर्डर आसपासमा पनि गैरकानुनी तरिकाले डीटीएच सञ्चालन भएको अवस्था छ । डिजिटल भनेर अगाडि बढेको तर कन्ट्रोल एक्सेस सिस्टम लागू नगरेको अवस्था छ । नियमन कमजोर हुँदा सरकाले पाउनैपर्ने राजस्वसमेत गुमाएको छ ।

यसपटकको दसैं डिस मिडियाले ग्राहकसँग कसरी मनाउँछ ?
हाम्रो व्यवसायमा सबैभन्दा ठूला ग्राहक नै हुन् । ग्राहककै मागअनुसार हामीले विभिन्न प्याकेज ल्याउने गरेका छाँै । यस पटकको दसैंमा ग्राहकलाई हामी छुट्टै प्याकेज लिएर आएका छौं । ‘वान टु थ्री डिस होम फ्री’ भनेर योजना ल्याएका छौँ । ५/६ हजार रिचार्ज गर्दा २ हजार ९ सय ९९ मा बेच्दै आएको सेट–टप बक्सलाई निःशुल्क गरेका छौँ । प्याकेज हेरेर ५/६ हजार रिचार्ज गर्नेले झन्डै १ वर्षसम्म डिसहोमको सेवा लिन सक्छन् ।

डिसहोममा समग्र लगानी कति हो ?
इक्वेटीका आधारमा २० अर्बभन्दा धेरैको लगानी छ ।

तपाईंहरूले दिएको सेवा र नेपाली ग्राहकको चाहनाअनुसारको सेवा मिलेको छ ?
अहिले ग्राहक ‘सेटिस्फ्याक्सन’को पाटोलाई ध्यान दिएर विभिन्न रिसर्च गरेका छौँ । सोही रिसर्चका आधारमा नेपाली बजारले खोजेअनुसारको कन्टेन्ट विस्तारमा जोड दिएका छौँ । हामीले सुरु गर्दा स्पोट्र्स च्यानल भनेर सोचिएको थिएन । बजारको मागअनुसार गरिएको हो । रमाइलो टिभी भनेर छुट्टै च्यानल राखेका छौँ । त्यसै गरी सिनेमा मात्रै देखाउने च्यानल पनि हाम्रो मात्रै हो । अझ समयको मागअनुसार परिष्कृत गर्दै गरेका छौँ ।

युवा उद्यमीका लागि नेपालमा व्यवसाय गर्न कत्तिको सहज देख्नुभो ?
कमल फुलाउन हिलो नै चाहिन्छ भनेजस्तो यहाँ धेरै कुरा नभएकाले काम गर्न सजिलो छ । नेपालमा धेरै सम्भावना छन् । बाटो नभएकाले आफैं बनाएर जाने काम आफ्नो हो, तर त्यसमा सम्भावना पनि त छन् । विदेशमा गएर पनि व्यवसाय गर्ने हो भने अरूले गरेका समान खालको काम नै गर्नुपर्ने अवस्था छ । नेपालमा भने नयाँ तरिकाले जान सक्ने प्रशस्त सम्भावना छन् । मेरो हिसाबमा नेपालमा काम गर्न सहिजो छ । यहाँ धेरै सम्भावना छ, कसैले केही गरेकै छैन ।

व्यवसायीहरूबाट लगानीमैत्री वातावरण छैन भन्ने आवाज आइरहेका बेला तपाईंले भने उचित देख्नुभयो, यसको आधार के हो ?
संक्रमणकाल, संविधान निर्र्माणको प्रक्रियामा भएको ढिलाइ, सरकार परिवर्तनजस्ता कारणले हामीलाई काम गर्न कठिन थियो । अहिले हामीले स्थायी सरकार पाएका छौँ । अहिलेको सरकारलाई काम गरेर देखाउनुपर्ने चुनौती पनि छ । हामीलाई पनि डिजिटलका विषयमा जानकारी गराउन गयो, त्यो कुरा बुझाउन नपाउँदै अर्काे सरकार आउने जस्ता समस्या थियो । अलिकति सहज हुनासाथ बाटो खुल्छ भन्नेमा विश्वास गर्छु ।

देश विकास र समृद्ध हुन धेरै समय लाग्दैन । बढीमा ८ देखि १० वर्ष मात्रै भए पनि विकासमा फड्को मार्न सकिन्छ ।

तपाईं नयाँ काम गर्न रुचाउने मान्छे, अबको लगानी कता ?
हामी परिवारमा पनि के कसरी अगाडि बढ्ने, लगानी कता गर्दा ठीक होला भनेर सल्लाह गरेर मात्रै अगाडि बढ्छौँ । बुवा यसै क्षेत्रमा लामो समयदेखि लाग्नुभयो, जसका कारण आज म यस ठाउँमा छु । भाइ सन्दीप आचार्य सफ्टवेयर व्यवसायमा छन् । अब पर्यटन क्षेत्रमा जाने सोच छ । यस क्षेत्रमा इच्छा पनि छ । पर्यटन क्षेत्रमा धेरै सिर्जनशीलता र मेहनत देखाउन सकिने सम्भावना छ । केही अध्ययन यस विषयमा भएको छ । छिट्टै केही नतिजा लिएर आउँछौँ ।

हाइड्रोपावरमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, विन्धवासिनीको काम पूरा भएन ?
आरएम ग्रुपअन्र्तगत हाइड्रोपावरको काम अगाडि बढेको छ । कास्कीको विन्धवासिनी हाइड्रोपावरबाट बत्ती बाल्ने अन्तिम चरणमा पुगेका छौँ । ८.६ र ६.८ मेगावाट गरेर दुईवटा परियोजना छन् । दसैंअगाडि नै बत्ती बाल्न सकिन्छ कि भन्ने तयारीमा छौँ । अर्काे भनेको लाङटाङको परियोजना हो । यसको पनि सबै प्रारम्भिक काम भएको छ । दसैंतिहारपछि काम सुरु हुन्छ । चीनसँग सम्झौता भइसकेको छ । खिम्तीको पिपल्स हाइड्रो जुन ४८.४ मेगावाटको परियोजना छ, यसमा पनि प्रारम्भिक काम सम्पन्न भएको छ । यी तीनवटा अगाडि बढिसकेका परियोजना हुन् । धुन्साको १ सय ५५ मेगावाट अहिले भर्खर लाइसेन्स लिएर अध्ययन सुरु गरेका छौँ ।

 

 

प्रतिक्रिया दिनुहोस्