नेता नेपालको बोलीले पार्टीको प्रतिष्ठामा असर : प्रदेश इन्चार्ज गुरुङ «

नेता नेपालको बोलीले पार्टीको प्रतिष्ठामा असर : प्रदेश इन्चार्ज गुरुङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वरिष्ठ नेता माधवकुमार नेपालको अभिव्यक्तिले पार्टीको प्रतिष्ठामा असर परेको बताएका छन् । नेकपा गण्डकी प्रदेश कमिटिले विहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जथाभावी रुपमा रूरिष्ठ नेताको अभिव्यक्ति दिनाले पार्टीमा गम्भिर असर परेको बताएका हुन् ।
उनले भने, “केन्द्रका केही नेताहरुको अभिव्यक्तिले पार्टीको प्रतिष्ठामा नै असर परेको छ ।” नेकपाको नयाँ विधान हेरेर परिमार्जित हुन आग्रह गर्दै उनले अहिले जे भइरहेको छ, त्यो नयाँ विधानअनुसार भएको दाबी गरे ।
यसैबीच, नेकपा गण्डकी प्रदेश कमिटिले जिल्लासहितको स्थानीय तहको पार्टी प्रकृयाको संयन्त्र टुंगाएको छ । नेकपा गण्डकी प्रदेश कमिटिको बुधबार पोखरामा बसेको पहिलो बैठकले पार्टीको जिल्लासहितको स्थानीय तहको पार्टी संयन्त्र गठन प्रकृयाको विषय टुंगाएको नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले बताए ।
उक्त बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका पाँच–पाँच जना रहने गरी नेकपाको जिल्ला संयन्त्र गठन हुने निर्णय गरेको नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले बताए । जिल्ला संयन्त्रमा तत्कालीन नेकपा एमालेबाट जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव रहने भएका छन् भने तत्कालीन माओवादी केन्द्रबाट इन्चार्ज, सहइन्चार्ज र संयोजकसहित ५ जना गरी १० सदस्यीय संयन्त्र बनाइने भएको सचिव नेपालीले बताए ।
त्यस्तै जिल्ला संयन्त्रले महानगरपालिकामा १०, नगरपालिकामा ८ गाउँपालिकामा ६ सदस्यीय पार्टी संयन्त्र गठन गर्नुको साथै पार्टीको विधान, नियमावली, पार्टीको थप निर्देशनलाई आधार मानी महानगरपालिका नगरपालिका र गाउँपालिकाको पार्टी एकीकरणका सम्बन्धमा प्रदेश कमिटिलाई आवश्यक सुझाव पठाउनुपर्ने निर्णय गरेको नेकपा गण्डकीका अध्यक्ष पाण्डेले बताए ।
गण्डकी प्रदेशको भूगोलमा रहेका केन्द्रीय कमिटिका सदस्यहरुको भेला शुक्रबार पोखरामा हुने भएको छ । नेकपा गण्डकी प्रदेशको सम्पर्क कार्यालय पोखरा ९ नयाँबजारमा रहने भएको छ । अध्यक्ष पाण्डेले भने, “पार्टी एकीकरणको लागि भन्दा पनि काम नै अगाडि बढाउनका लागि संयन्त्र गठन गरिएको हो । यही संयन्त्र अनुसार तल्ला तहमा अब काम सुरु हुन्छ ।” सहइन्चार्ज खगराज अधिकारीले नेकपा एकीकरणको प्रक्रिया छिटो टुंगाउन खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्