चितवनमा चाडबाडलक्षित विशेष सुरक्षा योजना «

चितवनमा चाडबाडलक्षित विशेष सुरक्षा योजना

चितवन-जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्वमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न १ सय ६ वटा टोली परिचालन गर्ने भएको छ । भयरहित वातावरणमा चाडपर्व बनाउन बिहीबारदेखि ‘विशेष सुरक्षा योजना’ लागू गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले कामको बाँडफाड गरेर सुरक्षा टोली खटाइएको बताए । उनका अनुसार ४ सय ५६ जना प्रहरीलाई ९ वटा समूह बनाएर कामको जिम्मेवारी दिइएको छ । “प्रहरीको ‘मुभमेन्ट’ बढ्ने छ, अन्य सुरक्षाका निकायसँग पनि समन्वय हुनेछ,” उनले भने, “सडकदेखि बस्तीसम्म हाम्रो निगरानी हुनेछ, अप्रेशन चल्नेछ ।”
राजमार्ग सुरक्षाका लागि मौवाखोलादेखि लोथर सडक र भित्रि सडकमा निगरानी गर्न मोबाइल गस्तीको १४ टोली, जिल्लाका विभिन्न चोकमा निगरानी गर्न पिकेट ड्युटीको २६ टोली, जुवातास, लंगुरबुर्जा, कौडा नियन्त्रण गर्न ५ टोली परिचालन गरिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्था र सुनचाँदी पसल सुरक्षाका लागि ११ टोली, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण गर्न ४ टोली, आगलागी तथा विपद घटनाका लागि ३ टोली खटाइने छ । यस्तै पैदल गस्ती, चोरी झैगडा, समाजमा हुने विकृतिलाई नियन्त्रण गर्न ८ टोली र २७ ठाउँमा क्यूआरटी टोली परिचालन गरिनेछ । यस्तै पटका, विष्फोटक पदार्थ नियन्त्रण गर्न ८ टोली परिचालन हुनेछ ।
“आकस्मिक चेकजाँच बढाएका छौँ, हरेक दिन ५६ स्थानमा आकस्मिक चेकिङ हुनेछ । सूचना संकलन गर्न सहज होस् भनेर सादा पोशाकका प्रहरी संख्या बढाएका छौँ, अपराध हुन सक्ने क्षेत्रलाई बढी निगरानीमा राखिनेछ,” उनले भने ।
चाडपर्वका बेला (असोज–कात्तिक)मा गत वर्ष १ सय ७९ मुद्दा प्रहरीमा दर्ता भएका थिए । जसमध्ये ८७ वटा सार्वजनिक अपराधका मुद्दामा १ सय २९ जना पक्राउ भएका थिए । यस्तै आर्थिक वर्ष ०७३÷७४ मा चाडपर्वका बेला १ सय ५३ मुद्दा दर्ता भएका थिए । जसमध्ये ६१ सार्वजनिक अपराधका मुद्दामा ८९ जना पक्राउ परेका थिए । चाडपर्वका बेला झैगडा, कुटपीट, तोडफोड लगायतका घटना बढी हुने गरेका छन् । यस्तै चोरीका घटना धेरै हुने गरेपनि सामान्य चोरीका घटना प्रहरीमा उजुरी पर्दैनन् ।
“चाडबाडका बेला अपराधिक घटना धेरैनै हुने गर्छन्,” चितवन प्रहरी प्रवक्ता ढकालले भने, “अपराधिक मनोवृत्तिलाई निरुत्साहित गर्न विशेष सुरक्षा योजना ल्याएका हौँ ।” गुणस्तरहीन सामान बिक्रीवितरण, कालोबजारी, गुण्डागर्दी, लुटपाट, बढी भाडा असुलीलगायतका घटना हुन नदिन प्रहरी चनाखो पारिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्