कर्मचारी भर्ना गर्नुस् : उपप्रधानमन्त्री यादव «

कर्मचारी भर्ना गर्नुस् : उपप्रधानमन्त्री यादव

जनकपुरधाम-उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हरेक नागरिकलाई निःशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनेबारे गृहकार्य भइरहेको बताएका छन् । बिहिबार जनकपुरमा यादवले निःशुल्क आधारभूत स्वस्थ्य सेवाका लागि संसद्मा प्रस्ताव लगिसकेको जानकारी गराउँदै अब नगरपालिका, गाउँपालिकादेखि हरेक वडामा स्वास्थ्य चौकी खोलिने बताए ।
जनकपुर अञ्चल अस्पतालको बाहिरंग विभागको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले निःशुल्क आधारभूत स्थास्थ्य सेवाका लागि प्रत्येक नगर, गाउँपालिका र वडामा स्वास्थ्य संस्थाको लागि कोठा उपलब्ध नभएको ठाउँमा भाडामा लिएर भएपनि अस्पताल खोलिने बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका स्वास्थमन्त्री यादवले प्रदेश नम्बर २ स्वास्थ्य सेवामा पछि परेको भन्दै स्वास्थ्य क्षेत्रमा विकासका लागि स्तरीय स्वास्थ्य प्रतिष्ठान र प्रादेशिक आयुर्वेदिक अस्पताल खोल्नेबारे संसदमा प्रस्ताव लगिसकेको जानकारी दिए । उनले जनकपुर अञ्चल अस्पताललाई नाम परिवर्तन गरी प्रादेशिक अस्पताल घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्दै जनकपुरलाई मेडिकल हब बनाउन सोही अस्पतालमा मेडिकल कलेज समेत खोल्नुपर्ने उल्लेख गरे ।
स्वास्थमन्त्री यादवले प्रदेश २ मा अब क्यान्सर अस्पताल निर्माण गर्न सरकारले अध्ययन समिति गठन भइसकेको जानकारी गराउँदै अध्ययन समितिले उपयुक्त ठाउँको अध्ययन गरिरहेको जनाए । स्वास्थमन्त्री यादवले भन, “प्रदेश लोकसेवासम्बन्धी कानुन बनाएर कर्मचारी भर्ना गर्नुस् । केन्द्र सरकारको मुख हेरेर हुँदैन ।” उनले आफ्नो कर्मचारी आफै भर्ना गर्न प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई निर्देशन दिएका छन् ।
जनकपुर अञ्चल अस्पतालमा आवश्यक डाक्टर नहुँदा सेवा प्रभावकारी नभएको भन्दै स्वास्थमन्त्री यादवले मुख्यमन्त्री राउतलाई तत्काल लोकसेवा सम्बन्धी कानुन बनाएर कर्मचारी भर्ना गर्न भने । प्रदेश २ का मुख्यमन्त्री राउतले संघीय सरकारले कर्मचारी नपठाउँदा सरकारले काम गर्न नसकेको गुनासो पोखेपछि स्वास्थमन्त्री यादवले आफ्नै कर्मचारी भर्ना गर्न भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्