निर्मलाको न्यायका लागि प्रदर्शन «

निर्मलाको न्यायका लागि प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता नलागेकोमा न्यायको लागि लड्दै आएकाहरुले बिहीबार बिहान सिंहदरबार दक्षिणी गेटमा प्रदर्शन गरेका छन् । उनीहरुले घटनाको प्रमाण मेट्नेहरुबाटै अनुसन्धान सुरु गर्न माग गर्दै दिउँसो पत्रकार सम्मेलन पनि गरेका थिए ।
“मानवअधिकार आयोग र गृह मन्त्रालयमा रहेको अनुसन्धानको प्रतिवेदन तत्काल छानबिन गर्न माग गर्छौं,” अभियन्ता हिमा विष्टले भनिन् । यस्तै, अभियन्ता डा. ल्हामो शेर्पाले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले १५ वटा गल्ती गरेको बताइन् । छोरी खोज्न सहयोग गरिदिनुस् भन्दा निर्मलाकी आमालाई फोटो लिएर आउनुस् भन्नेदेखि छानबिनका क्रममा पनि प्रशस्तै गल्ती भएको भन्दै उनले निर्मलाको भनिएको भेजाइनल स्वाबबारे पनि शंका व्यक्त गरेकी छिन् ।
गृहमन्त्रीको आग्रहमा अनुसन्धानमा सहयोग हुने भएकाले काठमाडौंबाट निर्मलाका बाबुआमालाई कञ्चनपुर पठाइएको तर धिरु बस्नेत नेतृत्वको अनुसन्धान टोलीले भेट नै नगरेको अधिकारकर्मी शारदा चन्दले बताइन् । जिम्मेवार व्यक्तिहरुले घटनाको प्रमाण नभएको भन्दै जवाफ दिइरहेकोमा पनि आक्रोश व्यक्त गर्दै उनले प्रमाणहरु जानीजानी मेटिएको बताइन् । साथै, निर्मलाका निम्ति न्याय अभियानका तर्फबाट नेपाल सरकारसँग बुँदागत रुपमा विभिन्न माग पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्