मुआब्जाप्रति स्थानीयको आपत्ति «

मुआब्जाप्रति स्थानीयको आपत्ति

तनहुँ जलविद्युत आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जामा स्थानीयवासीले आपत्ति जनाएका छन् ।
आयोजनाको ड्याममा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ को वेतनीको जग्गाको मुआब्जाप्रति स्थानीयले आपत्ति जनाएका छन् । तनहुँ जलविद्युत आयोजना प्रभावित संघका तर्फबाट अध्यक्ष तेजराज थपलियाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै मुआब्जा निर्धारण समितिले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताएका छन् ।
जिल्ला मुआब्जा निर्धारण समितिले जग्गाको प्रकृति हेरेर प्रति रोपनी साढे ९ लाखदेखि २० लाखसम्म मूल्य निर्धारण गरेको थियो । त्यस्तै पहिरोमा परेको जग्गाका लागि प्रति रोपनी २ लाख ४० हजार निर्धारण भएको थियो ।
विज्ञप्तीमा परापूर्वकालदेखि चलि आएको १५ फुटे बाटोमा पर्ने घडेरीयुक्त जग्गाको वास्तविक मूल्य प्रति आना झण्डै १० लाख हुनुपर्नेमा मुआब्जा निर्धारण समितिले हचुवाको भरमा मूल्य निर्धारण गरेको जनाइएको छ । साथै ६ वर्ष अगाडि बाटो नभएको साविक काहुँशिवपुर गाविसमा परेको जग्गालाई प्रति आना आयोजनाले ३ लाखका दरले खरिद गरेको र अहिले आफूहरुको जग्गाको मूल्य भने एकदमै न्युन निर्धारण गरेको विज्ञप्तीमा भनिएको छ ।
मुआब्जा निर्धारण समितिले कसैलाई पनि भेदभाव नगरी उचित र वैज्ञानिक ढंगले जग्गाको मुआब्जा निर्धारण गर्नुपर्ने विज्ञप्तीमा माग गरिएको छ ।
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका लागि व्यास नगरपालिका–५ मा थप ५० रोपनी जग्गा आवश्यक पर्ने आयोजनाले जनाएको छ । जसका लागि आठ करोड रुपैयाँ विनियोजन भएको छ ।
तनहुँ जलविद्युत आयोजनाको निर्माणका लागि सोमबार ठेक्का सम्झौता भइसकेको छ । आयोजनाको नदी फर्काउने, बा“ध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग र आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका लागि चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ ।
दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि शुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्