कर्मचारी अभावले सेवा प्रवाहमा समस्या «

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

सल्यान-सल्यानका १० वटै स्थानीय तहमा कर्मचारी अभावले काम प्रभावित भएको छ । यहाँका स्थानीय तहमा करिब दुई सय कर्मचारी अपुग रहेका छन् ।
कर्मचारी अभावमा सेवाप्रवाहमा समस्या भएको जनप्रतिनिधिले जनाएका छन् । सरकारले गाउँपालिकामा ३० र नगरपालिकामा जनसंख्याअनुसार ५० देखि ७० कर्मचारीको व्यवस्था हुने भने पनि दरबन्दी पूर्ति भएको छैन । स्थानीय तहमा प्रशासकीय अधिकृत, लेखा अधिकृत, नायब सुब्बा र वडा सचिवको अभाव देखिएको छ । सल्यानको शारदा नगरपालिककामा ७० कर्मचारीको दरबन्दी भए पनि ५० जनामात्र कार्यरत रहेको नगरपालिकाले जनाएको छ । शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीका अनुसार १५ वडामध्ये चार वडामा वडा सचिवसमेत छैनन् । कर्मचारी अभावमा दुई वडामा एउटै सचिवले काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । इन्जिनियरलगायत आवश्यक अन्य जनशक्ति व्यवस्थापनका लागि पटकपटक केन्द्र र प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ हुन नसकेपछि वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित भएको नगरपालिकाले जनाएको छ ।
“नगरपालिकामा नभई नहुने प्राविधिक कर्मचारीको समेत अभाव भएको छ,” उनले भने “तीनजना इन्जिनियर हुनुपर्नेमा एक जनामात्र कार्यरत रहेकाले विकासका काम प्रभावित भएका छन् ।” त्यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका १२ वडामा एक जनामात्र सचिव कार्यरत रहेको नगरपालिकाले जनाएको छ । नगरमा सात जनामात्र स्थायी कर्मचारी रहेकाले अन्य विषयगत कार्यालयबाट आएका कर्मचारीले सचिवको काम गर्दै आएको बन्गाड कुपिण्डे नगरपालिका मेयर गोविन्द पुनले बताए । कर्मचारी नभएकाले कामकाजमा ढिलासुस्ती बढ्दै गएको बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाका स्थानीय दिलाराम पुनले बताए । त्यसैगरी जिल्लाको बागचौर नगरपालिकाकामा पनि ६६ जनाको दरबन्दी भएकोमा ४० जनामात्र कार्यरत छन् । अधिकृत, लेखापाल, वडा सचिव, इन्जिनियरलगायतको अभाव रहेको बागचौर नगरपालिकाले जनाएको छ । सचिव नभएकाले वडाको काम नगरपालिकामै हुँदै आएको छ । करारमा भर्ना गरेका केही कर्मचारीले काम धानिरहेको नगरप्रमुख लोकमान बुढाथोकीले बताए । ढोडचौर गाउँपालिकामा २३ जनाको दरबन्दी रहेकोमा अहिले ५ जनामात्र कर्मचारी कार्यरत रहेको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए । उनका अनुसार गाउँपालिकामा पाँच वडामा दुई जनामात्र सचिव छन् । केही कर्मचारी करारमा राखिए पनि कामकाज प्रभाकारी हुनसकेको छैन । ढोडचौर गाउँपालिका चाँदेकरेन्जीका स्थानीय कमारो बुढाथोकीले कर्मचारी अभावमा कामका लागि सदरमुकाम जाउनुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार बैंकिङ कामकाजका लागि पनि सदरमुकाम जानुपर्ने बाध्यता कायमै छ । दरबन्दीअनुसार कर्मचारी र बजेट अभावमा स्थानीयले आशा गरे अनुसारको विकास तथा सेवा पाउन नसकेको उनले गुनासो गरे । त्यस्तै त्रिवेणी गाउँपालिकाका सात वडामा १८ कर्मचारी चाहिनेमा १२ जनामात्र कार्यरत छन् । ९ जना प्राविधिकको दरबन्दी रहेकोमा ६ जनाले मात्र कामकाज धानिरहेका छन् । त्यस्तै कालिमाटी गाउँपालिकामा १९ र कुमाख गाउँपालिकामा १० जना कर्मचारीको अभाव छ ।
निर्वाचित जनप्रतिनिधि आएको लामो समय बितिसक्दा पनि स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसक्दा सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले महसुस गर्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्