चिण्डोपार्क निर्माण अन्तिम चरणमा «

चिण्डोपार्क निर्माण अन्तिम चरणमा

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ मा चिण्डोपार्क (स्वालेवा) निर्माणको काम अन्तिम चरणमा पुगको छ । किराँती सांस्कृतिक प्रतीक बनाउने उद्देश्यले अघिल्लो वर्षबाट निर्माण थालिएको पार्कको काम अन्तिम चरणमा पुगेको हो ।
चिण्डोपार्कमा ३५ फिट अग्लो चिण्डोको स्तम्भ निर्माण गरिसकिएको छ । पार्कमा अदुवाको विम्बात्मक स्तम्भ निर्माणको काम पनि सकिएको छ । यी दुवै स्तम्भको रंगरोगन भने बाँकी छ । पार्कभित्र रहने सांस्कृतिक नमुना घर (किराँती संग्राहलय) को काम पनि भइरहेको छ ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको पहल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको प्राविधिक सहयोगमा निर्माण सुरु भएको चिण्डोपार्क निर्माणमा इन्दिरा श्रेष्ठ, शिव न्यौपाने, नरेश थुलुङ, निराजन मानन्धर, रन्जित थापामगर, गणेश बाबुलगायतका मूर्तिकार सहभागी थिए । पार्क निर्माणका निम्ती साविक उँबु गाउँ विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण राई तथा उनका चार दाजुभाइले १ रोपनी १४ आना जग्गा निःशुल्क उपलब्ध गराएपछि काम थालिएको थियो ।
किराँती संस्कृतिअनुसार चिण्डो र अदुवा धर्मकर्म र मृत्युकर्ममा अनिवार्य मानिन्छ । चिण्डो पार्क निर्माण समितिका अध्यक्ष शुभचन्द्र राईका अनुसार झन्डै ६० लाख रुपैयाँको लागतमा निर्माण थालिएको हो । जसमा पूर्वसांसद रामहरि खतिवडाले सांसद विकास कोषबाट तत्कालीन समयमा १५ लाख रुपैयाँ विनियोजन गरेका थिए । मानेभञ्ज्याङ गाउँपालिकाको ९ लाख रुपैयाँ र अरु देश तथा विदेशमा गरिएको आर्थिक सहयोग संकलनबाट पार्क निर्माण थालिएको हो ।
राई जातिको मुख्य बसोबास रहेको उँबूमा किराँती सांस्कृतिक प्रतीकका रूपमा निर्माण थालिएको पार्कले समुदायको भाषा, धर्म, लोकसंस्कृतिलाई बचाउन टेवा पुराउने मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतिराज राईले बताए । त्यस्तै उपाध्यक्ष सविता राईले उँबू गाउँको सडकदेखि अन्य निर्माणका विषयलाई थाती राखेर धर्म र संस्कृति जोगाउँदै पर्यकीय क्षेत्र बनाउनका लागि पार्क निर्माणलाई प्राथमिकतामा राखेर निर्माण थालिएको बताइन् ।
समुद्री सतहदेखि करिब १७ सय मिटर उचाइमा रहेको उँबू गाउँमा यो पार्क निर्माण भइरहेको छ । यहाँबाट उत्तरतर्फ सोलु, पूर्वतर्फ खोटाङ र भोजपुर, दक्षिणतर्फ उदयपुर तथा पश्चिमतर्फ सिन्धुली जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्