विश्वविद्यालयझै लाग्ने सिटिइभिटी «

विश्वविद्यालयझै लाग्ने सिटिइभिटी

स्वरोजगारीले रोजगारी सिर्जना गर्छ भन्ने तथ्यलाई हृदयगम गरी सिटिइभिटीले प्रविधिउन्मुख उद्यमशीलतालाई जोड्न आवश्यक छ ।

कुनै पनि नेपालीलाई कस्तो शिक्षा चाहिन्छ भनेर सोध्ने हो भने प्राविधिक शिक्षा भन्ने जवाफ स्वतस्फूर्तः आउँछ । हुन पनि हो, शिक्षा विकासको ढोका हो भने प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विकासको मूल ढोका हो –युनेस्को) । शिक्षा माछा मारेर खान दिने होइन, माछा मार्न सिकाउने हुनुपर्छ । शिक्षाले गरिखाने ज्ञान, सीप प्रदान गर्नुपर्छ भनिँदै आइएको हो । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको सन्दर्भमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को स्थापनापछि माछा मार्ने सीप दिने परिपाटीको जग बसेको हो । यसैले माछा मार्ने कला भर्ने कार्यमा सिटिइभिटीको योगदान रहँदै आएको छ । तथापि, नेपालमा प्राविधिक शिक्षाको घनिभूत विकास अझै हुन सकेको छैन । प्राविधिक शिक्षाको माग सदैव रहने भएकाले नेपालको शिक्षा प्रणाली प्रविधिले लेस नहुँदा कामयावी शिक्षा प्रदान हुन नसकेको भनेर बहुतै आलोचित छ । तर, केही हदसम्म पछिल्ला सरकारी प्रयासहरू प्राविधिक ज्ञान, सीपमा सोचमग्न भएको सामान्य आँखाबाट हेर्दा देखिए पनि जनशक्तिको आपूर्ति मागअनुसार हुन सकेको छैन । यसको ज्वलन्त उदाहरण स्थानीय सरकारमा ती जनशक्तिको अभाव रहेकोबाट बुझ्न सकिन्छ । दुर्गममा स्वास्थ्य कार्यकर्ताको अभाव छ । कृषिप्रधान देशमा कृषि प्राविधिकको अभाव छ । यो यथार्थ हो ।
सिटिइभिटीको स्थापनापछि कम्तीमा आधारभूत तथा मध्यमस्तरको जनशक्ति उत्पादनमा यसले भूमिका निर्वाह गरेको छ । सिटिइभिटी विश्वविद्यालय त होइन, तर यसले विश्वविद्यालयसरहै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदान गर्दैै आएको छ भन्दा अतिशयोक्ति हँुदैन । यसका काम, आयाम र संरचनाहरूले त्यो पुष्टि गर्छ । सिटिइभिटीमा यसका विभागस्तरीय, आंगिक, सम्बन्धन प्राप्त र निजी विद्यालयहरू छन् । प्र्रधान कार्यालयअन्तर्गत ९ वटा महाशाखा, ३ वटा विभागस्तरीय केन्द्रीय कार्यालय छन् । यसैगरी ३ वटा क्षेत्रीय कार्यालय, ३४ वटा आंगिक शिक्षालय, १ सय ८५ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम तथा ४ सय २९ वटा सम्बन्धन प्राप्त निजी शिक्षालयहरू छन् । यसैगरी विभिन्न ६ सय ५० वटा तालिम प्रदायक संघसंस्थाहरूले छोटा अवधिका तालिम प्रदान गर्छन् । यो संख्या दिनहुँ बढोत्तरी हुँदै गएको देखिन्छ । उता, संघीयताको भावमा सिटिइभिटी पनि चल्दै गएको छ ।
नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकासको इतिहास ६ दशकभन्दा लामो देखिन्छ । २००४ सालदेखि शिक्षालाई जीवन उपयोगी बनाउने उद्देश्यले विद्यालय तहमा व्यावसायिक सीप र ज्ञान सिकाउन आरम्भ गरियो । यो कालखण्डमा विभिन्न मोडलबाट विद्यालयमा प्राविधिक ज्ञान, सीप विकासको प्रयास गरिएको हो । खासगरी राणाकालमा भारतीय शान्तिकामी नेता महात्मा गान्धीको विचारबाट प्रभावित भएर आधार विद्यालयको सुरुवात नेपालमा गरिएको थियो, तर ००७ सालपछि भने यो निष्प्रभावी भयो । मानव जीवनमा चाहिने आधारभूत शिल्पका लागि गान्धीको आधार शिक्षा संसार प्रसिद्ध हो । यसपछि बहुउद्देश्यीय माध्यमिक विद्यालय भनेर सञ्चालनमा ल्याइयो । यसपछि अनिवार्य व्यावसायिक माध्यमिक शिक्षा, प्राविधिक शिक्षालयको विकास गरिएको हो ।
पछिल्लो समय विद्यालयमा नै प्राविधिक शिक्षाको अध्ययन अध्यापन हुँदै आएको छ । विद्यालयको प्राविधिक धारमा प्राविधिक शिक्षा आरम्भ हुनु सुखद पक्ष हो । आर्थिक समृद्धिको अभियानमा बालबालिकाले विद्यालय तहमा हासिल गर्ने प्राविधिक ज्ञान, सीपले टेको दिने विश्वास गर्न सकिन्छ, किनकि हातमा सीप भएपछि विश्व बजारमा बिक्न सहज हुन्छ । जीविकोपार्जनको सहजता भए पनि त्यसले व्यक्तिको जीवनमा मात्रै परिवर्तन ल्याउँदैन । देशको सामाजिक आर्थिक विकासमा यस किसिमको शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ । यसमा सिटिइभिटीको योगदान रहँदै आएको छ । सिटिइभिटीले उत्पादन गरेका विविध विषयमा प्राविधिकहरूले तल्लो तहमा समाज र समुदायसँग मिलेर त्यहाँको सामाजिक आर्थिक विकासमा भूमिका निर्वाह गर्दै आएका छन् । डिप्लोमा इन्जिनियरहरूजस्तै अन्य प्राविधिकहरूले देशको सामाजिक–आर्थिक विकासमा योगदान गरेका छन् ।
नेपालमा मात्र होइन, अन्य देशमा सिटिइभिटीजस्तै संस्थाले वास्तवमा ती देशको सामाजिक आर्थिक विकासमा भूमिका खेलेका छन् । यसले सामाजिक आर्थिक रूपान्तरणमा तल्लो तहसम्म पुगेर योगदान गरेको छ । यसैले सिटिइभिटीले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि योगदान पुराएको भन्न हिचकिचाउनु पर्दैन । विदेशका संस्थाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा प्रयोगमा ल्याएका विविध उपागम, नमुनालाई सिटिइभिटीले नेपालमा भिœयाइरहेको छ । यसर्थ सिटिइभिटी प्राविधिक ज्ञान, सीप र प्रयोगको क्षेत्रमा नेपालमा विश्वव्यापी प्रवाहलाई समेट्दै अघि बढेको छ । उता सरकारले मात्रै रोजगारी सिर्जना गरेर सम्भव छैन । यसैले प्राविधिक ज्ञान, सीप भएकाहरू स्वय नै व्यावसायिक बनेका छन् । उनीहरूले उद्यमशीलता (आन्र्टनप्रेनारिज्म) विकास गरेका छन् । पछिल्लो समय प्रविधोन्मुख उद्यमशीलताको माग विश्व बजारमा बढेको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सक्दैन । देशको समूल विकासमा नै उद्यमशीलता अत्यावश्यक छ । स्वरोजगारीले रोजगारी सिर्जना गर्छ भन्ने तथ्यलाई हृदयगम गरी सिटिइभिटीले प्रविधिउन्मुख उद्यमशीलतालाई जोड्न आवश्यक छ ।
सीपयुक्त नेपाल, समृद्ध जनता दूरदृष्टिका साथ विभिन्न अभियान तथा लक्ष्यहरू बोकेर मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सिटिइभिटी यतिखेरको भरपर्दो शैक्षिक तथा व्यावसायिक ज्ञान, सीप प्रदायक तालिम संस्था हो । परिषद्ले यसले प्राविधिक तथा व्यावसायिक शिक्षा र व्यावसायिक तालिम आफ्नै आंगिक शिक्षालय (कलेज) मार्फत, स्थानीय संस्थासँगको साझेदारीमा सञ्चालित कार्यक्रममार्फत, परिषद्को समन्वयमा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रममार्फत र परिषद्सँग डिप्लोमा तथा प्रमाणपत्र र प्राविधिक एसएलसी तह सम्बन्धन लिई निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमार्फत सञ्चालन गर्दै आएको छ । प्राविधिक एसइई (विगतमा एसएलसी) मा कृषि, इन्जिनियरिङ, स्वास्थ्य, विकास तथा व्यवस्थापनको अध्यापन गराउँछ । यस्तै, डिप्लोमा÷प्रमाण पत्र तहको कार्यक्रम भने परिषद्का आंगिक तथा सम्बन्धन प्राप्त निजी शिक्षालय÷कलेजहरूले तीनवर्षे डिप्लोमा÷प्रमाण पत्र तहका कोर्सहरू सञ्चालन हुन्छ । यो कोषबाट उत्पादित जनशक्ति उच्च शिक्षामा सहज प्रवेश पाउँछन् । विश्वविद्यालयबाट प्रमाणपत्र तहको अध्ययनको कार्यक्रम हटेपछि सिटिइभिटीमा एसएलसी (हाल एसइई) उत्तीर्ण हुनेहरूको अध्ययनको रोजाइमा परेको हो ।
यस किसिमको शिक्षा अझै प्रभावकारी बनाउन आवश्यक छ । यसका समस्याहरू पहिचान गरी हटाउनुपर्छ । अझै नयाँ–नयाँ विषयकेन्द्रित भई प्राविधिक शिक्षाको विस्तार गर्नु आवश्यक छ । विगतमा जस्तो राजनीतिक अस्थिरता नभएकाले काम अघि बढाउन केही सहजता पनि हुने विश्वास गर्न सकिन्छ ।

संस्थागत सुशासन कायम राख्दै तीन दशकमा हासिल गरेको अनुभव, परिपक्वताबाट पाठ सिकेर आफ्नो दूरदृष्टि मात्रै होइन, संविधानले किटान गरेको आर्थिक समृद्धिमा टेवा दिन परिषद्ले अजुनदृष्टि लगाउनुपर्छ ।

यो समयको माग हो । सिटिइभिटीको जनशक्ति व्यवस्थापनमा आसेपासे, परिवारवाद रहँदै आएकोमा अब त्यस्तो कुलतलाई तिलाञ्जली दिनुपर्छ । आफ्नाको जागिरको भर्तीकेन्द्र होइन, देशका लागि चाहिने आधारभूत र मध्यमस्तरीय गुणवेत्ता जनशक्तिको भर्ती केन्द्र बन्नुपर्छ ।
सिटिइभिटी अहिले कार्यक्रम पनि सञ्चालन गर्ने र नियमन पनि आफैंले गर्ने निकायका रूपमा रहेको छ । क्रमिक रूपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको दायरा फराकिलो र विस्तार हुँदै गएकाले यसमा सरकारले सोच्नुपर्ने देखिन्छ । यस्तै विद्यालय तहको प्राविधिक शिक्षाको सञ्चालन एउटा निकायबाट र सिटिइभिटीबाट पनि सोही प्रकृतिको कार्यक्रम सञ्चालन भइरहेको वर्तमान सन्दर्भमा यसलाई पनि ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्