उपभोग्य वस्तुको अत्यधिक मूल्यवृद्धि «

उपभोग्य वस्तुको अत्यधिक मूल्यवृद्धि

इलाम- दसैं–तिहार जस्ता चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा भएको अत्यधिक मूल्यवृद्धिले इलामका उपभोक्ता मारमा परेका छन् । उपभोक्ताको भान्सामा दैनिक नभई नहुने दलहन, चामल, तरकारी साथै चिनी, चिउरा, तेललगायतका वस्तुको अत्यधिक मूल्यवृद्धिले उपभोक्ता मारमा परेका हुन् ।
असार मसान्तमा करिव १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि सहेका उपभोक्ताले तीन महिना बित्न नपाउँदै भएको चर्को मूल्यवृद्धिले झनै मारमा परेको बताउने गरेका छन् । स्थानीय केशव खनालले मूल्यवृद्धिले आउने दसैं अत्यन्तै महँगो हुने बताए । उनले बजारका हरेक वस्तुको मूल्य बढे पनि सम्बन्धित निकायले अनुगममा चासो नदेखाएको गुनासो गरे । स्थानीयले किसानले उत्पादन गरेको वस्तुको मूल्य खासै नबढे पनि बाहिरबाट आयात गरिने वस्तुको मूल्य भने अत्यधिक बढेको छ । बिचौलियाले मूल्य बढाइँदिँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परेको छ ।
मूल्यवृद्धिले निम्न आय भएकालाई सबैभन्दा बढी असर पर्ने गरेको छ । वर्सेनि करिव १० देखि १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने गरेको छ । यसरी वर्षमा करिब १० प्रतिशतको हाराहारीमा उपभोग्य वस्तुको मूल्यवृद्धि भए पनि सर्वसाधारणको आम्दानीमा भने वृद्धि हुन सकेको छैन । स्थानीय अमृता निरौलाले प्रशासन र उद्योग वाणिज्य संघले यसतर्फ चासो नदेखाउँदा पनि समस्या भएको बताइन् । व्यापारीले कृतिम अभाव सिर्जना गरेर पनि मूल्य बढाएको भन्दै उनले नियमित अनुगमन गर्न सुझाव दिइन् ।
इलाम उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ईश्वर चिपालुले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न व्यापारीलाई आग्रह गरेको बताए । उनले महंगी नबढाउन र कानुनले निर्धारण गरेको नाफा मात्र लिन सुझाव दिएको बताए ।
तर, जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँलले विगतका वर्षभन्दा यस पटक बजारमा सुधार आएको दाबी गरे । उनले बजारमा कैफियत देखिए तत्काल अनुगमनलाई तिव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्