यतीकोे एटीआर ७२–५०० सिरिजको जहाजमार्फत पोखरा–काठमाडौं उडान सुरु «

यतीकोे एटीआर ७२–५०० सिरिजको जहाजमार्फत पोखरा–काठमाडौं उडान सुरु

बढ्दो विमान सेवाको माग र पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारको जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं उडान सुरु गरेको छ । यतिले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमताको एटिआर ७२–५०० जहाजबाट बुधबारदेखि काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडानमा सुरु गरेको हो ।
यतीका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधबारदेखि दैनिक दुइटा उडान एटीआर ७२–५०० बाट गर्ने तालिका बनाएको हो । यात्रुको मागअनुसार उडान थप्न सकिने समेत उनले जानकारी दिए । एटिआर बाहेक यतिले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने बताए । एटिआर बाहेक यतीले यतिबेला काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १२ वटासम्म उडान तालिका बने पनि १० वटासम्म उडान नियमित रूपमा भइरहेको उनले बताए ।
७२ सिट भए पनि पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पूर्णक्षमतामा भने यात्रु बोक्न सक्ने छैन । बढीमा ६० जना यात्रुहरू एउटा उडानबाट आउजाउ गर्ने गरी हालका लागी उडान थाल्ने राईले बताए । सुरुवात ६० जना यात्रु बोकेर गर्ने हो, उनले भने । राईका अनुसार यतीले हालका लागि एटिआर ७२ को दैनिक दुई उडान पोखराका लागि राखेको छ । हरेक दिन बिहान साढे ७ र ९ बजे उडान गर्ने तालिका तय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्