सरकारले निजी अस्पतालको ग्रेडिङ गर्नुपर्छ «

सरकारले निजी अस्पतालको ग्रेडिङ गर्नुपर्छ

सिन्धुपाल्चोकमा ५० शैय्याको अस्पताल सञ्चालन गरिसकेका रामशरण भण्डारी अहिले काठमाडौंमा ह्याम्स अस्पताल खरिद गरेर सञ्चालन गर्ने क्रममा छन् । ह्याम्स खरिददेखि पूर्वाधार तथा प्रविधि जुटाउन लागिपरेका भण्डारी पेसाले मेडिकल इक्युपमेन्ट व्यवसायी हुन् । आजभन्दा २३ वर्षअघि सिन्धुपाल्चोकबाट काठमाडौं आएका भण्डारीले करिब १७ वर्षसम्म मेडिकल उपकरणको व्यवसाय गरे । मेडिकल क्षेत्रकै व्यवसाय भएकाले भण्डारीले डाक्टरहरूसँगको सम्बन्धले गर्दा करिब दुई वर्षअघिदेखि व्यवस्थापनाको जिम्मेवारी लिएका छन् । ह्याम्स हस्पिटल आजभन्दा २१ वर्षअघि स्थापना भए पनि नयाँ लगानी, पूर्वाधार तथा प्रविधियुक्त बनाई सञ्चालनको तरखरमा रहेको छ । ह्याम्स हस्पिटल अन्तर्राष्ट्रिय स्तरको सेवा दिने दाबी गर्ने भण्डारी सरकारले निजी क्षेत्रका अस्पतालको पूर्वाधार र प्रविधिअनुसार वर्गीकरण गर्नुपर्ने बताउँछन् । निजी क्षेत्रका अस्पतालको तुलनामा ह्याम्सले सस्तो र गुणस्तरीय सेवा दिने उनको भनाइ छ । ह्याम्स अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउँदा २ सय बेडको आधुनिक र पूर्वाधार सम्पन्न अन्तर्राष्ट्रिय स्तरको हस्पिटल हुनेमा दुईमत नभएको दाबी गर्ने भण्डारीसँग समग्र स्वास्थ्य क्षेत्र तथा यो क्षेत्रमा लगानी गर्दाका अवसर तथा चुनौतीका विषयमा कारोबारकर्मी भुवन पौडेल र गोपाल संग्रौलाले गरेको कुराकानीको सार :

ह्याम्स अस्पताल नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याउनुको कारण के हो ?
यो अस्पताल २१ वर्षदेखि बिरामीको स्वास्थ्य सेवामा समर्पित हुँदै आएको छ । सुरुका दिनमा ह्याम्स अस्पताल अस्पताल टेकुमा थियो । त्यस बेला नेपालको स्वास्थ्य क्षेत्रको माध्यमबाट जनताको सेवा गर्नुपर्छ भनेर सहज उपचार पहुँच विस्तार गर्ने लक्ष्यसहित स्थापना गरिएको थियो । यति लामो समयका अस्पतालले नेपालको स्वास्थ्य सेवामा योगदान पनि गर्यो । त्यसपछि यो अस्पताल सरेर बुद्धनगरबाट सेवा दिँदै हाल नयाँ व्यवस्थापनसहित पूर्वाधार सम्पन्न बनाएर धुम्बाराहीमा सरेका छौं ।
पुरानो टिमले कम्पनी खोलेर थोरै सेयर हिस्सासहित लगानी पनि गरेको छ । यसमा धेरैजसो सेयर नयाँ व्यवस्थापनको रहेको छ । अस्पतालको व्यवस्थापनलाई समयअनुकूल गुणस्तरीय बनाउन नयाँ टिमलाई लिएर आएका छौं । त्यसो भएकाले के भन्न सकिन्छ भने नयाँ र पुरानो दुवै टिम मिलेर सञ्चालन गरेका हौं । अहिले अस्पताल अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवन निर्माण गरेर सञ्चालन गरिरहेका छौं । पहिला भाडामा सञ्चालन गरेको भवनमा सेवा बढाउन समस्या र साँघुरो भएकाले सेवाको स्तर बढाउन यहाँ आफ्नै भवन बनाएर सरेका हौं ।

ह्याम्स खरिद नगरी पनि आफ्नै पूर्वाधारमा तयार गर्न सकिने अवस्था थिएन र ?
पहिलाको व्यवस्थापन पनि ह्याम्सलाई सुविधासम्पन्न अस्पताल बनाउने योजनामा थियो । त्यसका लागि हामीले लगानी गर्ने सोच बनाएर लगानी गरेका हौं । अब तीन महिनाभित्र हेलिप्याडसहितको सम्पूर्ण पूर्वाधारसहित पूर्ण रूपमा सञ्चालन हुने गरी आवश्यक काम भइरहेको छ । पुरानो टिमले पनि कम्पनी खोलेर लगानीकर्ताका रूपमा रहेका कारण अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने योजनामा छौं । पुरानो टिमलाई सँगै लिएर हामीले पनि केही बढी स्वामित्व पाउने भएकाले लगानी गरेका हौं । नयाँ टिममा रहेका डाक्टरहरूले विगत तीन महिनादेखि बिरामीलाई सेवा दिइरहनुभएको छ । यो अस्पतालमा उहाँहरूको प्रत्यक्ष सहभागिता छ ।

बजारमा जनताले विश्वास गर्न सक्ने गरी विशेषज्ञ चिकित्सक को–को हुनुहुन्छ ?
यसमा डा. भगवान कोइरालालगायत कार्डियोलोजीकै टिमभित्र डा. मानबहादुर केसी, डा. दिवाकर शर्मा र रोशन राउत हुनुहुन्छ । यसरी नै पल्मोनोजलोजी (फोक्सो, श्वास–प्रश्वास) को कुरा गर्ने हो भने अर्जुन कार्की, राजु पंगेनी र रक्षा पाण्डेको टिम हुनुहुन्छ । फिजिसियनमा अनुप सुवेदी, ग्याँस्ट्रोमा युवराज शर्मा, न्युरोमा प्रकाश विष्ट, बेस्ट थाइराइडमा प्रकाश सायमी र प्याथोलोजीमा गीता सायमी रहनुभएको छ । अर्थोपेडिकमा भाष्कर पन्त, विज्ञान भण्डारीसहितको चार जनाको टिम छ । यसरी नै गाइनोमा भोला रिजालसहितको अनुभवी टिम छ । यसरी हेर्दा टप लेबलमा प्रमुख पाँच रोगका विशेषज्ञ चिकित्सक रहनुभएको छ ।

कुन–कुन रोगका बिरामीलाई ह्याम्सले मुख्य सेवा दिने लक्ष्य राखेको छ ?
ह्याम्स अस्पताल बहुविशेषज्ञता र उपचार सेवा भएको अस्पताल हो । अधिकांक्ष रोगको उपचारका लागि सेवा दिने लक्ष्यले सोहीअनुसार अनुभवी र स्वास्थ्य क्षेत्रमा ख्याति कमाएका चिकित्सक टोली छ । तर, राम्रा डाक्टर मात्र भएर मात्र स्वास्थ्य सेवा गुणस्तरीय हुने भन्ने होइन । यसका लागि सोही अनुसारको परीक्षण, ल्याब र उपकारण हुनुपर्छ । हामीसँग बजारमा आएका पछिल्ला प्रविधियुक्त उपकरणहरू रहेका छन्, जसले गर्दा कडाभन्दा कडा रोगको परीक्षण छिटो र विश्वसनीय रूपमा पत्ता लगाई सोहीअनुसार उपचार गर्न सहयोग गर्छ । कार्डियोलोजीका यहाँ अन्य क्षेत्रको तुलनामा राम्रा विशेषज्ञ छन् । गाइनोमा भोला रिजाल र पल्मोनोलोजी राम्रा र अनुभवी डाक्टरहरू रहनुभएको छ । भाष्कर पन्तको अर्थोपेडिक टिममा पनि राम्रो मानिन्छ । उहाँ यसअघि ग्रान्डी अस्पतालमा रहनुभएको थियो । यसरी हेर्दा विधागत रूपमा पाँचवटा रोगको उपचारमा हाम्रो अस्पताल सुपर स्पेसलिस्ट भएको स्वास्थ्य क्षेत्र हो । हाल कार्यरत सबै नर्स र चिकित्सक आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेकाहरू छन् ।

निजी क्षेत्रको स्वास्थ्यसेवा नाफामुखी हो वा सेवामुखी ?
हाम्रो अस्पताल सेवामूलक व्यवसायको दर्शनमा सञ्चालन भएको स्वास्थ्य क्षेत्र हो । विगतमा ह्याम्सले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सेवाको तुलनामा उपचारको गुणस्तर, उपकरणदेखि विशेषज्ञताको दृष्टिकोणमा धेरै नै स्तरीय सेवा दिने अस्पतालका रूपमा स्थापित भएको छ । काठमाडांैमा भएका राम्रा अस्पतालमध्ये ह्याम्स पनि गुणस्तरीय स्वास्थ्य सेवा दिनेमध्येको राम्रो अस्पतालका रूपमा रहेको छ । अन्य राम्रा अस्पताल जस्तै यो अस्पताल पनि राम्रोमध्येको एक हो । हामीले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिने कुरामा सम्झौता नगर्ने वाचा गरेका छौं ।

निजी अस्पतालको शुल्क सेवाअनुसार फरक–फरक हुने गरेको छ । निजी अस्पतालको सेवा शुल्क कसरी निर्धारण गर्नुपर्छ ?

निजी अस्पतालको सेवा शुल्क मूल्यांकन गुणस्तर, लगानी र उपकरणका आधारमा निर्धारण गर्नुपर्छ ।

उदाहरणका रूपमा गुणस्तरीय र ब्रान्डेड सर्ट किन्न बजार जानुहुन्छ भने मूल्य पनि केही महँगो त परिहल्छ नि । स्वास्थ्य क्षेत्र पनि त्यस्तै हो । निजी अस्पतालले पनि सञ्चालन खर्च, सेवाको गुणस्तर र लगानीअनुसार नै राखेको हुन्छ । व्यवस्थापनअनुसारको सेवा–शुल्क निर्धारण नगरे अस्पताल चलाउन नै गाह्रो हुने अवस्था सिर्जना हुन्छ ।

त्यसो हो भने सबै निजी अस्पतालले आफ्नो खर्चअनुसार शुल्क निर्धारण गरेका छन् त ?
सबै शुल्क अस्पताल आफैले निर्धारण गरेका छैनन् । केही विषयमा सरकारले निर्धारण गरेको शुल्क नै लागू गरेका छन् । जस्तै ओपीडी र अन्य केही विषयको शुल्क सरकारले तोकेअनुसार लागू गरिएको छ । केही तोक्नुपर्ने शुल्कका विषयका सरकारले निर्णय गर्नुपर्ने अवस्था आएको छ । अस्पतालले अन्य विषयमा आफ्नो सेवाको गुणस्तर, उपकरणको क्षमता र पूर्वाधारअनुसार फरक–फरक तरिकाले तोक्नुपर्ने देखिएको छ । जनताले गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा खोजिरहेका बेला सरकारले यो क्षेत्रका विज्ञसहितको सहभागितामा शुल्क निर्धारण निकाय बनाई नयाँ र वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने बेला आएको छ । यसरी शुल्क निर्धारण गर्दा अस्पतालको पूर्वाधार, लगानी र त्यसले दिने गुणस्तर स्वास्थ्य सेवालाई हेरेर गर्नुपर्छ । नेपालमा सबै प्रकारका अस्पताल एकै किसिमका छैनन् । यसरी वैज्ञानिक तरिकाले शुल्क निर्धारण गरे सबै अस्पतालले नियममा बसेर सेवा गर्ने मौका पाउने थिए ।
शुल्कको कुरामा ह्याम्स अस्पतालले पूर्वाधार, उपकरण र विशेज्ञताका आधारमा अन्य अस्पतालको तुलनामा २० प्रतिशतसम्म कम शुल्क लिइएको छ । हामीले तयार गरेको स्वास्थ्य पूर्वाधार किफायती मजबुत, गुणस्तरीय छन् र सोही अनुसार शुल्कसमेत सर्वसुलभ हुने गरी सस्तो तोकिएको छ ।

निजी अस्पताललाई व्यवस्थित गर्न सरकारले के गर्नुपर्छ ?

यसका लागि सरकारले अस्पतालको पूर्वाधार, गुणस्तर, सेवा र लगानीका आधारमा शुल्क संरचना तोक्नुपर्छ । जसले गर्दा मानिसलाई स्वास्थ्य सेवा लिँदा पैसा तिरेअनुसार सेवा पाएको छु भन्ने विश्वास होस् ।

यसरी नै अहिले अस्पताल सञ्चालन गर्न बनाएको नीति–नियम कडाइका साथ लागू गर्नुपर्छ । अहिले पनि सरकारले अस्पताल सञ्चालन गर्न बनाएको नीति–नियम नराम्रो भने छैन । यसलाई कार्यान्वयन गर्ने पक्षमा मात्र कमजोरी देखिन्छ । सबै स्वास्थ्य संस्था र अस्पतालमा हाल भएकै नीति–नियम लागू गर्ने हो भने पनि धेरै समस्या आफै समाधान भएर जान्छ । हामी पनि सरकारले बनाएका नीति नियम मान्दै सबै क्षेत्रमा लागू भएको हेर्न चाहन्छौं ।

सरकारले १ प्रतिशत चिकित्सकले नियतवश बदमासी गर्छन् भनेको सुनिन्छ, यसलाई कसरी लिनुहुन्छ ?
यस सन्दर्भमा मेडिकल इरर हो भने सोहीअनुसार परिभाषित गर्नुपर्छ । त्यसका साथै इररका रूपमा नै प्रक्रिया अघि बढाई पीडितलाई न्याय दिनुपर्छ ।

नियतवश डाक्टरले गल्ती गरेर कसैको ज्यान गयो वा अंगभंग भएको छ भने त्यसलाई ज्यानमाराकै हिसाबले हेरिनुपर्छ ।

तर, त्यो घटना मेडिकल इरर हो वा नियतवश गरिएको गल्ती हो भन्ने कुरा पुष्टि गर्ने प्रक्रिया कस्तो हुने भन्ने प्रश्न हो ? त्यसको निर्णय गर्ने प्रक्रिया समग्र मेडिकल समुदायले स्वीकार गर्न सक्ने खालको हुनुपर्छ भन्ने हो । यस विषयमा अध्ययन गर्नका लागि चिकित्सा क्षेत्रकै मेडिकल बोर्ड, मेडिकल काउन्सिललगायतका संस्थाहरूलाई जिम्मेवारी दिनुपर्छ भन्ने लाग्छ । प्रहरी वा कानुन व्यवसायीले मेडिकल इरर हो वा नियतवश हो भन्ने कुरा छुट्याउन सक्छ भन्ने लाग्दैन । यस्तो विषयमा अध्ययनका लागि सोही क्षेत्रका विज्ञ तथा व्यवसायीलाई राखेर गर्नुपर्छ भन्ने हो । डाक्टरले नियतवश गरेको गल्तीलाई ढाकछोप गर्नुपर्छ भनेको होइन नि । नियतवश गल्ती गर्नेले सजाय पाउनैपर्छ ।

कुनै पनि हस्पिटलको कमजोरीका कारण बिरामीलाई केही भएको खण्डमा अत्यधिक क्षतिपूर्ति माग्ने प्रचलन देखिएको छ । त्यति मात्र नभई त्यसमा दलालसमेत संलग्न हुने गरेको देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
यस सन्दर्भमा दुइटा कुरा जोडिएर आउँछ । पहिलो कुरा यो क्षतिपूर्तिको टे«न्डले ल्याएको विकृति हो, जसले गर्दा रोग तथा दुर्घटनाका कारण गम्भीर अवस्थामा रहेको बिरामी हस्पिटलले नलिँदा उपचार नपाएका कारण मृत्यु पनि हुने गरेको छ । बिरामीको अवस्था जटिल भएको खण्डमा एम्बुलेन्सबाटै अर्को हस्पिटल पठाउने गरेको देखिन्छ । यसको मुख्य कारण भनेको बिरामी मरेको खण्डमा दिनुपर्ने क्षतिपूर्तिले गर्दा हो । त्यसका साथै पछिल्लो समयमा सरकारले डाक्टरको सन्दर्भमा लिएको नीति पनि त्यस्तै जटिल छ । हस्पिटल वा डाक्टर स्वयं जोखिममा रहेर त्यो बिरामी लिने कि नलिने भन्ने प्रश्न आउने गरेको छ । यो अहिले ठूलो समस्याका रूपमा देखिएको छ । सरकाले डाक्टरलाई केही कडाइ गरेपछि काठमाडांैबाहिरवाट आउने बिरामीको संख्यामा उच्च वृद्धि भएको छ । हामीले पनि अनुभव गरेका छौं । सामान्य जोखिम पनि नलिई काठमाडौं रिफर गर्ने प्रचलन देखिएको छ । त्यसमा दोस्रो कुरा भनेको क्षतिपूर्तिको हो । यसमा एउटा सत्य कुरा के छ भने मान्छे जन्मने र मर्ने भनेको हस्पिटलमै हो ।

यो मेडिकलको मान्यता पनि हो भने अस्पतालमा मान्छे म¥यो भनेर क्षतिपूर्ति दिन थाल्ने र क्षतिपूर्तिका लागि गुण्डा, दलाल प्रयोग हुने अभ्यास राम्रो होइन ।

मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने यस्तो दिन आएको खण्डमा हस्पिटल बन्द गरेर हिँड्छु । हामीबाट त्यो सम्भावना छैन । यो हस्पिटलमा जुन स्तरको डाक्टरको समूह, प्रविधि र पूर्वाधारका कारणले गर्दा हामीकहाँ आएका बिरामीलाई अन्तिम अवस्थासम्म पनि बचाउने प्रयास कायम नै हुन्छ । हामीले यी अनेक झमेलाका कारण जोखिम नलिने भन्ने हुँदैन । बिरामीमाथि अन्याय हुनु भएन । बिरामीको स्वास्थ्यसँग सम्झौता गर्नु भएन । त्यसलाई ध्यानमा राखेर सेवा प्रदान गर्ने हो । हामीसँग डाक्टरको समुह, प्रविधि र पूर्वाधार बलियो भएकाले पनि गम्भीरभन्दा गम्भीर बिरामीलाई पनि बचाएरै पठाउने पूर्ण कोसिस हुन्छ । हामीसँग भएका डाक्टरको समूह र प्रविधिले पनि बिरामी मरेकै कारणले क्षतिपूर्ति दिनुपर्ने अवस्था आयो भने त्यो देशकै ठूलो दुर्भाग्य हुनेछ ।

नेपालका हस्पिटलले पनि अन्तर्राष्ट्रिय स्तरका सेवा प्रदान गर्ने भनिँदै गर्दा उपचारका लागि बिदेसिने नेपालीको संख्या त रोकिएको छैन । हस्पिटल अन्तर्राष्ट्रिय स्तरको हुने, बिरामी उपचारका लागि बाहिरनुपर्ने अवस्था पनि देखियो । यसलाई कसरी हेर्नुभएको छ ?
मलाई सोध्नुहुन्छ भने ह्याम्सजस्ता अझै ५ वटासम्म हस्पिटल थपिनुपर्छ । पछिल्लो ५ वर्षमा स्वास्थ्य क्षेत्रको गुणस्तरमा उल्लेख्य सुधार आएको छ । त्यति मात्र होइन, विदेश जाने बिरामीको संख्यामा पनि धेरै कमी आएको छ । तर, पूरै रोकिन सकेको छैन ।

अहिलेको तथ्यांकअनुसार पनि २० प्रतिशत बिरामी उपचारका लागि बिदेसिने गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा काम गर्दा जनविश्वासले पनि महत्वपूर्ण भूमिका खेल्छ । त्यसका साथै जनविश्वास भनेको निरन्तरको प्रयासले प्राप्त हुने हो । आजको भोलि यो क्षेत्रको विश्वास बढ्ने हुदैन । पछिल्लो समयमा नेपालको स्वास्थ्य क्षेत्रको प्रविधिमा धेरै सुधार आएको छ । निजी क्षेत्रले मात्रै होइन, सरकारले पनि स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको छ । उदाहरणका लागि पछिल्लो समयमा गंगालाल हस्पिटलले जुन सिटिस्क्यान मेसिन किनेको छ, त्यो खालको मिसिन भारतमा समेत एक–दुईवटा मात्रै छ । नेपालको जनसंख्या साढे ३ करोड तर भारतको जनसंख्या १ सय ३५ करोड छ । यसले पनि सरकारले स्वास्थ्य क्षेत्रलाई गम्भीर रूपमा हेरेको स्पष्ट हुन्छ । तर, सरकारले सञ्चालन गरेको अस्पतालमा व्यवस्थापनको समस्याले गर्दा सर्वसाधारणले दुःख पाएका छन् । सरकारले लगानी बढाए पनि व्यवस्थापन मिलाउन नसक्दा उद्देश्यअनुसारको नतिजा नदेखिएको हो ।

निजी क्षेत्रको हस्पिटलले १० प्रतिशत विपन्न वर्गलाई उपचार गर्नुपर्ने भन्ने छ । तर, पछिल्लो समयमा निजी हस्पिटलले त्यो नगरेको भन्ने छ । त्यस सन्दर्भमा तपाईंको योजना के छ ?
हामी सरकारले गरेको नीति–नियमको पूर्ण रूपमा पालना गर्छौं । ह्याम्स अस्पतालको सन्दर्भमा कुरा गर्दा हाम्रो प्राथमिकता बिरामीलाई दिने सेवा हो । त्यसपछि मात्र हाम्रो व्यवसाय हो । हाम्रो उद्देश्य स्पष्ट छ । विपन्न वर्गका लागि हामीले दिने १० प्रतिशत छुट व्यवसायका क्रममा सेवा बिक्री गरेरै गर्ने हो । त्यसका लागि हामीले आर्थिक अवस्थाअनुसारको सेवाको वर्गीकरण पनि गरेका छौं । कुनै बिरामी ह्याम्स आएको खण्डमा त्यो बिरामीको आर्थिक अवस्थाअनुसार जनरल बेड, क्याबिन तथा स्विटरुमसम्मको व्यवस्था गरेका छौं । त्यसैले सरकारले विपन्न वर्गलाई दिने भनेको छुटको सन्दर्भमा हामी पूर्ण रूपमा पालना गर्छौं ।

पछिल्लो समयमा निजी हस्पिटल खोल्ने क्रम बढेको छ । यसमा लगानी कहाँबाट आएको छ ?
कुनै पनि क्षेत्रमा व्यक्तिगत क्षमताभन्दा ठूलो लगानी गर्दा बैंकहरूको सपोर्ट आवश्यक हुन्छ । मैले पनि ह्याम्स हस्पिटललाई अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार सम्पन्न गर्नका लागि बैंकको सहयोग लिएको छु । अहिलेको अवस्था हस्पिटलको अधिकांश लगानी बैंकमार्फत नै गरिएको छ । बैंकले विश्वास गर्नु भनेको लगानीकर्ताको विश्वसनीयता नै हो । हामीलाई बैंकले विश्वास गरेकै कारणले आज एउटा सक्षम संस्थाको स्थापना भएको छ । त्यसैले बैंकको सहयोग भनेको भोलि तिर्ने सहयोग भएकाले पनि हामीले दिने सेवामा उपयुक्त शुल्क त लिनैपर्छ । सेवा बिक्री गर्दा पनि यो क्षेत्रमा पहिले सेवा अनि पैसा भन्ने हुन्छ । बिरामीले उपचार गर्यो । तर, उपचारका लागि लागेको खर्च तिर्न सक्ने क्षमता ऊसँग नभएको अवस्था हस्पिटलले पठाउनुको विकल्प छैन । यो क्षेत्र सेवामूलक व्यवसाय पनि हो । यो पेसामा आत्मसन्तुष्टिचाहिँ छ । बिरामी भएर आएको मान्छे निको भएर जान्छ । त्यो देखेर पनि पैसाभन्दा माथिको आनन्द हुन्छ । मान्छेलाई बचाउने काम हस्पिटलले गर्ने भए पनि पनि यो पेसा अँगाल्दा धेरै आनन्दित महसुस गर्छु ।

स्वास्थ्य क्षेत्रमा लगानी गर्दाका चुनौती के–के रहेछन् त ?
अस्पताल बन्नुपर्छ । अस्पताल बनिसकेपछि गुणस्तरीय सेवा पनि दिनुपर्छ । त्यसका साथै हस्पिटलमा हुनुपर्ने उपकरणहरू पनि पर्याप्त हुनुपर्छ । हस्पिटलका रूपमा स्थापना भएका पूर्वाधार तथा प्रविधिसम्पन्न संस्थालाई सरकारले हस्पिटलको वर्गीकरण गरिदिनु आवश्यक छ, जसले गर्दा सर्वसाधारणले हस्पिटलको विषयमा जानकार भएर सेवा लिन सकून् । त्यसका साथै सेवाशुल्कको सन्दर्भमा सरकारले नै अस्पतालको ग्रेड तोकिदिएपछि सेवाशुल्क कति लिने कसरी लिने सन्दर्भमा पनि समस्या आउँदैन । सरकारले एउटा मापदण्ड तोकेर तोकिएको मापदण्डभित्र रहेर बनेका हस्पिटललाई वर्गीकरण गरी सर्वसाधारणलाई सहज बनाउने काम गरिदिएको खण्डमा धेरै सहज हुन्छ । पछिल्लो समयमा प्रयोगशालको वर्गीकरण गरिदिएको छ ।
त्यसका साथै पछिल्लो समयमा निजी क्षेत्रका हस्पिटलहरू खुल्ने क्रम बढेको छ । त्यसका साथै गुणस्तरमा पनि वृद्धि भएको छ । यो क्षेत्रको प्रतिस्पर्धा स्वस्थ रूपमा अघि बढ्नु जरुरी छ । सर्वसाधारणलाई जानकारी हुँदैन भनेर होइन कि यो क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउनका लागि पनि स्वस्थ प्रतिस्पर्धा जरुरी छ ।

अर्बौं रुपैयाँ लगानी गरेर हस्पिटल स्थापना गर्नुभएको छ । यसले सेवा दिने क्रममा त सबै वर्गलाई दिन्छ, तर तपार्इंहरूको लक्षित समुदाय कुन हो ?
अस्पतालको सन्दर्भमा लक्षित समुदाय यही हो भनेर छुट्ट्याउन गाह«ो छ । तर, मध्यमवर्गीय सर्वसाधारण नै हो हाम्रो लक्षित समुदाय । निजी क्षेत्रको हस्पिटल जानु भनेको घरखेत बेच्नु हो भन्ने सन्देशका विरुद्धमा ह्याम्स हस्पिटल छ । ह्याम्स हस्पिटलमा उपचार गर्न सकिँदैन भन्ने वर्ग नेपालमा छ जस्तो लाग्दैन । ह्याम्स हस्पिटल अन्य अस्पतालको तुलनामा गुणस्तरीय र सस्तो छ ।

बिरामीले अन्य हस्पिटललाई छोडेर ह्याम्स नै जानुपर्छ भन्ने आधार के छ ?
पहिलो त हामीसँग नेपालमा विज्ञ चिकित्सकको समूह छ । त्यसले पनि बिरामीले गुणस्तरीय उपचार पाउँछ । त्यसका साथै हामीसँग भएका, हरेक विभागमा प्रयोग भएका उपकरण अन्तर्राष्ट्रिय स्तरका छन् । त्यसका साथै हामीकहाँ आईसीयू, सीसीयू, क्याथ ल्याबलगायत अन्तर्राष्ट्रिय स्तरका छन् । त्यसका साथै अपरेसन थिएटरभित्र जाँदा डाक्टरले एयर सावर लिएर जाने व्यवस्था गरेका छौं, जसले गर्दा बिरामीलाई इन्फेक्सन हुने सम्भावना करिब शून्य छ । यो नेपालमै पहिलो पटक हामीले सुरु गरेका छौं । त्यसका साथै हामीले प्रयोग गर्ने उपकरण अन्तर्राष्ट्रिय स्तरको मात्र नभै लेटेस्ट पनि छन् । हामीले तयार बनाएका विभागहरू र त्यसको प्रयोग हुने प्रविधि नेपालका अन्य हस्पिटलमा सम्भवतः छैन नै । त्यति मात्र नभई हाम्रो पूर्वाधार पनि एनएबीएचको मापदण्डअनुसार निर्माण गरेका छौं । त्यसैले बिरामीका लागि सहज, सुलभ र गुणस्तरीय सेवाका लागि ह्याम्स नै उपयुक्त छ ।
भुवन पौडेल /गोपाल संग्रौला

 

प्रतिक्रिया दिनुहोस्