अध्यक्षमण्डलको निरन्तरताप्रति कार्यकर्ता असन्तुष्ट «

अध्यक्षमण्डलको निरन्तरताप्रति कार्यकर्ता असन्तुष्ट

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलीय प्रणालीमा लाने गरी गरेको विधान परिमार्जनप्रति पार्टीका नेताहरूले आपत्ति प्रकट गरेका छन् । अध्यक्ष मण्डलीय प्रणालीलाई हटाएर अध्यक्षीय प्रणालीमा लाने गरी पार्टीको राजनीतिक कमिटीले निर्णय गरेकोमा कुनै पदाधिकारीहरूसँग छलफल बहस नगरी यस्तो विधान निर्वाचन आयोगमा पठाइएकोमा उनीहरूको आपत्ति हो ।
जनताले ६ पार्टी एक पार्टीलाई सन्देश दिन पनि अध्यक्षीय प्रणालीमा जानुपर्ने तल्ला तहका कार्यकर्ताको अपेक्षालाई नबुझी केही नेताहरूलाई सन्तुष्ट गर्न पदाधिकारीहरूको पद बढी बनाएकोमा उनीहरूको आपत्ति छ ।
पार्टी एक भएपछि संरचनागत प्रणाली अनुसार चुनाव प्रक्रियाबाट नेतृत्वको निक्र्यौल गर्नु लोकतान्त्रिक विधिलाई लत्याउँदै पार्टीको विधान बनाइएको हो । अध्यक्षमण्डलमा अध्यक्षीय प्रणालीमा सर्वसम्मति नभएपछि विधानमा पार्टी केन्द्रको नेतृत्वको लागि अध्यक्षमण्डलीय प्रणालीलाई निरन्तरता एिको हो ।
यही असोज १५ गते निर्वाचन आयोगलाई बुझाइएको विधानका धारा ३१ को उपधारा १२ मा अध्यक्ष मण्डल राख्ने उल्लेख गरिएको छ । विधानमा भनिएको छ, ‘अध्यक्षमण्डलको व्यवस्था आउँदा महाधिवेशनपछि समेत रहनेछ ।’
विधानको यो प्रावधानलाई पार्टीका नेताहरूले जनताको भावना विपरीत राखिएको बताएका छन् । अन्तरिम विधानअनुसार पार्टीको छवटा तल्लो समिति रहनेछ । वडा कार्यसमिति, गाउँपालिका कार्यसमिति, नगरपालिका कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति, संसदीय निर्वाचन क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमिति बनाउने भनिएको छ ।
प्रत्येक कार्यसमितिमा एकजना अध्यक्ष, दुईजना उपाध्यक्ष, एकजना सचिव, दुईजना सहसचिव र एकजना कोषाध्यक्षसहित सदस्यहरुको प्रावधान राखिएको छ । गत असार ४–६ सम्म बसेको राजपा नेपालको राजनीतिक समितिको बैठकमा एकल अध्यक्ष प्रणालीबाट पार्टी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पार्टीका सह महासचिव डा. सुरेन्द्र झाले आफूहरू अध्यक्षीय प्रणालीमा पार्टीलाई लान प्रयत्न गर्ने बताए । वैशाखमा गरिने भनिएको महाधिवेशन सर्वाधिक महत्वपूर्ण निकाय भएकाले विभिन्न समितिबाट आउने प्रतिनिधिहरूबीच यसबारे बहस बढाउने उनले जनाए ।
पार्टीको अन्तरिम विधानमा महाधिवेशन अघि विधानलाई अध्यक्षमण्डलले संशोधन गर्न सकिने प्रावधान भने खुला राखेको छ ।

प्रतिक्रिया दिनुहोस्