दुईतिहाई मत, पार्टी एकता र चरम असन्तुष्टि «

दुईतिहाई मत, पार्टी एकता र चरम असन्तुष्टि

              बाम गठबन्धन का एक वर्ष

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच ‘बाम गठबन्धन’ सम्झौता भएको बुधबार एक वर्ष पूरा भएको छ । गत वर्ष दसैंको अवसर पारेर सबै बिदामा भएका बेला काठमाडौंमा तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ‘बाम गठबन्धन’ बनाउने सम्झौता गरेका थिए । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनले दुईतिहाई मत प्राप्त गरेको छ ।
सम्झौतामा निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र पार्टी एकीकरण गर्ने उल्लेख थियो । जसअनुसार जेठ ३ गते नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भइसकेको छ ।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएकै बेला माओवादी केन्द्रका अध्यक्षले तत्कालीन विपक्षी दल एमालेसँग वाम गठबन्धन गरेकाले त्यसले नेपालमा मात्र होइन, संसारभर नै तरंग सिर्जना गरेको थियो । मुलुकका पहिलो र दोस्रो ठूलो कम्युनिस्ट पार्टी एउटै गठबन्धनमा आबद्ध भएर चुनावमा जाँदा मतदाताले पनि उनीहरूलाई नै विश्वास गरे ।
त्यसबेला वर्तमान प्रधानमन्त्री केपी ओलीको लोकप्रियता पनि शिखरमा थियो । वाम गठबन्धनको पाँच वर्ष स्थायी सरकार र आर्थिक समृद्धिको नारालाई जनताले पनि विश्वास गरे । जसको परिणाम प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले झन्डै दुई तिहाई मत प्राप्त गरे । निर्वाचनपछि संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको हैसियत र आकार धेरै सानो भयो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्नुपर्छ भन्ने सूत्राधार वामदेव गौतम र नारायणकाजी श्रेष्ठ थिए । गौतम प्रचण्डसँग नजिक थिए भने श्रेष्ठ ओलीसँग । त्यसैले उनीहरूको जोडबलमा ओली र प्रचण्ड वाम गठबन्धन गर्न सहमत भए । गौतम र श्रेष्ठलाई विष्णु पौडेल र जनार्दन शर्माले भरपूर साथ दिएका थिए ।
तर, प्रतिनिधिसभाको निर्वाचनमा गौतम र श्रेष्ठ दुवै पराजित भए । अझ यसरी भनौं, दुवै नेतालाई प्रतिनिधिसभामा आउनबाट अवरोध गरियो । बर्दिया १ बाट प्रचण्ड वामपन्थी मत हुँदाहुँदै गौतम पराजित भए । बाबुराम भट्टराईसँग निर्वाचन लडेका श्रेष्ठ हार्न पुगे ।
जुन अपेक्षा र आशाका साथ जनताले उनीहरूलाई मत दिएका थिए, यो सात महिनामा ओली नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न सकेको छैन । ओलीको अलोकप्रियताको ग्राफ दिनप्रतिदिन तीव्र ढंगले ओरालो लाग्दो क्रममा छ

असन्तुष्टि र विवाद
एकता घोषणा भएको चार महिना बितिसक्दा नेकपाका तल्लो तहको एकीकरण अझै सम्पन्न हुन सकेको छैन । प्रदेश इन्चार्ज चयनको विषयले नेकपामा तिव्र विवाद देखिएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफू विदेशमा रहँदा प्रदेश संरचना बनाइएको भन्दै सार्वजनिक रूपमै असन्तुस्टी जनाइरहेका छन् । उनले संसद्मै सरकारको असफलताका बारेमा खुलेर आलोचना गर्न थालेका छन् ।
अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा आफ्नो वरियता मिचेर अन्याय गरेको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि राख्दै आएका छन् । उनले नेकपाको नेतृत्व सरकार संचालनमा समेत असफल देखिएको निष्कर्ष निकालेका छन् । सरकार र पार्टी संचालनमा ओली असफल भएको नेताहरूले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्