पहिलो फक्सवागेन अटो जिमखाना सम्पन्न

नेपाल मोटर स्पोर्ट्स क्लबको आयोजनामा भएको पहिलो फक्सवागेन नेसनल अटो जिमखाना च्याम्पियनसीपमा अटो जिमखानातर्फ सुरेन्द्र प्रधान पहिलो भएका छन् । नेपाल अटोमोबाइल एसोसिएसन नासासँगको सहकार्य तथा काठमाडौं जिल्ला खेलकुद विकास समितिसँगको समन्वयमा क्लबले गरेको प्रतियोगितामा अटो जिमखानातर्फ विदुर पौडेल दोस्रो र रिक्की देउला तेस्रो भएका छन् ।
त्यसैगरी फ्रि टाइम ल्यापतर्फ सुजन ओझा पहिलो, विपलक श्रेष्ठ दोस्रो र सबिन शाक्य तेस्रो भएका छन् । फाइनल चरणका ४१ खेलाडी सहभागिता थिए । नेपालमा अटो जिमखाना च्याम्पियनसिप आयोजना भएको यो पहिलो अवसर हो । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा तयार पारिएको हिमालयन मोटर ल्यान्डमा सम्पन्न प्रतियोगिता नेपालमा आयोजना गरिएको पहिलो अटो जिमखाना च्याम्पियनसिप हो । प्रतियोगितामा ७ सय मिटर लामो रेसिङ सर्किटमा फ्रि टाइम ल्याप कम्पिटिसन आयोजना गरिएको थियो भने डेढ सय मिटर लामो सर्कटमा अटो जिमखाना च्याम्पियनसिप गरिएको थियो ।
अटो जिमखानातर्फका विजेता सुरेन्द्र प्रधानले इन्डोनेसियामा सन् २०१८ मा आयोजना हुने एसियन अटो जिमखाना च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । यसैगरी दोस्रो हुने खेलाडी बिदुर पौडेलले आगामी फेब्रुअरीमा नेपाल, भारत र भुटानमा आयोजना हुने ट्राई नेसन मोटर यालीमा सहभागिता जनाउन पाउने छन् । विजेता खेलाडीलाई काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा, नासाका अध्यक्ष दशरथ रिजाल, महासचिव गोविन्द भट्टराई, नेपाल मोटर स्पोर्ट्स क्लबका अध्यक्ष दीपक आचार्य, नेपालका लागि फक्सवागेन गाडीको आधिकारीक बिक्रेता पूजा इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत विनय बिजुक्छेलगायतले पुरस्कार प्रदान गरे ।