बागमतीमा दुईपाङ्ग्रे सवारी दर्ता रोकियो «

बागमतीमा दुईपाङ्ग्रे सवारी दर्ता रोकियो

♦ कार्यालयः हामीले साउनमै विभागलाई भनेका हौं
♦ विभागः मन्त्रालयले गर्नुपर्ने, अहिलेसम्म गरेन
♦ दैनिक ६ सयभन्दा बढी दुईपाङ्ग्रे दर्ता
सरकारको लापरवाहीका कारण साविक बागमती अञ्चल कार्यालयमा दुईपाङ्ग्रे सवारी दर्ता रोकिएको छ । यातायात व्यवस्था नियमावली २०५४ ले दुईपाङ्ग्रे सवारीको समूह दुई अंक अर्थात १ देखि ९९ सम्ममात्र हुने परिकल्पना गरेको छ । उक्त कार्यायलमा ९९ समूह (लट)को ९९९९ नम्बरका दुईपाङ्ग्रे सवारीको दर्ताका लाथि खाली नम्बर सकिएकाले नयाँ दर्ता गर्न कानुनी अड्चन आएको हो । साविक बागमती अञ्चलमा मोटरसाइकल-स्कुटरको संख्या १० लाख पुगेको छ  बागमती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । १०० अर्थात तीन महले समूहमा सवारी दर्ता गर्न कानुनी अड्चन देखिएको हो । गएको साउनदेखि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई पटक पटक जानकारी गराउँदा पनि नियमावली संशोधन नहुँदा अहिले दर्ता नै रोकिने अवस्था आएको कार्यालयले जनाएको छ । यातायात व्यवस्था नियमावली २०५४ को अनुसूची ६ को द्रष्टब्यको ३ नं. बुँदामा नम्बर प्लेटमा बढीमा आठ वटासम्म अंक र अक्षर रहने उल्लेख छ र जसलाई तल र माथि गरी दुई लाइनमा राखिनु पर्नेछ ।  माथिल्लो लाइनको सुरुमा सवारी दर्ता गर्ने कार्यालयको अञ्चल संकेत अक्षर र त्यसपछि सवारी समूह जनाउन अंक लेखिनुपर्ने उल्लेख छ । यस्तो सवारी समूह जनाउने अंक आवश्यकताअनुसार १ देखि ९९ सम्म हुनेछ । यस्तो अंकपछि सवारीको किसिम जनाउने संकेत लेख्नुपर्ने उल्लेख गरिएको छ । गत साउन १ देखि भने कार्यालयहरू प्रदेशअन्तर्गत भएका छन् र यसको काम भने त्यसमाथिका निकाय विभाग र मन्त्रालयले गर्नुपर्ने अवस्था छ । नम्बर प्लेट थप्ने काम भदौ १७ गते विधेयक समितिमा पेश भएको र गत आइतबार विधेयक समितिबाट समेत पास भएको विभाग स्रोतले बतायो । अबको मन्त्रिपरिषद्ले उक्त नियमावली पास गरेपछि तीनमहले समूह बनाउन पाइने छ ।  यातायात व्यवस्था नियमावलीमा २ महले अंकमामात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था छ । यही व्यवस्थाका कारण ९९ लटको सबै नम्बर सकिएपछि साविक बागमती अञ्चलमा दुईपाङ्ग्रे सवारी दर्ता रोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले बताए । कानुनले नयाँ दर्ता गर्न नदिने अवस्था आएपछि बुधबारबाट दर्ता बन्द भएको हो । यातायात व्यवस्था विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत साउनमै जानकारी पाएको भएपनि समयमा नै निर्णय गरेनन् । दुबै निकायले समयमै ध्यान नदिँदा सवारी साधन बिक्रीको मौसममै मोटरसाइकलको दर्ता बन्द भएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता उपाध्यायले नियमावली संशोधनका लागि प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको बताए । अब तीन अंकमा पनि लट नम्बर राखेर सवारी दर्ता गर्न सकिने गरी नियमावली संशोधन छिट्टै हुने उपाध्यायले बताए । पछिल्लो १५ दिनमा १ लट सकिएको कार्यालयले जनाएको छ । यो हिसाबले दसैंको समयमा दैनिक ६ सय भन्दा धेरै मोटरसाइकल-स्कुटर उक्त कार्यालयमा दर्ता हुँदै आएको छ । यसले उपभोक्ताको मोटरसाइकल किन्ने चाहना र व्यवसायीको मोटरसाइकल-स्कुटर बिक्री गर्ने सिजनमा अबरोध सिर्जना भएको छ । सरकारको गैरजिम्मेवारीका कारण समस्या आएको व्यवसायीहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्