कमजोर संस्थाले आईपीओ जारी गर्दा विवरण स्पष्ट खुलाउनु पर्ने

वित्तीय अवस्था कमजोर भएका जलविद्युत् कम्पनीले साधारण सेयर निष्कासन(आईपीओ) गर्दा कम्पनीको अवस्थालाई स्पष्टसँग खुलाउनु पर्नेछ । नेपाल धितोपत्र बोर्डले कमजोर संस्थाले सेयर निष्कासन गर्दा लगानीकर्तालाई भुक्याउने गरेको हुनाले हाइलाइट गरेर विवरण निष्कासन गर्नुपर्ने व्यवस्था गरेको हो ।
सञ्चालन अवधि तीन वर्ष बितिसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतीत भइनसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरणबमोजिम प्रतिसेयर खुद सम्पत्ति, प्रतिसेयर आम्दानी उल्लेख गर्नुपर्छ । जलविद्युत् आयोजना भएमा प्रतिमेगावाट लागत, विद्युत् उत्पादन अनुमतिको बाँकी अवधि, लगानीफिर्ता हुने अवधि र क्रेडिट रेटिङको ग्रेड उल्लेख गर्नुपर्नेछ । त्यसैगरी प्रक्षेपित वित्तीय विवरण प्रमाणित गर्दा निष्कासनकर्ता संस्थाको लेखापरीक्षकले प्रक्षेपित वित्तीय विवरण ठीक रहेको भनी स्पष्ट रूपमा प्रमाणित गर्न पर्ने व्यवस्था गरेको हो ।
संगठित संस्थाले विवरणपत्रमा प्रक्षेपण गरेको विवरणहरू तथा वास्तविक विवरण तुलनात्मक रूपमा वार्षिक प्रतिवेदनमा तालिकामा प्रस्तुत गर्नुपर्छ । साथै प्रक्षेपित विवरणभन्दा वास्तविक विवरण फरक पर्न गएमा सोको कारण खुलाई आफ्नो वार्षिक प्रतिवेदनमा प्रक्षेपित अवधिसम्म प्रत्येक वर्ष प्रस्तुत गर्नुपर्ने छ ।
धितोपत्रको सार्वजनिक निष्कासनका लागि तयार गरिने विवरणपत्र निष्कासनकर्ता कम्पनीको वेबसाइटमा कम्तीमा वित्तीय विवरण प्रक्षेपण गरिएको अवधिसम्म अनिवार्य रूपमा राख्नुपर्ने, निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा धितोपत्रको बाँडफाँड नभएसम्म राख्नुपर्ने र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाको अनलाइन आवेदन गर्ने स्थानमा विवरणपत्रको लिंक निष्कासन अवधिभरि राख्नुपर्ने व्यवस्था गरेको छ । सर्वसाधारण लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्कासनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रूपमा उक्त निष्कासनका लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गराउने व्यवस्थासमेत बोर्डले गरेको छ ।
क्रेडिट रेटिङ कम्पनीले सार्वजनिक निष्कासन गर्ने धितोपत्रलाई न्यून ग्रेड प्रदान गरेमा र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणबमोजिम प्रतिसेयर खुद सम्पत्तिप्रति सेयर अंकित मूल्यभन्दा कम भएमा त्यससम्बन्धी विवरण निष्कासनकर्ता कम्पनीले सार्वजनिक निष्कासनका लागि प्रकासन गर्ने आह्वान पत्रलगायत अन्य सूचनाहरूमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा उल्लेख गर्न बोर्डले निष्कासन कम्पनीलाई निर्देशन दिएको छ ।