Logo

रोल्पाली पर्यटन ओझेलमा

जिल्लामा पर्यटकहरूका लागि सडक र आवासको राम्रो सुविधा छैन । जिल्लामा पर्यटकलाई आवश्यक पर्ने सुविधा हुनुपर्छ ।

रोल्पा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रूपले पर्यटन क्षेत्रको सम्भावना बोकेको जिल्ला हो, तर जिल्लामा पर्यटकहरूका लागि सडक र आवासको राम्रो सुविधा नहुँदा आन्तरिक बाह्य पर्यटकहरू भित्रिन सकेका छैनन् । स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुन्टी गाउँ, जलजला, चतुर्भुज, बिबाङ दह ताल, गुरुङ गाउँ होमस्टे, सुनका कणहरू भेटिने सुनछहरी झरना, मनै लोभ्याउने शिव गुफाहरू जिल्लाका पर्यटकीय स्थलका रूपमा परिचित छन् भने युद्ध पर्यटनको पनि उत्तिकै सम्भावना छ ।
जिल्लामा पर्यटकहरूका लागि सडक र आवासको राम्रो सुविधा छैन । जिल्लामा पर्यटकलाई आवश्यक पर्ने सुविधा हुनुपर्छ । स्थानीय रेसम विकले भन्छन्, “सुविधासम्पन्न भयो भने मात्र जिल्लामा पर्याप्त मात्रामा पर्यटक भिœयाउन सकिन्छ ।”
स्वर्गद्वारी प्रभु महाराजको जन्मस्थल रुन्टी गाउँ अहिले पनि ओझेलमा परेको स्थानीयहरू बताउँछन् । रोल्पामै जन्मिएका प्रभु महाराज बसेको ठाउँलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ, स्थानीय माधव ओलीले भने, तर प्रभु जन्मेको ठाउँ अहिले पनि ओझेलमा परेको छ । रुन्टीलाई विकास गर्नका लागि रोल्पाको होलेरीमा सूचना केन्द्र राख्न आवश्यक रहेको उनी औंल्याउँछन् । रोल्पाको अर्को पर्यटकीय स्थल हो— जलजला । जलजलामा मेला–महोत्सव गरेर प्रचारप्रसार गर्न सकिने जानकारहरू बताउँछन् । महोत्सवको आयोजना गरी जलजलामा रहेको विभिन्न जडीबुटी, वनस्पतिको प्रचार गर्नुपर्ने स्थानीयको बनाइ छ । प्रचारप्रसार भएमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने दिनेश आचार्य बताउँछन् ।
सदमुकाम नजिकै रहेको गुरुङ गाउ होमस्टे पनि पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । जिल्लाका अन्य होमस्टे पनि राम्रोसँग सञ्चालनमा आउन सकेका छैैनन् । अहिलेसम्म जिल्लामा एउटा पनि पर्यटन सूचना केन्द्र छैन । रोल्पाको माडीचौर लाखौं रुपैयाँ लगानीमा निर्माण गरिएको सूचना केन्द्र पनि अहिले अलपत्र अवस्थामा छ ।
पर्यटक स्थालसम्म पुग्नका लागि पर्यटकहरूका लागि राम्रो बोटाको व्यवस्था हुनुपर्ने बुद्धीजीवी ओम पन्छी बताउँछन् । जिल्लामा रहेका पर्यटकीय स्थलमध्ये कुनलाई कति प्राथमिकता दिएर प्रचारप्रसार गर्ने योजना बताउनुपर्ने उनले बताए । “एकपटक आएको पर्यटकले अर्को पटक आउँदा उसले कम्तीमा पनि २/४ जना थप मान्छे लिएर आओस्,” उनले भने, “त्यहा पो राम्रो छ, त्यहाँको पर्यटकीय स्थलमा जानुपर्छ भन्ने भावना विकास हुने गरी पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने उनी बताउँछन् ।
स्वर्गद्वारी, रुन्टी, शिवगुफा, जलजला, चतुर्भुजलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सके धार्मिक पर्यटक जिल्लामा पर्याप्त मात्रामा भित्रिने रोल्पा नगरपालिका १० का वडासदस्य शेरबहादुर थापाको भनाइ छ । जिल्लामा पर्यटक बस्नलायक होटलहरूको राम्रो व्यवस्था हुनुपर्ने थापा बताउँछन् । सुनका कणहरू भेटिने सुनछहरी झरनामा पर्यटकका लागि राम्रो व्यवस्था नहुँदा आउन नसकेको स्थानीयको दुखेसो छ । पछिल्लो समयमा सुनछहरी झरना विकासका लागि स्थानीय आफैं लागेका छन् ।
जलजलाको विकास भयो भने तीनवटा गाउँपालिकाको समानुपातिक विकास हुन्छ । रोल्पा नगरपालिका प्रमुख पुर्ण केसीले भने, “अहिले जलजला सुनछहरी, थबाङ र रोल्पा नगरपालिकामा पर्छ । हामीले जलजलामा पर्यटन विकासका लागि केही न केही गर्नुपर्छ भनेर सोचेका छौँ । हामी योजना बनाउँदै छौं ।” स्वर्गद्वारी आएका पर्यटकलाई रोल्पाको सातदोबाटो जलजलामा ल्याउन सकिने उनले सुनाए । गुरिला टे«किङलाई पनि जोड्ने योजना उनको छ । जंकोटस्थित मगर संग्रहालयलाई पनि व्यवस्थित गर्ने नगरपालिकाको योजना छ । सदरमुकामनजिकै रहेको गुरुङ गाउँमा रहेको होमस्टेलाई पनि प्रवद्र्धन गर्ने बजेट व्यवस्था गरिएको छ, उनले भने, “साथै अन्य स्थानमा रहेका धार्मिक तथा प्राकृतिक स्थललाई पनि संरक्षण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्