एनआरएनए युकेको काउन्सिल बैठक सम्पन्न «

एनआरएनए युकेको काउन्सिल बैठक सम्पन्न

 ११ बुँदे अल्डरसट घोषणापत्र जारी गर्दै एनआरएनए युकेको काउन्सिल बैठक सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा शनिबार सम्पन्न बैठकमा सयभन्दा बढी संघसंस्थाको सहभागिता रहेको गैरआवासीय नेपाली संघ युकेले जनाएको छ ।
घोषणापत्रमा गैरआवासीय नेपाली नागरिकता, संस्थाको विधान, भूपू गोर्खाको समान हक र अधिकार, बेलायतमा नेपाल घर, संघद्वारा सञ्चालित परोपकारी योजना, युवा, महिला तथा जेष्ठ नागरिक, बेलायतमा जनगणना, सिप तथा स्किल ट्रान्स्फरलगायतका विषय समेटिएको छ । बैठकको बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्तलगायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पन्तले गैरआवासीय नेपालीको नागरिकता अब कसैले खोस्न नसक्ने भन्दै बेलायतमा रहेका भूपू गोर्खाको नागरिकताको ग्यारेन्टी अब संघले लिने बताए । उनले एनआरएनए अब मेघा प्रोजेक्ट जतिसक्दो छिटो सम्पन्न गरेर नयाँ प्रतिबद्धतासहित अगाडि बढ्ने बताए । उनले लाप्राक बस्ती जतिसक्दो छिटो सम्पन्न गर्ने उद्देश्यले संघ घनिभूत रुपमा जुटेको जानकारी दिए । संघको केन्द्रीय कार्यालयमा ५५ जनाले दैनिक काम गरिरहेको जानकारी दिँदै अक्टोबर महिनाभित्रै संघको कार्यालय आफ्नै भवनमा सर्ने उनले बताए । सिप, ज्ञान र धन नेपालमा लगानी गरेर देशमा युवा बेरोजगारको अन्त्य गर्नेतर्फ संघ लागेको उपाध्यक्ष पन्तको भनाइ थियो । कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीले गैरआवासीय नेपाली संघ यूकेले अग्रगामी काम गरेको बताए । उनले बेलायतमा नेपालीबीच एकता र सहकार्य गर्दै एनआरएन यूके रचनात्मक र सकरात्मक रुपमा अगाडि बढाएको भन्दै संघप्रति अभार व्यक्त गरे । उनले नेपाली दूतावास नेपाली समुदायबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै चन्द्रबहादुर गुरुङ, एनआरएन युरोप महिला संयोजक संगीता मरहठ्ठा, आइसीसी सल्लाहकार सुरेन्द्र श्रेष्ठ, एनआरएन युकेका पूर्वअध्यक्ष डमर घले, केन्द्रीय उपाध्यक्ष कुल आचार्यलगायतले शुभकामना मन्तव्य दिए । कार्यक्रममा एनआरएनए केन्द्रिय सल्लाहकार डा. हेमराज शर्मा, एनआरएन पूर्वसल्लाहकार विश्व पण्डित, आइसीसी सदस्य रामशरण सिंखडा, थर्क सेन, नेपालब्रिटेन डट कमका संस्थापक अध्यक्ष चिरञ्जीवी ढकाल, एनआरएन युकेका सल्लाहकार भक्त गुरुङ, लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्