वैदेशिक रोजगारको अवस्था तथा यसको प्रभाव «

वैदेशिक रोजगारको अवस्था तथा यसको प्रभाव

वैदेशिक रोजगारीमा जानेहरूमध्ये ७५ प्रतिशत अदक्ष छन् । यसकै कारणले थ्रीडी अर्थात् कठिन, खतरनाक र फोहोरी काम गर्न बाध्य छन् ।

देशको जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो गुणस्तर र सीपयुक्त बनाई स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा रोजगारीका अवसरहरू प्रवद्र्धन गर्नु आजको प्रमुख आवश्यकता हो । बेरोजगारी घटाउन रोजगारदाता र कामदारको हितमा सामञ्जस्यतालाई औद्योगिक सम्बन्धमा सुधार र लगानीमैत्री वातावरण कायम गर्नुका साथै राज्य श्रमजीवी कामदारहरूको आधारभूत हक–अधिकारको संरक्षण तथा सुरक्षित कार्यव्यवस्थाको प्रवद्र्धन गर्दै उत्पादन र उत्पादकत्वको वृद्धिका साथै श्रम, कानुन र प्रशासनलाई सक्षम र समयसापेक्ष बनाउनुपर्ने भएको छ । मानव संसाधनको रोजगार सामथ्र्यमा वृद्धि गरी क्षमता न्यूनताको कारणबाट लाभान्वित हुन नसकेका युवा, महिला, मधेसी, जनजाति, अपाङ्ग, दलित, द्वन्द्वबाट प्रभावित एवं सीमान्तकृत समुदायहरूलाई समेत स्वेदश एवं नेपाल सरकारले लिने उल्लेख गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा पुरुषहरू औद्योगिक कामदारका रूपमा बढी र महिलाहरू घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । करिब २३ लाख नेपाली कामदार आप्रवासी कामदारका रूपमा विभिन्न देशमा कार्यरत रहेको तथ्यांकले देखाउँछ । यस देशहरूमध्ये ९० प्रतिशत कामदारहरू अदक्ष कामदारका रूपमा मात्रै जाने गरेको र केवल २ प्रतिशत दक्ष, २३ प्रतिशत अर्धदक्ष र ७५ प्रतिशत अदक्ष कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने गरेको तथ्य देखिन्छ । त्यसैगरी विभिन्न अध्ययनअनुसार आप्रवासी कामदारको वास्तविक तथ्यांक अद्यावधिक नभएको र छिमेकी देश भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीसम्म जाने कामदारको संख्या अत्यधिक रहेका अनुमान गरिन्छ ।

औपचारिक तथा अनौपचारिक रूपमा गरी अहिले करिब ३० लाख नेपाली युवा विदेशी भूमिमा आफ्नो पसिना चुहाइरहेका छन् । यही पसिनाले साटिरहेको रेमिट्यान्सले नेपाली अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशतको योगदान गरिरहेको छ ।

रेमिट्यान्सको सदुपयोग गर्ने सम्बन्धमा सरकारको स्पष्ट नीति नहुँदा अरबको खाडीमा नेपालका युवाले रगत पसिनासँग साटेको रकम उत्पादनमूलक क्षेत्रमा भन्दा पनि विलासितामै खर्च भएको छ । नेपाली युवाले कमाएर पठाएको विदेशी मुद्रा विलासिताका सामान खरिदमा उतै फर्केको छ । गाउँका किसानले दूध बेचेर कोकाकोला किने जस्ता उदाहरण धेरै छन् । यदि राज्यसँग सदुपयोग गर्ने उचित नीति र कार्यक्रम भएको भए वैदेशिक रोजगारीमा गएका कामदारका परिवारले विलासिताको सट्टा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने थिए, देश गरिब भए पनि नेपाली गरिब छैनन् र प्रतिफल आउने अवसर पाएमा लगानी गर्न तयार छन् भन्नने कुरा केही समयपहिले २५ मेगावाटको एउटा निजी जलविद्युत् आयोजनाले प्राइमरी सेयर निष्कासन गर्दा लगानीका लागि देखिएको लाइन र मागेभन्दा कैँयौँ गुणा आवेदन परेकोबाट पनि पुष्टि हुन्छ ।
आर्थिक वर्ष ०७४/७५ मा मलेसिया र खाडी मुलुकहरूमा १० वटा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै विदेशमा मृत्यु भएका श्रमिकको क्षतिप्रति दाबीका लागि कानुनी र प्रक्रियागत सहजीकरण भएको छ । गत आर्गिक वर्षको रोजगारीका सिलसिलामा विदेशमा निधन भएका ७ सय ५५ जना मृतकका परिवारलाई आर्थिक सहायता रकम उपलब्ध गराइएकोमा चालू आर्थिक वर्षको प्रथम आठ महिनामा सो संख्या ५ सय ५२ छ । वैदेशिक रोजगारीका सिलसिलामा चालू आर्थिक वर्षको प्रथम आठ महिनामा विदेशमा बिरामी र अंगभंग भएका २ सय २४ जनालाई आर्थिक सहायता उपलब्ध गराइएको छ । गत आर्थिक वर्षमा सो संख्या २ सय ६ थियो । आर्थिक वर्ष ०७४/२०७५ को प्रथम आठ महिनासम्ममा ८२ प्रतिशत सरकारी क्षेत्र र १८ प्रतिशत गेरसरकारी क्षेत्रका करिब ३ हजार बढी संगठित संस्थाहरू सामाजिक सुरक्षाकरको दायरामा आई योगदानकर्ताको संख्या २० लाख नाघेको छ । आर्थिक वर्ष ०७३/७४ सम्ममा सामाजिक सुरक्षा करबापत रु. १६ अर्ब ९० करोड संकलन भएकोमा चालू आर्थिक वर्षको प्रथम आठ महिनासम्ममा सो रकम २० अर्ब ११ करोड पुगेको छ । सामाजिक सुरक्षा योजना संकलनका लागि स्थापना भएको कोषमा आर्थिक वर्ष ०७४/७५ को प्रथम आठ महिनासम्ममा रु. ६७ करोड पुगेको छ । कणाली प्रदेशका ५ जिल्ला र बाजुरा जिल्लाका साविकका ५ गाविसमा कर्णाली रोजगार कार्यक्रम सञ्चालनमा रहेको छ ।
युवा राष्ट्रिय नीति– २०७२ र युवा भिजन–२०२५ ले परिलक्षित गरेका कार्यक्रमलाई कार्यन्यवयनका लागि केन्द्रीय तहमा युवा सम्बद्ध मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सहकारी, राजनीतिक संगठन आदिजस्ता क्षेत्रहरूका पहल गर्नुपर्छ । दैनिक १५ सयजसो संख्यामा युवा बिदेसिने अवस्थाले गर्दा एकातिर देशको विकास र समृद्धिका अभियन्ता युवाहरूको श्रमशक्ति पलायन भएको छ भने अर्कातिर श्रमशक्तिकै अभावमा हाम्रो कृषि पेसा अन्योलमा परी गाउँघरतिर खेतबारी बाँझो रहेको अवस्था छ । यिनै कुरालाई आधार मानी नेपाली युवाको अवस्था विश्लेषण र जिल्लादेखि राष्ट्रिय तहसम्मका युवा सरोवारवालाको सल्लाह र सझाव मनन गरी युवा भिजन–२०२५ मा युवालाई १६ देखि २५ वर्षसम्म र २५ देखि ४० वर्ष उमेर समूहमा विभाजन गरी युवा विकासका ५ आधारतत्व निर्धारण भएका छन्, जसअनुसार १६ देखि २४ वर्ष उमेर समूहकालाई व्यावसायिक शिक्षा, सीपमूलक तालिम र स्वाथ्य तथा विकासमा जोड दिइएको छ भने २४ देखि ४० वर्षको उमेर समूहलाई पेसा व्यावसाय, उद्यमशीलता, सहभागिता तथा नेतृत्व विकास आदिमा मुख्य जोड दिइएको छ ।
वैदेशिक रोजगारीले दशमा फाइदामात्र पुराएजस्तो देखिए पनि केही समययता यो क्षेत्र फाइदासँगै अनेक खाले चुनौती र विकृतिहरूको चाङले घेरिन पुगेको देखिन्छ । वैदेशिक रोजगारीमा जानेहरूमध्ये ७५ प्रतिशत अदक्ष छन् । यसकै कारणले थ्रीडी अर्थात् कठिन, खतरनाक र फोहोरी काम गर्न बाध्य छन् । वैदेशिक रोजगारीमा जाने अधिकांश महिला अशिक्षित, अदक्ष र ग्रामीण क्षेत्रका छन्, जसका कारणले गर्दा यस क्षेत्रसँग सम्बन्धित समस्या बढ्दै गएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदानका आधार सन् २०१४/१५ मा मात्रै नेपाल विश्वका प्रमुख रेमिट्यान्स भित्र्याउने देशमध्ये तेस्रो ठूलो देश भएको थियो । त्यसको मतलब नेपालको समग्र आर्थिक विकासमा रेमिट्यान्सले ठूलो योगदान पुराउँदै छ भन्न सकिन्छ । किनभने यस्तो आर्थिक फड्को मराइले व्यक्ति परिवार समाज र समग्र देशलाई नै योगदान पुगिरहेको हुन्छ । देशमा सहरीकरण बढिरहेको छ । आममानिसको क्रयशक्ति पनि त्यसरी नै बढेको छ । फलतः उपभोक्तावादी संस्कृति पनि बढेकै छ । त्यसको फलस्वरूप उद्योगधन्दा फस्टाएको छ ।

प्रतिक्रिया दिनुहोस्