एनआरएनए फिनल्याण्डद्वारा ५५ विद्यार्थीलाई सहयोग «

एनआरएनए फिनल्याण्डद्वारा ५५ विद्यार्थीलाई सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) फिनल्याण्डले महोत्तरी जिल्लामा विद्यालय बाहिर रहेका ५५ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ । सरकारले सुरुवात गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग पु-याउने उद्देश्यले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाका बालबालिकहरुलाई विद्यालय भर्ना गरिएको हो ।
हालै एक कार्यक्रमका बीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भर्ना अभियानको शुभारम्भ गरेका छन् । सो कार्यक्रममा विद्यार्थीहरुलाई स्थानीय महेन्द्र राष्ट्रिय उच्च मावि र जनता प्राथमिक विद्यालयमा भर्ना गराई झोला, लत्ताकपडा र स्टेसनरी लगायतका शैक्षिक सामग्री वितरण समेत गरिएको छ । शैक्षिक सामग्री, झोला, कपडा र खाजामा गरी प्रतिवर्ष हरेक विद्यार्थीले ६ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त हुने भएको छ । शैक्षिक सामग्री वितरण, अनुगमनलगायतका व्यवस्थापकिय कार्यका लागि ६ सदस्यीय संचालक समिति गठन गरिएको छ । अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन तथा घरमा समेत पढ्ने वातावरण सृजना गर्न हरेक वर्ष उत्कृष्ट अभिभावकहरुलाई पुरस्कार र सम्मान प्रदान गरिने एनआरएनए फिनल्याण्डले जनाएको छ ।
अभिभावकत्व ग्रहणका लागि श्रोत जुटाउन गत अगष्टमा फिनल्याण्डको राजधानी हेलसिन्कीमा मैत्रीपूर्ण दौड प्रतियोगिता रन फर नेपालको आयोजना गरिएको थियो । भर्ना गरिएका विद्यार्थीहरलाई उनीहरुले विद्यालय शिक्षा पार गरुन्जेल सहयोग प्रदान गर्न पहल गरिने एनआरएनए फिनल्याण्डले जनाएको छ । कार्यक्रमको दिगोपनका लागि शिक्षा मन्त्रालय तथा रामगोपालपुर नगरपालिकाले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्