जमाना एग्रो–फुड सुपर क्लस्टरको «

जमाना एग्रो–फुड सुपर क्लस्टरको

१६ प्रतिशत खेतीयोग्य भनी मानिएको जमिनमा हाम्रो राष्ट्रको ८० प्रतिशत कृषिको लगानी घोप्ट्याए पनि कृषकको जीवन पद्धति उँभाे लागिरहेको छैन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले असोज २६ देखि २८ सम्म काठमाडौँमा ‘नलेज कन्भेन्सन’ (ज्ञान भेला) गर्न लागेको छ । २६ गते साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने नलेज कन्भेन्सनमा चार विषयका प्लेनरी सेसन, पाँचवटा प्यारालल सेसन अनि १३ वटा सिम्पोसियम (गोष्ठी) राखिएका छन् । प्रवासी नेपालीले सिकेका ज्ञान र सीप नेपालमा कसरी हस्तान्तरण गर्न सकिन्छ भनेर ज्ञान भेलामा अरू कार्यक्रम पनि छन् । ज्ञान भेलामा एनआरएनएको सहकार्यमा प्रवासमा नेपाली डायस्पोराले सिकेको कुन–कुन कुरा कसरी र कस्तो मोडलबाट हस्तान्तरण गरी मुलुकको समृद्धिका खातिर अघि बढ्न सकिएला भन्ने खाका दिनेछन् ।
सबैभन्दा खुसी केमा छ भने एनआरएनएको तीनदिने नलेज कन्भेन्सनको सय मिनेट ‘एग्रो–फुड सुपर क्लस्टर सिम्पोसियम’ लाई छुट्ट्याइएको छ । यो नेपालमा कहिल्यै चर्चासमेत नगरिएको नौलो सेसन हो । यसमा २६ असोज दिउँसो १ः५० बाट ३ः३० बजेसम्म नेपाल सरकारका कृषिमन्त्रीसहित कृषि मन्त्रालय, खाद्य गुण नियन्त्रण विभाग, उद्योग वाणिज्य महासंघ, राष्ट्रिय आविष्कार केन्द्र, जडीबुटी र आयुर्वेदिक क्षेत्र, विभिन्न संघसस्था, इनोभेसन प्रेमी विद्यार्थी, वैज्ञानिक, विज्ञ र नेपाली डायस्पोराको उल्लेखनीय सहभागिता रहनेछ ।
नेपालको समृद्धिका लागि प्राविधिक शिक्षालय, तिनका पाठ्यक्रम, बडी अफ नलेजको स्तर, स्टार्ट्स, उद्यमी, उद्योग, बजार, उपभोक्ता र सरकारी तथा गैरसरकारी व्यावसायिक निकायबीचको कस्तो सम्बन्धबाट इनोभेसन संस्कृतिको विकास गर्न सकिएला ? यसको चुरो यसमै छ । खास गरी कृषि, खाद्य, वन, आयुर्वेद, मेडिकल, नेचुरोप्याथी र इनोभेसनमा लागेका प्रोफेसनल, प्राविधिक ज्ञान प्रवद्र्धनमा लागेका, व्यावसायिक विज्ञ र त्यसै क्षेत्रका जिज्ञासु र विद्यार्थीका लागि विश्वमा विरलै मात्र मौका मिल्ने अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हो, ‘एग्रो–फुड सुपर क्लस्टर सिम्पोसियम ।
राष्ट्रिय आविष्कार केन्द्रको समन्वयमा सञ्चालन हुने सिम्पोसियममा प्रवासी नेपालीका तर्फबाट नेपालको कृषि उद्यमशीलता प्रवद्र्धन र प्रतिव्यक्ति आयमा दोहोरो अंकको वृद्धि अभियान कसरी सफल बनाउने भन्ने महत्वपूर्ण अवधारणासमेत आउनेछ । क्यानडा र अन्य देशको अनुभवका आधारमा नेपालमा खाद्य र कृषिको सुपर क्लस्टर कुन मोडलमा र कसरी बनाउँदा समृद्धितर्फ लम्कन सकिएला भन्ने अवधारणामा व्यावसायिक विज्ञसमेत रहेका कम्तीमा पाँच क्षेत्रका प्यानल मेम्बरले गहकिलो विश्लेषण प्रस्तुत गर्नेछन् । त्यसकै आधारमा कृषिमन्त्रीले औपचारिक रूपमै सरकारको नीतिगत अवधारणा, मान्यता, संकल्प र आगामी दिनमा कृषि इनोभेसनका लागि चालिने कदमको निचोड प्रस्तुत गर्नेछन् । भारत, सिंगापुर, मलेसिया, इन्डोनेसिया, क्यानडाजस्ता मुलुकको अनुभवका आधारमा हाम्रो शिक्षालाई उद्यमशील र एग्रो–फुड व्यवसायलाई इनोभेटिभ कसरी बनाउने ? प्रस्तुति सेसनकै मुटु हुने निश्चित छ ।
हिजोआज धेरैजसो सभा–सम्मेलन उद्घाटन र प्लेनरी सेसनपछि मात्र सिम्पोसियम सुरु गर्ने चलन छ । प्लेनरी सेसन भनेको पनि सभा–सम्मेलन नै हो, जहाँ सबै क्षेत्रका सहभागीलाई एउटै हलमा राखेर सिम्पोसियम किन गरिएको हो, यसबाट के–कस्ता फाइदा हुन्छन् आदि चर्चामै समय व्यतीत हुन्छ । पछिल्लो समय विभिन्न प्राविधिक क्षेत्रको नामै तोकेर प्लेनरी सेसन राख्ने चलन छ । प्लेनरी सेसन प्रायः नीतिगत तहमा लबिङ गर्ने नियतले आयोजना गरिन्छ । कार्यपत्रमार्फत खुट्याइएको समाधान तत्काल स्विकार्न नीतिगत निकायलाई दबाब दिने रणनीति पनि त्यसमा हुन्छ ।
विषयवस्तुको अध्ययन र तालिमपश्चात् कम्तीमा २० हजार घण्टाभन्दा बढी समय सम्बन्धित क्षेत्रमा दिइ उल्लेखनीय नतिजाबाट आफ्नो क्षमता प्रमाणित गरिसकेका व्यक्तिलाई विषय विज्ञ भनिन्छ । सिम्पोसियम विषय विज्ञबाट निश्चित विषय र विशेष सन्दर्भमा केन्द्रित भएर गरिने कार्यक्रम हो । सिम्पोसियममा विषय विज्ञ तोकिएको विषयबारे पूर्ण कार्यक्रमको खाका आफ्नोअनुभव उद्धृत गर्दै धारणा र तर्कसहित प्रस्तुत गर्छन् । त्यो प्रस्तुतिलाई उक्त कार्यक्रमको स्टक होल्डरका रूपमा रहेका विभिन्न क्षेत्रका विज्ञ वा जानकार (प्यानल मेम्बर) हरूले धेरै नजिकबाट पुनरावलोकन गर्छन् ।
ती प्यानल मेम्बरहरूले आफ्नो विषय विज्ञताका आधारमा प्रस्तुत खाकामा आफ्नो क्षेत्रको व्यावहारिक तर तीखो समालोचना गर्छन् । सम्बन्धित विषय विज्ञको प्रस्तुति र प्यानल मेम्बरहरूको समालोचना सुनेर बसेका सिम्पोसियमका चेयरले अन्त्यमा कार्यक्रमको मूल्यांकन गरी, सही कार्यदिशा के हुन सक्छ र त्यसलाई कसरी निकास दिन सकिन्छ, त्यसबारे आधिकारिक धारणासहित निष्कर्ष दिन्छन् । सिम्पोसियममा विषय विज्ञबाट प्रस्तुत अवधारणा, सकारात्मक÷नकारात्मक कुराका साथै सबै क्षेत्रका व्यावसायिक विज्ञहरूबाट सबल पक्ष, कमी–कमजोरी र त्यसले अन्य क्षेत्रमा पार्ने नकारात्मक वा सकारात्मक पक्ष टेबलमा एकैचोटि आइपुग्छ । यसले गर्दा नीतिगत तहमा रहेकाहरूलाई निष्पक्ष रहेर आवश्यक निर्णयमा पुग्न र नयाँ कार्यक्रम तर्जुमा गर्न सघाउँछ । अतः सिम्पोसियमका चेयर नीतिगत तहका उच्च अधिकारी हुनु जरुरी हुन्छ ।
सन् २०१४ को भूमिसम्बन्धी तथ्यांकअनुसार नेपालको १ लाख ४७ हजार १ सय ८० वर्गकलोमिटर क्षेत्रफलमध्ये २.६ प्रतिशत पानी छ । लगभग २३ हजार ५ सय ७० वर्गकिलोमिटर भनेको १६ प्रतिशत खेती गरिएको जमिन छ । खेती गरिएको जमिनमध्ये आधामा मात्र सिँचाइ सुविधा उपलब्ध छ । यसरी हिसाब गर्दा मात्र ८ प्रतिशत जमिनमा पुस्तौँपुस्तादेखि हाम्रो सारा कृषिको जोडबल थुपारिरहेका छौँ ।
१६ प्रतिशत खेतीयोग्य भनी मानिएको जमिनमा हाम्रो राष्ट्रको ८० प्रतिशत कृषिको लगानी घोप्ट्याए पनि कृषकको जीवन पद्धति उँभो लागिरहेको छैन । जंगल भनिएको २४ प्रतिशत र अन्य भनिएको ४४.०८ प्रतिशत गरी जम्मा ६८.०८ प्रतिशत भूभागजस्ता छन्, त्यस्तै अवस्थामा सजिलै उम्रने र हुर्कने आयुर्वेदिक, मेडिसिनल, सेनिटरीक्लिनर, एरोमेटिकफुड, फुडसप्लिमेन्ट र अन्य एसेसरिज बायोप्रडक्टलगायतको वनस्पति र जीवाणुहरूको भ्यालु पहिचान, प्रशोधन र व्यवसायीकरण गर्न सके नेपालमा कृषिको क्रान्ति नै भिœयाउन सकिन्छ । त्यसलाई सिम्पोसियममा मेडिसिनल र एरोमेटिकसमेत संलग्न ‘एग्रो–फुड इनोभेसन’ नामकरण गरिएको छ ।
एक अध्ययनअनुसार संसारमा १५ हजार प्रजातिका वनस्पति छन् । तीमध्ये ३ हजार ७ सय एरोमेटिक र मेडिसिनल मूल्य यकिन भइसकेको छ । नेपालमा पाइने लगभग ७ हजार वनस्पतिमा १ हजार ५ सयको एरोमेटिक र मेडिसिनल मूल्य यकिन भएको र कम्तीमा १ सय ४० वनस्पतिको औद्योगिक कारोबार भइरहेको छ । हालसम्मको नेपालका वनस्पति र व्यावसायिक जीवाणुहरूको अध्ययनआयुर्वेदिक महत्वलाई ध्यानमा राखी गरिएको छ । ती वनस्पति र जीवाणुहरूको सिजनिङ, सेनिटरी, जैविक विषादी, जैविक मल, खाद्य, कस्मेटिक, पोषण सप्लिमेन्ट, लत्ताकपडा, र अन्य प्रयोजन आदिमा औद्योगीकरणका लागि इनोभेटिव कल्चर विकासमा नेपालको ध्यान पुगिरहेको छैन ।
आज संसारले विकसित गरी प्रयोजनमा ल्याएको खाद्य र प्रविधि क्षेत्रको विकास र आजका दिनसम्म गरिएका अनुसन्धानबाट संसारका सचेतना गरिकहरूको बदलिएको जीवन पद्धतिलाई केलाउँदा आजभन्दा मात्र २० वर्षपछि संसारमा उच्च क्रयशक्ति भएका मानिसहरूको दैनिकीलाई चाहिने खाना, लत्ताकपडा, औषधि, कस्मेटिक, इन्धन र अन्य जीविकाका सामग्री प्राकृतिक स्रोतबाट प्राप्त अर्गानिक पदार्थ हुनेछ । ती उच्च मूल्यका बहुसंख्यक सामग्री नेपालको हाल हेलत्वमा परेको ६८.०८ प्रतिशत भूभागको सदुपयोग गरी वातावरणलाई बिग्रन नदिई आपूर्ति गर्न सकिने वनस्पति र जीवाणुमा आधारित हुनेछन् । यसलाई समयमै पहिचान गरी सदुपयोग गर्न सके अनुभूति नै हुने गरी नेपाल समृद्धितर्फ जानेछ ।
प्राविधिक दृष्टिबाट हेर्दा कृषिबाट देशको विकासमै कायापलट आउने गरी प्रभाव दिन सक्ने क्षेत्र एरोमेटिक र मेडिसिनल भ्यालु बोकेका वनस्पति र जीवाणु नै हुन् । नेपाल संसारको आधा जनसंख्या बोकेको भारत र चीनको बीचमा छ । हातमा मनग्य पैसा बोकेका आधाभन्दा बढी युवा रहेको भारतको दुईतिहाइ जनसंख्या शाकाहारी छ । नेपालमा सजिलै बन्ने एरोमेटिक र मेडिसिनल कच्चापदार्थमा आधारित शाकाहारी र भेगन खाना तथा कस्मेटिक सामग्रीका लागि भारतमा आसलाग्दो बजार छ ।
नेपालमा सजिलै उत्पादन गर्न सकिने लेउ, झ्याउ, कीरा, जडीबुटीलगायतका लागि चीन स्वर्ण बजार हो । आजको चीन धनी मात्र होइन, प्रत्येक नागरिकसँग राम्रै डिस्पोजेबल मनी पनि छ । त्यसैले आज अमेरिका, क्यानडाजस्ता मुलुक पनि चिनियाँ बजारमा यिनै सामग्री पैठारी गरी व्यापार–व्यवसाय गरिरहेका छन् ।
संसारको आधा जनसंख्या रहेका भारत र चीनको बीचमा रहेको नेपालको समस्या एग्रो–फुड इनोभेसनको उत्पादनका लागि बजारको हैन, उत्पादनमा भ्यालु एड गर्ने ज्ञान र गुणस्तरमा नियमितताको व्यवस्थापन गर्न सक्ने क्षमताको हो । त्यसका लागि मुलुकभित्र इनोभेसन संस्कृतिको विकास हुनैपर्छ । त्यसको अनिवार्य सर्त भनेकै स्मार्ट एग्रो–फुड इनोभेसनको सुपर क्लस्टरको परिकल्पना, स्थापना र व्यवस्थापन हो । उक्त खाडल पूर्ति गर्ने अभियानको सुरुवातस्वरूप यो डायस्पोरा–ब्याकएग्रो–फुड इनोभेसनको सुपर क्लस्टरको सिम्पोसियम आयोजना गरिएको तथ्यमा दुईमत छैन ।

(नारायण घिमिरे क्यानडानिवासी खाद्य वैज्ञानिक हुन् । उनी क्यानडाको सबैभन्दा ठूलो क्यानेडियन फ्लेवर हाउस फ्लेवर क्यान इन्टरनेसनल इन्कमा टेक्निकल म्यानेजरका रूपमा कार्यरत छन् । घिमिरेले ११ वर्षदेखि खाद्य, कृषि, जडीबुटीका साथै उद्यमशीलताको उन्नत अनुसन्धानमा नेतृत्व गर्दै आएका छन् ।)

प्रतिक्रिया दिनुहोस्