Logo

भिजिट भिसामा ‘सेटिङ’

यूएई –भिजिट भिसमा दुबई आउन गएको भदौ २६ गते ओसिन तामाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । अध्यागमन विभागले जान नसकिने भन्दै पत्र थमाइदियो । काटेको जहाजको टिकट छाडेर फर्किन बाध्य भइन् उनी । केही दिनपछि पुनः विमानस्थल पुगिन् त्यही भिसा लिएर जुन भिसामा उनी अघिल्लो पटक फर्किएकी थिइन् । उही भिसा उही मान्छे, पछिल्लो पटक जाँदा भने उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै उड्ने अनुमनित पाइन् र यूएई आइन् ।
अघिल्लो पटक त्यसैमा उड्ने अनुमति नपाउने अनि पछिल्लो पटक पाउने यो कुनै परिवर्तन थिएन । यो सबै भिजिट भिसाको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सेटिङको एउटा नमुना थियो । सेटिङ का विषयमा विभिन्न सञ्चारमाध्यममा धेरै समाचारहरू आइरहँदा समेत विमानस्थलमा सेटिङ रोकिन सकेको छैन । नेपालको अध्यागमन विभागले भिजिट भिसामा जानको लागि जारी गरेको सम्बन्धित देशको भिसा, दुईतर्फी हवाई टिकट, बस्ने होटलको व्यवस्था र एक हजार डलर भए हुने भन्दै आफ्नो अनलाइनमा जनाएको छ ।

भिजिट भिसाको नाममा दलाली गर्ने बढे
नेपालमा भएको बेरोजगारीको फाइदा उठाउँदै राम्रो जागिरको आश्वासन देखाउँदै नेपाली युवा ठग्ने गिरोह सक्रिय भएको छ । आफू यूएईमा बसेको र यूएईको बारेमा सबै जानकारी भएको र गएपछि आकर्षक जागिर लगाइदिने भन्दै पाँच जना युवालाई लमजुङ भन्ने हस्तबहादुर गुरुङले ठगेर युवाहरूको बिचल्ली बनाएसँगै भिजिट भिसाको नाममा भएको ठगी अझै रोकिन नसकेको रहस्य खुलेको हो ।
नेपालबाट हस्तबहादुर गुरुङले पठाएको र यूएई आएलगत्तै जागिर लगाइदिने भन्दै आफूहरूसँग भएको एक हजार डलर माया तामाङले लिएको र वरदुबईको एउटा सानो कोठामा लगेर राखेर माया तामाङ सम्पर्कमा नआएपछि बल्ल आफूहरू ठगिएको थापा पाएको ठगिएका धादिङका राम कुमार नगरकोटीले बताए । “हामीलाई अन्तर्वार्ता पनि दिन पर्दैन । गएपछि सिधै जागिर भनिएको थियो तर यहाँ आएपछि नेपालको एजेन्ट पनि फोन उठाउँदैन । यहाँको एजेन्टले पनि फोन नउठाएपछि हामी बल्ल ठगिएको थाहा पायौं,” उनले भने ।
आफूसँग मोटो रकम लिएको र दलाल सम्पर्कमा नआएपछि दूतावासको शरणमा पुगेका उनीहरूले दूतावासमा दलाललाई कारबाहीको माग गर्दै आफूले दिएको रकम उल्लेख गरी निवेदन दिएका थिए । निवेदनमा उल्लेख भएअनुसार धादिङ घर भएका रामकुमार नगरकोटीसँग दुई लाख २५ हजार नेपाली रुपैयाँ लिएको जनाइएको छ भने उनलाई खाएर बसेर २००० देखि २२०० दिरामको जागिर लगाइदिने आश्वासन दिइएको थियो ।
त्यस्तै लमजुङका सचिन गुरुङसँग एक लाख ६५ हजार लिइएको जनाइएको छ भने उनलाई पनि खाएर बसेर कम्तीमा १४०० दिरामको जागिर लगाइदिने आश्वासन दिइएको उनी बताउँछन् । अन्तर्वार्ता पनि दिनु नपर्ने र गएलगत्तै खाएर बसेर १२०० देखि १४०० सयसम्मको जागिर हुने भन्दै आश्वासन दिइएको धादिङका रामकुमार बयलकोटीले दुई लाख २५ हजार बुझाएको निवेदनमा उल्लेख छ ।
त्यस्तै लमजुङका युद्धराज गुरुङले दुई लाख पचास हजार बुझाएको जनाएका छन् भने धादिङका शेरबहादुर रोकाहाले दुई लाख २५ हजार बुझाएको जनाएका छन् ।
निवेदनका आधारमा हस्तबहादुर र माया मानव तस्करीमा सम्लग्न भएको नेपाली राजदूतावासले वैदेशिक रोजगार विभागलाई बोधार्थ गर्दै यस्ता तस्करीमा सम्लग्नलाई कारबाही गर्नको लागि केन्द्रिय अनुसन्धान ब्यूरोलाई पत्र पठाइएको नेपाली राजदूतावास अबुधाबिका श्रम सहचारी मोतीराम भुसालले जानकारी दिए ।
दलालले टिकट नदिएको र बस्ने ठाउँ पनि नदिएको हुँदा सोमबार नेपाल जानको लागि पीडितहरू भारत लागेका छन् । दशैंको बेलामा महँगो टिकट र आफूहरूसँग पैसा नभएको हँुदा भारतबाट गाडीमा जानेगरी टिकट लिएको पीडित राम कुमारले बताए । नेपाल गएलगत्तै कारबाहीको लागि निवेदन दिनेसमेत उनले बताए । आफूहरू जानकारी नहुँदा ठगिएको र अन्य नेपालीहरू ठगिन नपरोस् भन्दै यस्तो दलालको विश्वास नगर्न सबैलाई आग्रह गरेका छन् ।
रोकिन सकेन सेटिङ
भिजिट भिसाको पर्यायवाची शब्दजस्तै बनेको छ सेटिङ । नेपालबाट यहाँ आउने उच्चपदस्थ सबैलाई जानकारी गराइन्छ । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीहरूको भ्रमणमा यहाँ आउँदा गरिने कार्यक्रममा पहिलो प्राथमिकतामा पर्छ नेपालको विमानस्थलमा हुने सेटिङ । कार्यक्रम सकेर गएलगत्तै सेटिङ बन्द हुने आश्वासन बाँडे पनि त्यो कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन ।
भिजिट भिसा निकालेपछि सरकारले तोकेको मापदण्डअनुसार विमानस्थल पुग्दा रोक्नुपर्ने कारणबारे सबैको ध्यानाकर्षण हुनुपर्छ । सरकारले निश्चित मापदण्ड तोकेर सोही अनुसारको आवातजावत मा सहज नगर्दासम्म यो सेटिङ रोकिँदैन ।
राष्ट्रिय कलाकार छोड्दैन त्रिभुवन विमानस्थल
यूएईमा हुने सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट कलाकार आउन अध्यागमन विभाग नेपालले नेपाली राजदूतावासको पत्र खोज्छ । यहाँ कार्यक्रम गर्ने आयोजकले सो पत्र दूतावासबाट नेपाल पठाउँछन् र सोही आधारमा भिजिट भिसाको लागि उड्न अनुमति पाइन्छ ।
त्यतिमात्रै होइन, अन्य कोही आउनको लागि दुईतर्फी टिकट, सम्बन्धित देशको भिसा, बस्ने होटलको व्यवस्था र एक हजार डलर भएरमात्रै पुग्दैन, सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्छ ।
भिजिट भिसामा यूएई आउन नेपालमा खोजिने डकुमेन्ट हो, दूतावासले जारी गरेको पत्र । उक्त पत्र यूएईमा रहेको आफन्तले दूतावास गएर बनाउनुपर्छ । जसमा सम्बन्धित व्यक्ति भिजिटका लागि यूएई जान दिनु भन्ने बेहोरा खुलाइएको हुन्छ । यो पत्रबिना नेपाल सरकारले जारी गरेको मापदण्ड पूरा गरेपनि आउन पाइँदैन । त्यसैले आफन्तले यो पत्र पठाउने गर्दछन् । यूएई दूतावासले भने सबैलाई अनुमतिपत्र दिन नसकिने जनाएको छ । यूएईमा भिसा भई काम गर्दै गरेको मान्छेले उसको आमाबुबा, छोराछोरी र श्रीमान्–श्रीमतीलाई दूतावासले पत्र दिने गर्दछ ।
पछिल्लो तथ्यांक हेर्ने हो भने यूएईमा सेटिङ गरे मोटो रकम तिरेर भिजिटमा आएका नेपालीमात्रै अलपत्र परेको देखिन्छ । भिजिट भिसा भन्नेबित्तिकै कि दूतावासको पत्र कि सेटिङ हुने गरेको छ । ६० हजारमा आउन सकिने यूएईमा दुई लाख ५०हजार तिर्न परेपछि ऊ सहजै फिर्ता जान सक्दैन । धेरै नेपालीहरू भिजिट भिसामा यूएई आएर काम खोज्ने मनसायका साथ आएका हुन्छन् । तर, यत्रो रकम तिरेपछि उनीहरू त्यसै फर्कन सक्दैनन् र बिचल्ली हुन्छन् ।

भुपराज बस्याल

प्रतिक्रिया दिनुहोस्