गरिबलाई निःशुल्क स्वास्थ्य बिमा «

गरिबलाई निःशुल्क स्वास्थ्य बिमा

गरिबको सूचीमा रहेका गोरखाका नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सेवा लिन थालेका छन् । अति गरिबको सूचीमा परेकामध्ये हालसम्म ७ सय ७८ घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो । स्वास्थ्य बिमासम्बन्धी बोर्डले गरिबीको रेखामुनी रहेकामध्ये अति गरिबलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गरेसँगै गत कात्तिकदेखि अति गरिब घरपरिवारलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याइएको हो ।
स्वास्थ्य बिमाका लागि पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक २ हजार ५ शय्य रुपैयाँ शुल्क तिर्नुपर्छ । अति गरिब परिवारलाई दर्ता सहयोगीहरूले प्रिमियम शुल्क बिना नै बिमा गराएका स्वास्थ्य बिमा कार्यक्रमका दर्ता अधिकारी बिशाल लौडारीले जानकारी दिए । “गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७० अनुसार जिल्लामा अति गरिबलाई निःशुल्क बिमा गरेका हौं,” उनले भने, “कात्तिक, मंसिर र पुसमा ४२ घरपरिवारले, फागुन, चैत र वैशाखमा ३ सय ८ घरपरिवारले र वैशाख जेठ असारमा ४ सय २८ घरपरिवारले निःशुल्क बिमा गराउनुभएको छ ।” गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७० अनुसार जिल्लामा ५ हजार ८ सय ३३ घरपरिवार अति गरिब छन् । तर, अति गरिबको सूचीमा नाम भएर पनि सामाजिक जीवन र आर्थिक अवस्था राम्रो भएका घरपरिवारलाई भने यो सुविधा नदिएको दर्ता अधिकारी लौडारीले जानकारी दिए ।
“सामाजिक अवस्था राम्रो भएका पनि निःशुल्क सेवा खोज्दै आएका थिए,” उनले भने, “हामीले सम्बन्धित वडाका जनप्रतिनिधिको रोहबरमा छलफल गरि वार्षिक २५ सय तिर्न सक्ने त्यस्ता ब्यक्तिलाई निःशुल्क सेवा दिएनौ ।” गत वर्षको असार १५ गतेबाट जिल्लामा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत हालसम्म २५ हजार ६ सय ११ घरपरिवारले स्वास्थ्य बिमा गराइसकेका छन् । तीमध्ये १७ हजार ८ सय ३३ घरपरिवारले बिमा सुविधा लिएर सेवा लिइसकेका छन् । बिमा गराएकाहरूले जौबारी, मकैसिहं र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र तथा आँपपीपल र गोरखा अस्पतालमा उपचार गराउँदा ५० हजारसम्मको उपचार निःशुल्क रूपमा लिन सक्नेछन् । बिमा सुविधा लिएर उपचार गराउनेमध्ये गोरखा अस्पताल, आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र र आँपपीपल अस्पतालमा बिरामीको संख्या धेरै छ । जिल्लाको सबै वडामा १ सय २ जना दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउने काम भइरहेको छ । सरकारले ५ जनाको एक परिवारसँग वर्षमा २ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउँछ । परिवारमा ५ भन्दा बढी सदस्य भएमा एक जनाको थप ४ सय २५ रुपैयाँ तिरेर बिमा गर्नुपर्नेछ । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएको सरकारी अस्पतालबाट अन्तरंग, शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधि खर्च पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्