पर्यटक भित्र्याउँदै खप्तड «

पर्यटक भित्र्याउँदै खप्तड

‘भू–स्वर्ग’को उपमाले परिचित क्षेत्र हो खप्तड । यसको उचाइ समुन्द्र सतहदेखि २ हजार ७ सयदेखि ३ हजार दुई सय २७ मिटरसम्मको उचाइमा अवस्थित छ । दुई सय २५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वकै एक दलदले घाँसे मैदान हो । सुदूरपहाडका चार जिल्लाहरू बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्रबिन्दुमा पर्ने खप्तड क्षेत्र नेपालकै विभिन्न पर्यटकीय क्षेत्रहरूमध्येको एक हो । जसमा सयौं विदेशी तथा हजारौं नेपाली पर्यटकहरूले प्रत्यक्ष अवलोकन गरी भू–स्वर्गको व्याख्या गरिसकेका छन् ।
चारैतिर खस्रु, धुपीसल्ला र लाली गुराँसका जंगलको बीचमा रहेका पाटन, रंगीबिरंगी फूलहरू, धार्मिक स्थलहरू, जंगली जनावर तथा चराचुरुंगीले खप्तडको महिमा झनै बढाएको छ । प्राकृतिक दृश्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौं खोलाहरू, मैदान तथा फाँटलगायतका अन्य दृष्य कम आकर्षण छैनन् । २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थपेको छ । यस्ता थुप्रै अनुपम बोकेको खप्तड आफ्नो सुन्दरता सबैलाई देखाउने मौका अझै पाउन सकेको छैन । जेठ महिनामा लाग्ने गंगा दशहरा मेला बाहेकको समयमा पनि आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरिरहेका हुन्छन् । ०४३ देखि ०६४ सम्ममा खप्तड पुग्ने विदेशी पर्यटकको संख्या २ सय ५२ मात्रै थयो । त्यसपछि दिनानुदिन खप्तड जाने पर्यटकको संख्या बढ्दै गएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जलाई चिनाउन खप्तड बाबाको महत्वपूर्ण योगदान छ । भारतमा जन्मेका स्वामी सच्चिदानन्द सरस्वती नै खप्तड क्षेत्रमा तपस्यारत रहेपछि खप्तड बाबाको रूपमा चिनिएका थिए । झण्डै ५ दशक खप्तडको जैविक विविधतामा रमाएका बाबाको निधन २०५३ सालमा भएको थियो । ती बाबाको कारण जति क्षेत्र चिनियो, त्यसपछिका दिनहरूमा यसको प्रचारप्रसार खासै हुन सकेन ।
केही वर्षयता सरकारले केबुलकार ल्याएमा दैनिकजसो हजारौं पर्यटकहरू भित्रिन्छन् भन्दै खप्तडसम्म केबुलकार पु¥याउने योजना बनायो । त्यो योजना बनाएको पनि दशकभन्दा बढी हुन लागिसक्यो । जनतामा भने आशामात्रै छ ।
खप्तड क्षेत्रमा जानका लागि पक्की सडक बनाउनु जरुरी छ । जबसम्म खप्तडलाई लक्षित गरेर सडक निर्माण गर्न सकिँदैन, तबसम्म यहाँको पर्यटन प्रवद्र्धन हुन सक्दैन ।

यस्तो छ खप्तडको चिनारी
पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरूले तपस्या गरेको क्षेत्र खप्तड हो । खप्तडलाई ‘खेचरी’ पर्वतका रूपमा समेत वर्णन गरिएको छ । यस क्षेत्रमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरूले चौध वर्ष वनबास बस्ने क्रममा केही समय खप्तडमा बिताएको किंवदन्ती रहेको छ ।
खप्तडका फाँटहरूको छेउछाउमा भएका झोतीहरू दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का (झोती) बनेका हुन् भन्ने बुझाइ रहेको छ । वि.सं २००२ सालमा बझांगी राजा रामजंग सिंहको अगुवाइमा खप्तडका जंगलमा तपस्या गरेको र त्यसपछि खप्तडलाई देवभूमिका रूपमा रहको बताउँदै देशविदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचारप्रसार गरेपछि यस ठाउँको सुन्दरताले चर्चा पाउँदै आएको बुझिन्छ ।
आँखाले नभ्याउने विशाल फाँटहरू, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रंगीबिरंगी फूलले छपक्कै छोपेका मैदानहरू । हिउँदको बेला बाक्लो हिउँमा पहिलो पटक खुट्टा टेक्दा त धर्तीको स्वर्गमा पुगेझैं अनुभूति हुन्छ ।
२२ पाटन मैदान र ५२ वटा (थुम्का) झोतीहरू भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको आश्रम, त्रिवेणी नदी, खप्तड दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला पाटन, जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई विशिष्ट बनाएका छन् । यी क्षेत्र तथा स्थानहरूको आ–आफ्नै महत्व छ ।
गंगादशहरा मेलाका दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, आफूले मागेको कुरा पूरा हुने बिश्वास रहेकोले यो मेला बढी आकर्षण रहेको हो । प्रत्येक वर्षको एक पटक खप्तडमा गंगा दशहरा मेला र ईन्द्रजात्रा मेला लाग्ने गर्छ । जेठ÷असार महिनामा गंगा दशहरा र साउन÷भदौमा खापर दहमा ठूलो मेला लाग्ने गर्छ । त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन् । सुदूरपहाडको देउडाले रातभर मेला नै गुञ्जायमान हुन्छ ।
२०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि प्रचारप्रसारका साथ खप्तडले पर्यटक तानिरहेको छ । २ सयभन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडिबुटीका साथै कस्तुरी, मृग, बदेल, डाँफेजस्ता जंगली जनावरहरूको सुरक्षाका लागि २०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको हो । हाल प्रमुख सेनानी (गणपति)को नेतृत्वमा करिब तीन सय नेपाली सेनाले सुरक्षा दिइरहेका छन् ।
कसरी पुग्ने खप्तड ?
देशको राजधानी काठमाडौंबाट करिब १२ घण्टाको समयमा बसमा धनगढीको अत्तरिया पुगिन्छ । हवाईजहाजमा पनि धनगढीसम्म जान सकिन्छ । अत्तरियाबाट खप्तड जानलाई बझाङ, बाजुरा, अछाम र डोटीबाट जाने प्रवेश द्वार बनाएका छन् । तर पनि खप्तडबाट सबैभन्दा नजिक रहेको सहर बझाङ छान्नाको मेल्तडी पर्छ । मेल्तडीसम्म नै गाडी जान्छ । त्यहाँबाट खप्तड जान अढाई घण्टामात्र लाग्छ ।
बाजुराबाट पनि सडकबाट करिब आठ घण्टार समय लाग्छ । त्यस्तै, अछामबाट खप्तड जाने हो भने पनि सवारीसाधन पुग्ने ठाउँबाट करिब पाँच घण्टा समय लाग्छ भने डोटीबाट खप्तड जाने हो भने मूल प्रवेशद्वार झिग्रानाबाट सात घण्टामा खप्तड पुगिन्छ ।
अन्य जिल्लाबाट जान फुर्सदमा हिँड्ने पर्यटकलाई सहज हुन्छ भने छोटो समयमा खप्तड भ्रमण गर्ने पर्यटकलाई भने बझाङबाट नै सजिलो पर्छ । अन्य जिल्लामा एक–दुई दिन हिँडेर खप्तड पुगिन्छ भने बझाङबाट खप्तड जाँदा त्यो अरु जिल्लाको बाटोकै समयबराबर खप्तडमा केही महत्वपूर्ण ठाउँहरू घुम्न सकिन्छ ।
काठमाडौंबाट खप्तड पुग्न, घुम्न र फर्कन धेरै खर्च लाग्दैन । काठमाडौंबाट प्लेनमा जाने हो भने चार हजारदेखि १२ हजारसम्मको टिकट लाग्छ धनगढी पुग्न । बसमा जाने हो भने १५ सय रुपैयाँ कैलालीको अत्तरिया बजारसम्म गाडी भाडा लाग्छ ।
बझाङ जिल्लाबाट भएर जाने हो भने प्रतिव्यक्ति ८ सय रुपैयाँ गाडी भाडा लाग्छ । मेल्तडीमा खाना खाएर हिँडेर नै जानुपर्छ । दिउँसो २-३ बजे नै खप्तड पुगिन्छ ।
डोटीबाट जाने हो अत्तरियाबाट ८ घण्टामा डोटीको सिलगढी पुगिन्छ भने सिलगढीबाट करिब तीन घण्टामा झिग्राना बजार पुगिन्छ । झिग्रानाबाट करिब ७ घण्टाको पैदल हिँडेर खप्तड पुगिन्छ । करिब एक हप्ता खप्तड घुम्ने गरी भ्रमणमा जाँदा काठमाडौंबाट गएर काठमाडौं पुग्न (खान, बस्न, टिकट, अन्य खर्च) न्यूनतम १० हजारजति लाग्छ ।
खप्तडमा खाने, बस्ने व्यवस्था छ । तरपनि पाल, स्लिपिङ ब्याग, ड्राइ फुड, न्यानो ज्याकेट, रेनकोट, ऊनीको बाक्लो टोपी, बाक्लो मोजालगायत न्यानो हुने कपडाहरू लैजानुपर्छ । बडी लोसन, खोकी र टाउको दुखेको औषधि, हेन्डीप्लास्ट पनि बोकेर जानुपर्छ ।
खप्तडमा पानी पर्यो भने सहनै नसक्ने जाडो हुन्छ । क्षण–क्षणमै मौसम परिवर्तन हुन्छ । पानी पर्दा फाँटहरू एकैछिनमा जलाशयमा परिणत हुन्छन् । आकाशको पानी बन्द हुनेबित्तिकै एकैछिनमा जम्मा भएको पानी सबै बगेर ओभानो हुन्छ ।

भूमिराज जोशी

प्रतिक्रिया दिनुहोस्