Logo

ढाका कपडा व्यवसायमा महिलाको आकर्षण

सिन्धुली-सिन्धुलीको मरिण गाँउपालिकाका महिलाहरू ढाका कपडा व्यवसायबाट आत्मर्निभर बनेका छन् । घरमै बसी बसी कपडा बुन्न सकिने र थोरै समयमा नै राम्रो आम्दनी हुने भएपछि यस गाँउपालिकाका महिलाहरूको ढाका कपडा व्यवसायमा आकर्षण बढेको हो ।
ढाकाको कपडा बुनेर यस क्षेत्रका स्थानीय महिलाहरूले मासिक १५ हजार रुपैयाँदेखि २ लाखसम्म आम्दानी गर्ने गरेका छन् । मरिण गाउँपालिका–६ धमिलेकी बेलीमाया गिलेल ३ वर्षदेखि यस व्यवसायमा संलग्न छन् । एक गैरसकारी संस्थाले दिएको तालिमपछि उनले व्यवसाय सुरु गरेकी हुन् । ढाकाको साडी लगाउने रहरले वि.सं. २०७२ सालमा तालिम लिएकी गिलेलले अहिले यस्ता संयौं महिलाको ढाका कपडा लगाउने रहर पूरा गरिदिएका छन् ।
तालिम लिनेमा उनीसँगै गाउँका १६ जना महिला पनि थिए । ती १६ जनै महिलाले आफ्नै ठाउँमा उद्योम सुरु गरे । सामूहिक रूपमा उद्योग स्थापना गरी उनीहरूले दिनमै ५० हजारको कपडा उत्पादन गर्न थाले । तर, उत्पादित कपडाले बजार नपाएपछि व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आयो । बेलिमायाले भनिन्, “कत्तै मेला तथा महोत्सव लाग्दै छ रे भनेपछि प्रचार–प्रसारका लागि हामी पालै पालो हिँड्न थाल्यो । सिन्धुली जिल्लालगायत छिमेकी जिल्लाहरूमा आयोजना हुने महोत्सव तथा मेलाहरूमा कपडा बेच्न थाल्यो । त्यसपछि त उद्योगमै व्यवसायीहरू कपडा लिन आउन थाले ।”
ग्रामीण क्षेत्रमा स्थापना गरेर पनि गुणस्तरीय ढाकाको कपडा उत्पादन गर्दै आएको यो उद्योगमा उत्पादित ढाका कपडा अन्य जिल्लामा समेत बिक्री भइरहेको बेलिमायाले बताइन् । उद्योगले अहिले निरन्तर रुपमा बिभिन्न डिजाइनका ढाकाका कपडा उत्पादन गरी बिक्री गर्दै आएको उनले जानकारी दिइन् । अहिले सो उद्योगमा काम गर्ने महिलाहरूलाई भ्याइनभ्याइ छ । बजारको माग धान्नै गाह्रो छ उनले भनिन्, “हाम्रो जनशक्तिले नभ्याएपछि गाँउका अन्य महिला दिदीबहिनीहरूलाई तालिम दिएर रोजगारी दियाँै ।”
हालसम्म उद्योगले २ सय भन्दाबढी महिलालाई स्वरोजगार बनाइसकेको छ । विभिन्न समयमा दिइएको तालिमले जिल्लाका २ सय महिलाले आफ्नै ठाँउमा व्यवसाय गरिरहेका छन् । उनीले भनिन्, “अहिले महिलाहरूले तान र धागो घरमा लगेर त कोहीले पसल खोलेर कपडा बुनिरहेका छन् । ढाका कपडा उद्योगमा काम गर्ने हो भने सजिलैसँग जीविकोपार्जन गर्न सकिने उद्योगीहरू बताउछन् ।”
उत्पादित ढाका कपडा उद्योगबाटै, मरिणको बजार र सिन्धुलीमाढीबाट समेत बिक्री वितरण भइरहेको जनाइएको छ । मरिण ढाका कपडा उद्योगले नै जिल्लाको विभिन्न स्थानबाट कपडा बिक्री गरिरहेको जनाएको हो ।
उद्योगले सुरु–सुरुमा उद्योगबाटै त्यसपछि मरिणको धमिले बजार हुँदै सदरमुकाम सिन्धुलीमाढीमा समेत शाखा विस्तार गरेको छ । माढिबजारमा गत भदौ महिनाबाट व्यवसाय सुरु गरेको उद्योगले यस अवधिमा ४ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भएको उद्योगी बेलिमायाले बताइन् ।
अहिले मरिण ढाका कपडा उद्योगमा उत्पादन भएका कपडा विशेषगरी सहर बजारमा विक्रि हुने गरेको छ । गुणस्तरीय र सर्वसुलभ मूल्यमा ढाकाको कपडा बिक्री गर्दै आएको मरिण ढाका कपडा उद्योग गाउँदेखि ठूला सहरमा पनि चर्चित छ । ग्रामीण क्षेत्रमा स्थापना गरेर पनि गुणस्तरीय ढाकाको कपडा उत्पादन गर्दै आएको यो उद्योगमा उत्पादित ढाका कपडा स्वदेश तथा विदेशमा बिक्री हुने गरेको छ । निरन्तर रुपमा बिभिन्न डिजाइनका ढाकाका कपडा उत्पादन गरी बिक्री गर्दै आएको मरिण ढाका कपडा उद्योगकी प्रोपाइटर बेलिमायाले बताइन् ।
उद्योगले अहिले १४ वटा तानबाट कपडा उत्पादन गरिरहेको छ । उद्योगलाई चाहिने कच्चा पदार्थ धागो प्रायः भारतको कोलकाता, विराटनगर र धरानबाट ल्याउने गरिएको छ । उद्योगमा ढाका टोपी, साडी चोली, दौरा सुरुवाल, कोटको कपडा, तन्ना, रुमाल, लेडिज तथा जेन्स पर्स, लेडिज झोला लगायतका कपडा उत्पादन हुन्छन् ।
आफ्नो स्थानीय तहमा सञ्चालित उद्योगको प्रवद्र्धनका लागि मरिण गाउँपालिकाले सहयोग गरेको छ । स्थानीय उत्पदानलाई प्रोत्साहन गर्दै उद्योमीहरूलाई पेसामा टिकाइ राख्न बजारीकरणमा सहयोग गरिरहेको गाँउपालिका अध्यक्ष पानीराज बम्जनले बताए । साथै उद्योग सञ्चालनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न पनि तयार रहेको उनको भनाइ छ ।
कृञ्जला पुलामी 

 

प्रतिक्रिया दिनुहोस्