राजधानीका विषयमा कतै, हर्ष कतै विस्मात ! «

राजधानीका विषयमा कतै, हर्ष कतै विस्मात !

प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने निर्णय प्रदेशसभाको दुईतिहाइ बहुमतबाट पारित भएको छ । प्रदेशसभाको शुक्रबार दोस्रो पटक बसेको बैठकमा दुईतिहाइ मतले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी राख्ने प्रस्ताव दुईतिहाइले पारित गरेको हो । पहिलो बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो । राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ को तेघरी क्षेत्रमा राख्ने निर्णय भएको छ । प्रदेशको नाम र राजधानी सिफारिस गर्न गठित संसदीय विशेष सुझाव समितिले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझावसहितको प्रतिवेदन प्रदेशसभामा टेबुल गरेको थियो । दोस्रो पटक बसेको बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले उपस्थिति जनाए पनि मतदान बहिस्कार गरेका थिए । मतदान बहिस्कार गरेर प्रतिपक्ष दल बाहिरिएपछि समितिका संयोजक तामाङले प्रदेशको नाम र राजधानीको प्रस्ताव पारितका लागि सभामा पेस गरेका थिए । प्रस्तावमा नेकपाका सांसदहरूले छलफल गरेपछि मत विभाजन प्रक्रियामा मतदान गरी नाम र राजधानीको निर्णय गरियो । सत्तापक्ष र प्रतिपक्षबीच नाम र राजधानीका बारेमा सहमति नभएपछि मतदान प्रक्रिया अपनाएर दुईतिहाइ बहुमतबाट नाम र राजधानीको विषय टुंग्याइएको हो । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने प्रस्तावलाई दुईतिहाइले पारित गर्न ३६ मत आवश्यक पर्ने भए पनि ३८ मत खसेको थियो । प्रदेशसभामा ५२ सांसदको उपस्थिति थियो । तर, प्रतिपक्षी दलमध्ये कांग्रेसका १२ र राजपाका २ गरी १४ सांसदले भने मतदान बहिष्कार गरे । प्रदेश ७ मा सभामुखबाहेक ५२ सासद छन् । बिहान पहिलो पटक साढे ११ बजे बसेको बैठक प्रतिपक्षी दलले अवरोध गरेपछि दिउँसो १ बजेका लागि स्थगित गरिएको थियो । तर, दोस्रो पटक बैठक दिउँसो ३ बजे मात्रै बसेको थियो । मतदान बहिस्कारपछि बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कुनै व्यक्तिको स्वार्थ पूरा गर्नकै लागि नेकपाले दुईतिहाइको दम्भ देखाएर प्रदेशको राजधानी गोदावरीको जंगलमा लगेको आरोप लगाएका थिए । यस्तै, अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसद मालामती रानाले आफूहरूलाई नसमेटिएको समितिले गरेको प्रस्तावको पक्षमा आफू नभएको बताइन् । प्रदेशको नाम र राजधानीसम्बन्धी सुझाव दिन गठित समिति नै अवैधानिक र अपूर्ण रहेको आरोप लगाउँदै आएको छ । प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूर पश्चिम बहुमतले पारित गरेपछि गोदावरी क्षेत्रमा खुसीयालीमा दीपावलीसमेत मनाइएको छ । दीप प्रज्वलनमा स्थानीय राजनीतिक दलका अगुवा, नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तित्वहरूको समेत उपस्थिति थियो । तर अस्थायी राजधानी कैलालीको धनगढीमा भने आन्दोलन चर्किएको छ । प्रदेशको राजधानीका विषयमा सुदूरपश्चिम प्रदेशका विभिन्न व्यक्तिसँग गरिएको कुराकानको सार :

गोदावरी नै राजधानी उपयुक्त
रणबहादुर चन्द
स्थानीय नेता, नेकपा
राजधानीका विषयमा ७ नं. प्रदेश सरकार अहिले आएर निर्णयमा पुगेको छ र यस प्रदेशका जनताका आ–आफ्ना इच्छा, आफ्ना चाहना र आ–आफ्ना अडानहरू थिए । त्यसमा पनि धनगढीवासीहरू धनगढी राजधानी बनाउनुपर्छ भन्थे अत्तरियाबासीहरूको गोदावरी बनाउनुपर्छ भन्ने माग थियो । डोटीका बासिन्दाहरूले डोटीमा राजधानी बनाउनुपर्छ भन्ने माग राख्दै आएका थिए । यसरी विभिन्न जिल्लाका जनताले आ–आफ्ना माग राख्दै आएका थिए । तर, अन्ततः आएर गोदावरी नै राजधानी बनेको छ । नाममा पनि विवाद–विवादको बीचमा सुदूरपश्चिम नामकरण भएको छ । नाममा पनि सुदूरपश्चिम राख्ने कि खप्तड प्रदेशमा राख्ने विवाद भएको थियो । प्रदेश सरकारले गहन छलफल गरेर नामकरणसमेत गरेको छ । प्रदेश सरकारले निकै सुझबुझका साथ एकदमै राम्रो निर्णय गरेको छ । यो सबैलाई सर्वमान्य छ ।
गोदावरी नगरपालिकाको तेघरीमा राखेको राजधानी सबैलाई पायक पर्ने खाले छ । पहाडी जिल्ला र तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई समेत सहज हुने खालको छ । अहिले राजधानीको विषय पारित भइसेकको एक हप्ता हुन आँटिसक्यो । तर, केही विपक्षी राजनीतिक दलहरूले भने गेटाको मत्स्य विकास केन्द्रलाई राजधानी बनाउनुपर्ने माग गरेका छन् । हामीले उहाँहरूको मागलाई स्विकार्ने हो, तर बहुमत पारित भइसकेको राजधानीलाई हचुवाको भरमा सार्न भने असहज हुन सक्छ । प्रदेश सरकारले वैज्ञानिक ढंगले नै राजधानी छानेको हुन सक्छ । यो भनेको धेरै ठूलो विवादको विषय होइन । बरु प्रदेश सरकारले पनि भौतिक संरचनाका लागि आवश्यक जग्गा मात्र प्रयोग गरी अन्य जग्गालाई संरक्षण गर्नुपर्ने हुन्छ । वनजंगल नाश गर्नु हुँदैन, वनजंगललाई संरक्षण गर्नतर्फ लाग्नुपर्छ । स्वयं म पनि धनगढीवासी नै हुँ । धनगढी नै राजधानी हुनुपर्ने मेरो माग थियो, तर पनि प्रदेश सरकारले प्रदेशका बासिन्दाहरूको भाव बुझेर गोदावरी नै राजधानी राखेको हुन सक्छ । यो सर्वसम्पन्न प्रदेश सरकारको निर्णयलाई हामीले मान्नुपर्छ । जातीयताको, क्षेत्रीयताको हिसाबले राजधानी धनगढी बनाउनुपर्ने हो, तर गोदावरीमा बनाइएको छ । त्यसलाई पनि हामीले स्विकार्नुपर्छ । राजधानी जुनुसुकै ठाउँमा भए पनि विकास पहिलो कुरा हो । प्रदेश सरकार विकासतर्फ लाग्नुपर्छ ।

संघीयता खारेज हाम्रो प्रमुख माग
लक्षीराम आचार्य
कैलाली जिल्ला अध्यक्ष, राष्ट्रिय जनमोर्चा
हामी राजधानीको विषयमा व्यापक रूपले विरोध गर्दै आएका छौं । संघीयता खारेज हाम्रो पहिलो माग हो । देशले संघीयता धान्दैन । संघीयता नेपालको बोझ हो । संघीयता हुँदा देशले आर्थिक समृद्धिमा फड्को मार्दैन । गोदावरी, चाहे जुनुसुकै स्थानमा राजधानी बनाए पनि हाम्रो पार्टीको अस्वीकार्य छ । यसको विरोध गरेका छौं र गर्दै जानेछौं । राजधानीका विषयमा संसदीय समिति, जुन गठन गरिएको थियो, यो समितिलाई नै अयोग्य भन्दै आएका थियौं । तर, त्यही समितिले राजधानी तोक्यो । हाम्रो यसमा आपत्ति छ । यसका लागि छुट्टै समिति बनाउनुपर्ने हो ।
७ नं. प्रदेशमा गोदावरीमा राजधानी हुन सक्छ वा सक्दैन, नेपालमै संघीयता हुन सक्छ कि सक्दैन भन्ने बहसको विषय भएको छ । यसलाई निष्पक्ष रूपले राजधानी बनाउन स्वतन्त्र शक्तिशाली आयोग बनाउनुपर्छ भन्ने माग राख्दै आएका थियौं । तर, अहिले त्यसकै फलस्वरूप राजधानीका विषयमा विवाद देखिएको छ । जस्तै : गोदावरीमा राजधानी बनाए धनगढीले आन्दोलन गर्ने, धनगढीले राजधानी मागे डोटीले आन्दोलन गर्ने, डोटीले राजधानी मागे धनगढीले आन्दोलन गर्ने देखिएको छ । यसरी संघीयता विखण्डन भएको देखिएको छ । संघीयता नेपालमा आवश्यक नै छैन भन्ने कुरा यहीँबाट प्रस्ट देखिएको छ । यो लडाइँले अन्ततोगत्वा प्रदेश सरकारलाई विघटन गर्छ कि ? शंका उत्पन्न हुन थाल्या छ । राजधानी जुनसकै स्थानमा राखे पनि काम छैन । शासकहरूले आफ्नो राजनीतिक थलो बनाउनका लागि राजधानी बनाएका हुन् । यो राजधानीको कामै छैन । यो विषयमा हाम्रो पार्टी बोल्दा नि बोल्दैन, तर यो राजधानी जहाँ राखे पनि राजधानीको औचित्य छैन । बरु यसले आन्दोलन चर्काउँछ ।
नेताहरूलाई अझै पनि समय छ । नेताहरूले बेलामै सोच्नु जरुरी छ । नत्र पछि जनताले नङ्ग्याउनेछन् । हाम्रो पार्टीको संघर्षका कार्यक्रमहरू छन् । यसरी विवाद हुँदा देशमा आन्तरिक द्वन्द्व हुन सक्छ । भाइचारा सम्बन्ध बिग्रन सक्छ । त्यसैले यस विषयमा सोच्नु जरुरी छ ।

प्रदेश राजधानीको विषयमा पार्टीको धारणा केही छैन
दानबहादुर विश्वकर्मा
केन्द्रीय उप–महासचिव ७ नं. प्रदेश इन्चार्ज, संघीय समाजवादी फोरम, नेपाल
७ नं. प्रदेशको राजधानीको विषयमा हाम्रो पार्टीको कुनै पनि धारणा छैन । गोदावरी राजधानी भए नि चाहे त्यो डोटी धनगढी राजधानी भए पनि हाम्रो पार्टीको आधिकारिक धारणा छैन । १०+१ हाम्रो पार्टीको पहिलो एजेन्डा अर्थात् अवधारणा हो । सरकारी कामकाजका लागि मात्र सातवटा प्रदेशलाई मानेको हौं । १०+१ का लागि अहिले पनि हाम्रो पार्टी संघर्षमै उत्रेको छ । सरकारी कामकाजमा असहज हुन्छ भनेर केही क्षणका लागि स्वीकार गरेका हौं । अझै पनि हाम्रा मागका लागि संघर्षमै रहेका छौं र ७ नंं. प्रदेशको हकमा हाम्रो पार्टीको निर्णयचाहिँ केही पनि छैन, तर मेरो व्यक्तिगत कुराचाहिँ म त्यहीँको वासिन्दा भएकै कारण के भन्न चाहन्छु भने पहाडी जिल्लाको कुरा गर्ने हो भने डडेल्धुराको बागबजार उपयुक्त हुन्थ्यो, तर तराईमा गोदावरी नै ठीक छ । किनभने गोदावरी सबै जिल्लालाई पायक पर्ने भएकाले उपयुक्त छ ।
धनगढीलाई राजधानी बनाउँदा सीमाक्षेत्रलाई मध्यनजर गर्नुपर्छ । प्रदेश सरकारले गरेकै हो । यो कुरालाई हामी सबैले स्वीकार्नु जरुरी छ । जनसंख्या चाप कैलाली, कञ्चनपुरमा अत्यधिक मात्रामा छ । त्यो भएर पनि गोदावरीको तेघरी नै ठीक हो । अधिकांश पहाडका जनता पनि घरजग्गा किनेर तराईमा बस्दै आएका छन् । यो कुरालाई मध्यनजर गर्नु जरुरी छ । धनगढी व्यापारिक दृष्टिकोणले राम्रो भए पनि राजधानीका लागि गाह्रै थियो । गोदावरीको तेघरी एकान्त र नीति–निर्माण तथा सहजताका लागि पनि ठीक हो, उपयुक्त छ । तर पनि प्रदेश सरकारले त्यहाँको वनजंगल, चुरे क्षेत्र सबैलाई मध्यनजर राखेर प्रदेश सरकारको भौतिक संरचना बनाउँदा राम्रो होला । प्रदेश सरकारले यहाँका जनताको भावना बुझेर जाँदा राम्रो हुनेछ । अझै सल्लाहबमोजिम नै जाँदा राम्रो होला ।

माफिया चलखेलको डर
प्रकाश बम
उपसभापति, नेपाली कांग्रेस, कैलाली
कैलालीको क्षेत्र नं. ४ अर्थात् गोदावरीमा मेरो घर पनि छ । राजधानी जानु मेरा लागि राम्रो कुरा हो, तर म चिन्तामा पनि छु । राजधानी तेघरीको जंगलमा वडा नं. २ र ४ लाई मिलाएर बनाउन लागेका छन् । तर, डर के मानेमा छन् भने त्यहाँ भूमि माफिया, वन माफियाको बिगबिगी बढेको छ । यसले हाम्रो जंगलको नाश हुन्छ कि भन्ने डर छ । यसकै लागि हाम्रो पार्टीले पनि दबाब दिएको हो । भू–माफियाको चलखेल गर्दा वन माफियाको कारणले जंगल सकिन्छ कि भन्ने डरसमेत लागेको छ ।
कम्युनिस्ट सरकारले यस प्रदेशका जनताको चित्त दुखाएको छ । बरु योभन्दा राम्रो डोटीको दिपायल नै उचित थियो, किनभने दिपायलमा भौतिक पूर्वाधार बनिबनाउ नै छन् । बरु त्यहीं ठीक हुने थियो । नत्र धनगढी नै ठीक छ । तर, नेताहरूले आफ्नो भोट बैंकका लागि अनि पैसा कमाउनका लागि जंगल फँडानी गरेर कमिसनका लागि यस्तो तिकडम बाजी गरेका हुन् । अब यो प्रदेश समस्यामा छ । यहाँका सरकारमा रहेका नेता तथा मन्त्रीहरूले कमाइखाने बाटो खोजेका छन् । यहाँका जनताले सोच्नु जरुरी छ । माफियाका कारण अहिलेदेखि नै त्यहाँको जग्गाको भाउ दोब्बर–तेब्बर भइसक्या छ । ती भू–माफिया पनि तिनीहरूकै आफन्तहरू छन्, तर हामी हाम्रो पार्टी खबरदारी गर्न तयार छ । अबका दिनमा नयाँ तरिकाले आन्दोलन गर्न तयार छु । प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्