बन्दमा सरकारी कार्यालय तोडफोड «

बन्दमा सरकारी कार्यालय तोडफोड

कञ्चनपुर-निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार आह्वान गरेको कञ्चनपुर बन्दका क्रममा सरकारी वकिल कार्यालय कञ्चनपुरमा तोडफोड भएको छ । नेविसंघले बन्दको अवज्ञा गरेको भन्दै कञ्चनपुरका तीन सरकारी कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
कञ्चनपुर प्रहरीका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक र सरकारी वकिल कार्यालयमा तोडफोड गर्नुका साथै कुर्सी, टेबुल र कम्प्युटर तोडफोड गरेका हुन् । नेविसंघका बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै एक्कासी कार्यालयभित्र आएर तोडफोड गरेको कर्मचारीले बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले नेविसंघका बन्दकर्ताले एक्कासी कार्यालयभित्र पसेर कर्मचारी, कार्यालय र जिप तोडफोड गरेको बताए ।
बन्दकर्ताले कार्यालयभित्र तोडफोड र कार्यालयको बा २ झ २७१५ नम्बरको जिपमा तोडफोड गरिदिएका छन् । तोडफोडबाट जिपको सिसा फुटेको छ ।
सरकारी वकील कार्यालयमा तोडफोडको फोटो खिचिरहेका सगरमाथा टेलिभिजनका पत्रकार चन्द्रकान्त जोशीमाथि समेत आन्दोलनकारीले कुटपिट गरेका छन् । तोडफोड गर्न लागेको फोटो किन खिचेको भन्दै आन्दोलनकारीले आफूमाथि अभद्र व्यवहार गर्नुका साथै कुटपिट र क्यामेरा खोसेर भागेको पीडित पत्रकार जोशीले बताए ।
यता नेविसंघ कञ्चनपुरले सरकारी कार्यालय सवारी साधन तोडफोड र पत्रकार कर्मचारीमाथि कुटपिट कुनैपनि नेविसंघले नगरेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले सरकारी कार्यालय, सवारी साधन र पत्रकारमाथि कुटपिट गर्नेको खोजी भइरहेको बताए ।
नेपालीहरुको महान चाडपर्व नजिकै रहेको समयमा भएको कञ्चनपुर बन्दले रोजगारीका लागि भारत गएकाहरु स्वदेश फर्किने नेपालीहरु मर्कामा परेका छन् । बनबासाबाट पश्चिमी नाका गड्डाचौकीबाट पैदल महेन्द्रनगर सदरमुकाम पुग्नुपरेको भारतको रुद्रपुरबाट घर फर्किन लागेका हिरा नाथले बताए । भारतका विभिन्न सहरहरुमा ज्याला, मजदुरी तथा जागिर गरेर चाडपर्वका बेला घरपरिवारसँगै दशैं तिहार मनाउन घर फर्किरहेका नेपालीहरु सिमा नाका गड्डचौकि क्षेत्रबाट पैदल हिँड्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्