सगरमाथा आरोहणको व्यवस्थापन

सरकारले भर्खरै बनाएको सगरमाथा आरोहणसम्बन्धी नियमावलीमा अब उप्रान्त एक्लै आरोहीलाई आरोहण अनुमति दिइनेछैन भने पूर्ण रूपमा अशक्तहरूलाई आरोहणमा समेत रोक लगाइएको छ । एक्लै आरोहीहरू सगरमाथा आरोहणमा जाँदा अलपत्र भई हराउने, आरोहण चुक हुँदा ज्यानैसमेत जाने अवस्थामा सहयोगीबिना आरोहण गर्न नपाउने नियम लागू हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । |
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको करिब साढे ६ दशकपछि सरकारले पहिलो पटक आरोहण प्रक्रियालाई व्यवस्थित गर्ने प्रयास गरेको छ । सन् १९५४ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफलतापूर्वक आरोहण गर्नुपूर्व नै सन् १९२४ मा जर्ज म्यालोरी र इर्भिनले सगरमाथा आरोहणका प्रयास गरेका थिए । अहिलेसम्म झन्डै साढे ७ हजारले सगरमाथाको आरोहण गरिसकेका छन् । विश्वकै सर्वोच्च शिखर भएका हुनाले यसको आरोहण गर्नु धेरै साहसिक मानिसहरूको अभिलाषा रहने गरेको छ । कतिपयले सफलता पाउँछन्, कतिपय शिखरकै नजिक पुगेर पनि विफल हुन्छन् । सगरमाथा चढ्ने मात्र होइन, त्यसको शिखरमा पुगेर अनेकन कीर्तिमान राख्नेहरूको होडबाजी पनि बढ्दै गएको छ । इन्टरनेट साइटहरूमा उपलब्ध जानकारीअनुसार अहिलेसम्म ५० भन्दा बढी किसिमका रेकर्ड सगरमाथा आरोहणका क्रममा राखिसकिएको छ । एभरेस्ट क्लाइम्बर एसोसिएसनको विवरणअनुसार १० भन्दा बढी प्रकारका रेकर्ड त नेपालीले नै राखेका छन्, जसमा सबैभन्दा छिटो समयमा आरोहण गर्नेदेखि शिखरमा सबैभन्दा लामो समयसम्म बस्नेसम्मका रेकर्ड छन् । सबैभन्दा कम उमेरदेखि सबैभन्दा बढी उमेरका वयोवृद्धसम्मले राखेका रेकर्डले आममानिसलाई यसप्रति उत्साहित, आकर्षित र उत्प्रेरित तुल्याउने गरेको छ । आरोहणको काम निकै जोखिमयुक्त पनि छ । आरोहणकै क्रममा अहिलेसम्म करिब ४ सयको मृत्यु भइसकेको तथ्यांक पनि छ । आरोहणका क्रममा हुने कुनै पनि असावधानीले आरोहीको अंगभंग हुनेदेखि ज्यानै जाने जोखिमसम्म हुने गर्छ ।
शिखर आरोहणमा सक्कली मात्र होइन, नक्कली कीर्तिमान राखेको समेत तथ्य सार्वजनिक भइसकेकाले अब उप्रान्त कस्ता कीर्तिमानलाई प्रमाणीकरण गर्ने र कसलाई नगर्ने भन्ने विषयमा समेत सरकारले स्पष्ट नीति बनाउनु आवश्यक भइसकेको छ । सरकारले भर्खरै बनाएको सगरमाथा आरोहणसम्बन्धी नियमावलीमा अब उप्रान्त एक्लै आरोहीलाई आरोहण अनुमति दिइनेछैन भने पूर्ण रूपमा अशक्तहरूलाई आरोहणमा समेत रोक लगाइएको छ । एक्लै आरोहीहरू सगरमाथा आरोहणमा जाँदा अलपत्र भई हराउने, आरोहण चुक हुँदा ज्यानैसमेत जाने अवस्थामा सहयोगीबिना आरोहण गर्न नपाउने नियम लागू हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । तर, अपांगता भएका व्यक्तिहरूको आरोहणमा लगाइएको प्रतिबन्ध भने न्यायोचित छैन, पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरूबाहेक अन्य किसिमका अपांगता भएका व्यक्तिहरूले यसअघि पनि पटक–पटक सगरमाथा मात्र होइन, विश्वका धेरै शिखरका आरोहण गरिसकेका छन् । नक्कली हातखुट्टा, उपकरण र अन्य सहयोगीहरूको साथबाट करिब दुई दर्जन अपांगता भएका वा रोगग्रस्तहरूले सफलतापूर्वक आरोहण गरेको कीर्तिमान छ । त्यसैले चिकित्सकीय प्रमाणीकरणबाट आरोहण गर्न सकिने देखिए अपांगता भएका व्यक्तिहरूलाई आरोहणमा रोक लगाइनु हुँदैन, किनकि त्यस्ता एक जना व्यक्तिको सफलताले विश्वभरिका हजारौं अरूलाई प्रेरणा मिल्ने हुन्छ । त्यसको सट्टा अपांगता भएका आरोहीहरूका लागि निश्चित सीमा र सर्त भने तोक्न सकिन्छ ।
सबैभन्दा गम्भीर प्रश्न उब्जिएको उमेरको हदबन्दीका विषयमा भने सरकारले कुनै निर्णय नगर्नु आश्चर्यको विषय भएको छ । अति ज्येष्ठ नागरिकको सगरमाथा आरोहणमा कीर्तिमान राख्न देखिएको होडबाजीले दुई जनाको त ज्यानै गइसकेको छ । जसरी कम उमेरका आरोहीका लागि सीमा तोकिएको छ, त्यसैगरी बढी उमेरका आरोहीका लागि समेत सीमा तोक्न जरुरी भइसकेको छ ।