विद्युतीय भुक्तानी सेवा दिन लघुवित्तलाई २० शाखा अनिवार्य «

विद्युतीय भुक्तानी सेवा दिन लघुवित्तलाई २० शाखा अनिवार्य

लघुवित्त वित्तीय संस्थाले पनि विद्युतीय भुक्तानी सेवा दिन पाउने भएका छन् । तर, लघुवित्तले विद्युतीय भुक्तानी सेवा दिनका लागि १० करोडको चुक्ता पुँजीसहित २० शाखा भए केन्द्रीय बैंकको अनुमति लिन उक्त सेवा प्रदान गर्न सक्ने भएका हुन् ।
केन्द्रीय बैंकले लघुवित्तलाई पनि आधुनिक र प्रविधिमैत्री बनाउनका लागि विद्युतीय भुक्तानी सेवा प्रदान गर्नसक्ने सुविधा दिएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै विद्युतीय भुक्तानी सेवा प्रदान गर्न चाहने लघुवित्तको लागि मापदण्डसमेत तोकेको छ । केन्द्रीय बैंकका अनुसार चुक्ता पुँजी १० करोड पूरा भइ कम्तिमा पनि २० शाखा कार्यालयमार्फत थोरैमा पनि २० हजार ग्राहकसँग बचत तथा कर्जाको कारोबार गरेको हुनुपर्ने व्यवस्था गरेको हो । त्यसका साथै विद्युतीय भुक्तानी सेवा प्रदान गर्न चाहने लघुवित्तले नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने तथ्यांक तथा विवरण अनलाइनमार्फत पेश गर्ने प्रतिबद्धतापत्र पेश गरेको हुनुपर्छ । त्यसैगरी विद्युतीय भुक्तानी सेवा प्रदान गर्नका लागि लघुवित्तले विश्वसनीय र भरपर्दो सूचना प्रविधि प्रणालीको प्रयोग गरेको हुनुपर्छ ।
विद्युतीय माध्यमवाट भुक्तानी प्रदान गर्न चाहने लघुवित्तले संस्थाको सञ्चालक समितिवाट विद्युतीय माध्यमवाट गरिन कारोबार र सेवा सञ्चालन गर्नेसम्बन्धी निर्णयको प्रतिलिपि, भुक्तानीसम्बन्धी काम गर्ने संस्था र संयन्त्रलाई प्रदान गरिने अनुमति नीति २०७३ अनुसार विवरण, डाटा सेन्टर र डाटा रिकभरी साइटसम्बन्धी व्यवस्था गरी कार्ड होल्डरको तथ्यांकको सुरक्षाको प्रत्याभूति गरेको कागजातसहित केन्द्रीय बैंकमा निवेदन दिन सक्नेछ । त्यसैगरी विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्नका लागि अनुमति माग्दा लघुवित्तले इन्फरमेसन टेक्नोलोजी पोलिसी, प्रडक्ट म्यानुअल, युजर म्यानुअलसम्बन्धी विवरण, जोखिम पहिचान, न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी गरिएका व्यवस्थाहरू र विवाद समाधान कार्यविधि, विद्युतीय भुक्तानी कार्डको माध्यमवाट कारोबार गर्न स्वीचिङ संस्था र दूरसञ्चार सञ्जालमार्फत कारोबार गर्न दूरसञ्चार सेवा प्रदायक÷इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग सेवा उपयोग गर्नेसम्बन्धी सम्झौताहरूको प्रतिलिपिसमेत पेश गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । संस्थाको केन्द्रीय कार्यलय र कारोबार सञ्चालन गर्ने शाखा कार्यलयहरूबीच अनलाइन नेटवर्क कनेक्टिभिटीसम्बन्धी व्यवस्था गरेको तथा भुक्तानी कारोबारको लागि आवश्यक तरलता तथा जोखिम व्यवस्थापनसम्बन्धी प्रतिबद्धतासमेत केन्द्रीय बैंकमा पेश गर्नुपर्ने व्यवस्था छ । त्यसका साथै एक्सेस कन्ट्रोल मेजरसम्बन्धी व्यवस्था गरी भुक्तानी प्रणालीको नियमित अनुगमन व्यवस्था मिलाएको तथा आन्तरिक रूपमा भुक्तानी प्रणालीको नियमित अनुगमन र ओभरसाइट गरेको लघुवित्तलाई केन्द्रीय बैंकले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सक्छ ।
लघुवित्त वित्तीय संस्थाले भुक्तानी सेवा प्रदान गर्दा कारोबार सम्पन्न भएपछि एसएमएस अलर्ट सेवासमेत प्रदान गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । लघुवित्तले सर्ट म्यासेज सर्भिसमार्फत खाताको विवरण वित्तीय कारोबारको जानकारी आफ्ना सेवाग्राहीलाइ प्रदान गर्नुपूर्व तोकिएबमोजिमका मापदण्ड एवं प्रक्रियागत व्यवस्था पूरा गरी केन्द्रीय बैंकबाट अनुमति लिनुपर्नेछ । तर, लघुवित्त संस्थाले यस बैंकवाट तोकिएबमोजिमको मापदण्ड एवं प्रक्रिया पूरा नगरेको अवस्थामा एसएमएस सेवामात्र प्रदान गर्न भने स्वीकृति लिनुनपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्