प्रयोग न्यून, जोखिम भने उच्च

नेपालमा रासायनिक विषादीको प्रयोग विश्वको तुलनामा निकै न्यून रहेको पाइए पनि प्रयोगमा भने असावधानी बढ्दो देखिएको छ । यस क्षेत्रसँगसम्बन्धी काम गर्ने सरकारी निकायका अनुसार कृषकले विषादी छर्केपछि पर्खनुपर्ने समय नपर्खीउपज बजारमा पठाउनाले उपभोक्ता स्वास्थ्य जोखिममा परेको छ ।
सरकारले आइतबारदेखि मनाउन सुरु गरेको विषादी प्रयोगमुक्त सप्ताह २०७४ बारे जानकारी दिन आयोजित पत्रकारमा सम्मेलनमा बाली संरक्षण निर्देशनालयले यससम्बन्धी समस्याका बारेमा प्रष्ट्याएको हो । “इटली जस्तो विकसित मुलुकमा प्रतिहेक्टर १३ किलोभन्दा बढी रासायनिक विषादीको प्रयोग भइरहेको छ भने नेपालमा ३९६ ग्राम मात्र छ,” कृषि विभागअन्तर्गतको निर्देशनालयका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले भने, “अनुसन्धान नगरी जथाभावी विषादी प्रयोग गर्नु, आवश्यक सावधानी नअपनाइ विषादी छर्कनु र विषादी छर्केपछि पर्खनुपर्ने समय नपर्खि तरकारीलगायतका उपज बजारमा पुर्याउनु मुख्य समस्या हुन् ।” विषादी छर्केको तीन दिनमै तरकारी टिप्न मिल्ने नोभान विषादीको समेत कालीमाटी प्रयोगशालामा अवशेष भेटिएको उनले बताए ।
पछिल्लो समयमा कृषक उपभोक्तामा सचेतना बढ्दै गरेको भन्दै उनले सकेसम्म रासायनिक विषादी प्रयोग गर्न नहुने तर प्रयोग गरे पनि मापदण्ड पुर्याउनुपर्ने बताए । “काठमाडौंको कालीमाटीलगायत सात प्रदेशलाई पायक पर्ने गरी थप ६ ठाउँमा प्रयोगशाला राखेर तरकारी बजारमा विषादी परीक्षण र मुलुकभर सचेतना कार्यक्रम गरिरहेका छौं,” उनले भने, “यसका लागि सरकार, कृषक, उपभोक्ता, व्यवसायी सबै सचेत भएर लाग्नुपर्छ ।” निर्देशनालयको नेतृत्वमा यो वर्ष ‘घातक विषादी मुक्त संसार, स्वस्थ जीवन र पर्यावरणको आधार’ मूल नाराका साथ घातक विषादी मुक्त सप्ताह मनाइँदै छ । विश्वभर डिसेम्बर ३ तारिखलाई विषादी प्रयोग मुक्त दिनका रूपमा बनाइने गरिन्छ ।
सरकारले सचेतना बढिरहेको बताए पनि विषादीको आयात भने बर्सेनि बढ्दो क्रममा छ । आर्थिक वर्ष २०६८-६९ मा ३४५ टन विषादी आयात भएकोमा २०७२-७३ मा ५७४ टन आयात भएको तथ्यांक छ । आयातित विषादीमध्ये अधिक विषादी तरकारीमा हाल्ने गरेको पाइन्छ । सरकारले रासायनिक विषादीको प्रयोगलाई निरुत्साहन गर्दै जैवीक विषादीको प्रयोगमा जोड दिए पनि यस क्षेत्रमा सरकारी कार्यक्रम नै न्यून हुँदा पनि रासायनिक विषादी आयात बढ्दो क्रममा देखिन्छ ।