मुलुक समृद्धिको दिशामा अघि बढ्न सकेन ; निजी क्षेत्र «

मुलुक समृद्धिको दिशामा अघि बढ्न सकेन ; निजी क्षेत्र

काठमाडौं-उद्यमी व्यवसायीहरूले निजी क्षेत्रले बेहोनु परिरहेको दोहोरो, तेहोरो करले मुलुक समृद्धिको दिशातर्फ नभई झ्न–झन् निराशातर्फ धकेलिरहेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको सोमबार भएको ३९ औं वार्षिक साधारणसभामा उनीहरूले सरकारले मुखले समृद्धि भने पनि व्यवहारमा समृद्धिको आधार बनाउने दिशातर्फ मुलुक अघि नबढेको निष्कर्षप्रति सरकारको ध्यानाकर्षण गराए ।
साधारणसभामा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँगै संघ र प्रदेशका सासद् र स्थानीय तहका जनप्रतिनिधिहरू उपस्थिति थियो । उनीहरूले सरकारको समृद्धिको नाराले सुरुमा उत्साहित भए पनि समयसँगै उत्साह सेलाउँदै गएको भन्दै समृद्धिको दिशामा अघि बढिरहेको अनुभूत गराउने कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उपभोक्ता ऐनमार्फत व्यवसायीलाई कस्ने सरकारको नियत रहेको उल्लेख ऐन बनाउँदा निजी क्षेत्रलाई एक शब्द नसोधिएको गुनासो गरिन् । अहिले पनि १३ वटा निकायबाट अनुगमन हुने गरेको भन्दै सो कार्यलाई व्यवस्थित गर्न उनले सरकारको ध्यानाकर्षण गराएकी थिइन् । सरकारले समृद्धिको नारा दिइरहेको अवस्थामा दोहोरो, तेहोरो करले निजी क्षेत्रलाई निराशा तुल्याएको पनि उनको भनाइ छ । निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्रीको वातावरण बनाउने दिशामा ठोस कार्य गर्न सरकारलाई आग्रह गर्दै त्यस्ता कार्यमा सघाउन निजी क्षेत्र तयार रहेको पनि अध्यक्ष राणाले बताइन् ।
साधारणसभामा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले उपभोक्ता संरक्षणसम्बन्धी ऐनले व्यवसायीलाई आतंकित पारेको बताए । “गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ । व्यवसायीहरूलाई गल्ती सुधार्ने अवसर पनि दिनुपर्छ,” उनले भने, “तर, अहिले सामान्य त्रुटि गर्ने व्यवसायीलाई पनि सधैं जेल हाल्ने व्यवस्थाले कसरी समृद्धि हासिल हुन्छ ?” सरकार गठनको ७ महिनामा पनि सरकारको कार्यशैली नफेरिएकोमा उनले दुखेसो गरे । सुखी नेपाली र समृद्ध नेपालको आर्थिक विकास हुनुपर्ने जिकिर गर्दै अध्यक्ष महर्जनले सरकारले समृद्धिको नारा दोहो¥याए पनि व्यवहारमा कुनै नयाँपन दिन नसकेको गुनासो गरे । अध्यक्ष महर्जनले ललितपुरलाई जिल्ला सांस्कृतिक, पर्यटकीय र हस्तकलाको जिल्ला बनाउन संघ, प्रदेश र स्थानीय तहले सहयोग यथोचित सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पोखरेलले संघ, प्रदेश र स्थानीय तहले के कस्तो कर उठाउने भन्ने यकिन गर्न नपाउँदै दोहोरो, तेहोरो करको समस्या आएको बताए । तर, अब यस्तो नहुने उनको भनाइ छ । “सरकारले एउटै विषयमा दोहोरो, तेहोरो कर तिर्ने अवस्था अन्त्य गर्ने छ,” उनले भने, “निजी क्षेत्रले उठाएको समस्याप्रति सरकार गम्भीर रहेकाले आपसी छलफल र संवादको माध्यमबाट समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।” राजनीतिक अधिकारका लागि संघर्ष समाप्त भएको बताउँदै कार्यवाहक प्रधानमन्त्री पोखरेलले अब आर्थिक समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने समय आएको धारणा राखे ।
कृषिको व्यावसायीकरणको माध्यमबाट समृद्धि दिशामा अघि बढ्न सकिने उल्लेख गर्दै सरकारले भूउपयोग नीति ल्याउन लागिएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा ललितपुर–१ का सासंद् नवराज सिलवाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी, संघका महासचिव मनोजबहादुर न्याछ्यो जिल्लाको स्रोत, साधनको अधिकत्तम परिचालन गरी आर्थिक विकास गर्नुपर्नेमा केन्द्रित गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्