भारतमा बजार बढाउँदै लेम्बर्गिनी «

भारतमा बजार बढाउँदै लेम्बर्गिनी

इटालीयन सुपर स्पोर्टस् कार निर्माता कम्पनी लेम्बर्गिनीले अबको ५ वर्षमा भारत आफ्नो १० ठूलो बजारमा पर्ने जनाएको छ । लेम्बर्गिनीले केही समयअघि नयाँ एसयुभी उरुस सार्वजनिक गरेको थियो । यो कार धेरैले मन पराएकाले भारतीय बजारमा पनि यसको बिक्री उत्साहजनक हुने र कम्पलीले लिएको लक्ष्य पूरा हुने दाबी गरेको छ ।
लेम्बर्गिनीले गत वर्ष भारतमा २६ वटा कार बिक्री गरेको थियो भने आगामी दुई वर्षमा यो संख्यालाई दोब्बर हुने विश्वास कम्पनीले लिएको छ । यसमा नयाँ एसयुभी उरुसको महत्वपूर्ण भूमिका हुनेछ । भारत अहिले लेम्बर्गिनीको १० ठूला बजारमा नपरे पनि कम्पनीका लागि महत्वपूर्ण बजार भएको अटोमोबिली लेम्बर्गिनीका एसिया प्यासिफिक सिइओ माटिओ ओर्टिनिजको भनाइ छ । तर अबको पाँच वर्षमा लेम्बर्गिनीको १० ठूलो बजारमा भारत पर्ने उनले बताए ।
२०१७ मा लेम्बर्गिनी १० ठूला बजारमा अमेरिका, जापान, बेलायत, चीन, जर्मनी, क्यानडा, मध्यपूर्व, अष्ट्रेलिया, फ्रान्स, मोनाको र इटाली रहेका छन् । पहिलो ठूलो बजारमा अमेरिकामा २०१७ मा १ हजार ९५ वटा र १० औं नम्बरमा रहेको इटालीमा १ सय १९ वटा लेम्बर्गिनी कार बिक्री भएको थियो ।
भारतमा भएको आर्थिक वृद्धि र पूर्वाधारको तिव्र विकासका कारण सुपर स्पोर्टस् कारको बिक्री बढ्दै जाने विश्वास ओर्टिनिजको छ । भारतीय बजारमा उरुसको सुरुवाती मूल्य ३ करोड १० लाख भारु रहेको छ । लेम्बर्गिनीको उरुससहित हुराकान र एभेस्टाडोर समेत भारतमा सार्वजनिक गर्ने तयारी कम्पनीको छ । लेम्बर्गिनीले भारतीय बजारमा उरुसको बिक्री सुरु गरिसकेको छ । विश्व बजारमा लेम्बर्गिनीको नयाँ उपभोक्ता उरुसका रहेका छन् । विश्व बजारमा उरुसको उपभोक्ता ७० प्रतिशत रहेको र भारतमा ६८ प्रतिशत रहेको कम्पनीको भनाइ छ ।
भारतमा उरुसले नयाँ सेगमेन्टको विकास गरेको लेम्बर्गिनी इन्डियाका प्रमुख सरद अग्रवालको भनाइ छ । यसले उपभोक्तालाई सुपर लक्जरी, लक्जरी र प्रिमियम सेगमेन्टतर्फ आकर्षित गरेको उनले बताए । भारतमा उरुसको डेलिभरी सुरु गरिसकेको छ । अर्डर गरेको ६ देखि ९ महिनाभित्रमा उरुस उपलब्ध गराउने गरेको छ । भारतमा सुपर स्पोर्टस कार सेगमेन्ट अन्तर्गत टू डोर मोडलको मूल्य २ करोड २० लाखभन्दा माथि रहेको छ । २०१७ मा भारतमा यस्ता कार ७० वटा बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्