पोखरामा होटल अकुपेन्सी ९५ प्रतिशत «

पोखरामा होटल अकुपेन्सी ९५ प्रतिशत

पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक पोखरामा आएसँगै पोखरामा आन्तरिक पर्यटकको संख्यामा उल्लेखनिय रूपमा वृद्धि भएको व्यवसायीहरू बताउँछन् । तमुहरूको पर्व तमु ल्होसार तथा अंगे्रजी नयाँ वर्षको अवसमा पोखरामा जारी पोखरा सडक महोत्सवले गर्दा पनि विदेशी पर्यटकहरूको तुलनामा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आएको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराजले बताए ।
उनका अनुसार हाल पोखरामा पर्यटकस्तरीय होटलमा मात्र एकै रातमा ३० हजार भन्दा बढी पर्यटकले रात बिताउँदैछन् । उनले भने, “अंग्रेजी नयाँ वर्षको अवसरमा देशका मुख्य सहरदेखि पोखरा आसपासका आन्तरिक पर्यटक पोखरा आउने भएकोले डिसेम्बर २९ देखि जनवरी एक तारिखसम्म पर्यटकको भीडभाड हुने गर्छ ।”
जनवरी २ तारिखदेखि पोखरामा करिब ३० प्रतिशत होटलको अकुपेन्सी घट्ने उनले बताए । पराजुलीका अनुसार हाल विदेशी पर्यटकको मात्र अकुपेन्सी ३० प्रतिशतजति छ । यद्यपि, भारतीय पर्यटकको समेत यस अवसरमा राम्रो सहभागिता रहेको उनले जनाए । पोखरामा रहेका पयटक स्तरका होटलमा एक रातको सामान्यतया एक हजारदेखि १० हजारसम्म लिने गरेका छन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा केही व्यवसायीहरूले दोब्बर तथा चार गुणासम्म शुल्क लिने गरेको पर्यटकले गुनासो गर्दै आएका छन् । संघमा आवद्ध होटलमा यस्तो नहुने संघले जनाएको छ । कसैले चर्को मूल्य लिएमा कारबाही गर्नुपर्ने पोखराका पर्यटन व्यवसायी गणेश भट्टराईले बताए । उनले भने, “एक–दुई दिन आउने पर्यटकलाई फेरि आउने वातावरण दिनुपर्छ । यही हो मौका भनेर एकै पटक धेरै चर्काे मूल्य असुल्ने गर्नु हुदैँन ।”
पर्यटकको अफसिजन मानिने डिसेम्बर र जनवरी महिनाको अवसरमा पोखरामा सडक महोत्सव हुँदै आएकोले पनि यहाँ पर्यटक धरै भित्रिने गरेको रेवान पोखराका अध्यक्ष एवं १९ औं पोखरा सडक महोत्सवका संयोजक चौबहादुर गुरुङले बताए । उनले भने, “यतिबेला पोखराका होटल तथा रेष्टुराँ व्यवसायीहरूलाई भ्याई–नभ्याई हुन्छ, हाम्रो एक साताको व्यापारले हामीलाई धेरै राहत हुने गरेको छ ।”
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा हुने हवाई उडानमा समेत वृद्धि भएको छ । केहि दिनदेखि पोखरामा करिब ३० प्रतिशतले हवाई उडान वृद्धि भएको नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकृत काशीराम सुवेदीले बताए । बुद्ध एयरले हाल ७ वटासम्म उडान गरेको छ भने यति एयरलायन्सले ११ वटा र सिम्रिक एयरले एउटा उडान बढाएको छ । अन्य समयमा बुद्धले ४-५ वटा, यतिले ८-९ र सिम्रिक एयरले ३ वटा पोखरा काठमाडौं उडान गर्दै आएका छन् । बुद्ध एयरले गत भदौदेखि पोखरा–भैरहवा र पोखरा–चितवन सिधा उडान गर्दै आएको छ ।
काठमाडौंबाट पोखरा आउने यात्रुवाहक बस तथा पर्यटकीय स्तरका बसमा समेत यात्रुको चाप बढेको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटक आएकोले गर्दा यात्रुको चाप बढेको पश्चिमाञ्चल क्षेत्रीय नाट्टा पोखराका अध्यक्ष डिल्ली गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्