जडिबुटीको निर्यात बढाउन गुणस्तर प्रमाणीकरण गर्नुपर्ने

नेपालमा उत्पादन भएका औषधिजन्य जडिबुटीको निर्यात बढाउन गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । विश्व व्यापार संगठनको अवधारणाअनुसार जडिबुटी निर्यात गर्दा गुणस्तर प्रमाणीकरण गरी लोगोसहित निर्यात गर्दा विश्व बजारमा जडिबुटीको व्यापार राम्रो हुने भन्दै सरोकारवालाले प्रमाणीकरण गर्न आवश्यक रहेको बताएका हुन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाले अब निर्यात गरिने जडिबुटीको नेपाली ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउन प्रमाणीकरण आवश्यक रहेको बताएका छन् । वन विभागकी उप–महानिर्देशक ज्योती जोशी (भट्ट) ले गुणस्तर प्रमाणीकरणका लागि सरकार निजी क्षेत्रसँग समन्वय गर्न तयार रहेको बताएकी छन् । “हामीले गुणस्तर प्रमाणीकरण गरेर नेपाल हर्बको लोगो राख्न सक्यांै भने नेपाली जडिबुटीले विश्वबजारमा राम्रो मार्केट लिन सक्छ,” उनले भनिन्, “कुनकुन सामान बेच्ने हो पहिचान गर्नु आवश्यक छ, र गुणस्तरमात्रै होइन उत्पादन बढाउनुपर्छ ।”
उनले जडिबुटीको ब्रान्डिङ गर्नुपर्ने र गुणस्ततर निर्धारणका लागि केही सुविधा वनस्पति विभागले दिनसक्ने बताएकी छन् । “प्रमाणीकरण गर्दा हाम्रो मान्यता बढ्ने छ र धेरै मूल्य पाउन सक्छौं, नेपाली जडिबुटी विश्वबजारमा चिनिन सकोस्,” उनले थपिन् ।
नेपाल पस्मिना उद्योग संघ अध्यक्ष दुर्गाविक्रम थापाले पस्मिनाको गुणस्तर प्रमाणित गरेपछि विश्वबजारबाट यसको माग बढिरहेको अनुभव सुनाउँदै जडिबुटीको पनि गुणस्तर प्रमाणीकरण गर्न सुझाव दिएका छन् । “हामीले पस्मिनाको ट्रेडमार्कको रजिस्ट्रेसन ग-यौं, हाल हामीले ५० देशमा पु-याउने योजना बनाएका छौ,” उनले भने, “सन् २००८ बाट सुरु गरेका हौं, यसले राष्ट्रको पनि प्रतिनिधित्व गर्छ । विज्ञापन गर्नका लागि सहयोग हुन्छ र विश्वबजारमा विश्वासको वातावरण कायम गर्छ । दीर्घकालीन रूपमा फाइदा छ ।”
हेनका उपाध्यक्ष देवेन्द्र ढकालले लोगोको बिषयमा नै छलफल भइरहेको र अहिले रजिष्ट्रेसनको प्रक्रियामा गइसकेको जानकारी गराए ।