निगमलाई ग्यास प्रतिसिलिन्डरमा ४ सय ४ रुपैयाँ घाटा «

निगमलाई ग्यास प्रतिसिलिन्डरमा ४ सय ४ रुपैयाँ घाटा

निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४५ पैसा र डिजेलमा ४ रुपैयाँ ४३ पैसा घाटा छ ।

नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यास बिक्री गर्दा प्रतिसिलिन्डरमा ४ सय ४ रुपैयाँ घाटा हुन थालेको छ । इन्डियन आयल कर्पाेरेसनले १ अक्टोबरमा पठाएको नयाँ मूल्य प्रतिसिलिन्डरमा ९५ रुपैयाँ बढेर आएकाले पनि ग्यासमा घाटा चुलिँदै गएको हो । पछिल्लो समय लगातार मूल्य बढ्दै गएकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न थालेको छ । ग्याससँगै पेट्रोल र डिजेलको मूल्यसमेत बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
निगम प्रवक्ता वीरेन्द्र गोइतले सवैभन्दा धेरै घाटा ग्यासमा बेहोर्नुपरेको बताए । पछिल्लो एक महिनामा निगमको घाटा १ अर्ब २९ करोड रुपैयाँ पुगेको उनको भनाइ छ । निगमलाई हवाई इन्धन र मट्टितेलबाहेक सबै इन्धनमा घाटा छ । निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैया ४५ पैसा र डिजेलमा ४ रुपैयाँ ४३ पैसा घाटा छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष असर निगमलाई पर्न गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले पछिल्लो समय निगमले समेत स्थानीय बजारमा मूल्य बढाउँदै आएको छ । लगातार मूल्य बढ्दै गएकाले पनि निगमको घाटा चुलिँदै गएको छ । मूल्य समायोजन नभए घाटा थेग्न कठिन हुने निगमको भनाई छ । दसैंको मुखमा मूल्य बढाउँदा उपभोक्तालाई प्रत्यक्ष असर पर्ने देखिन्छ । तर, मूल्य समायोजन नगर्दा निगमको घाटा बढेर तेल खरिद गर्न नसक्ने अवस्थामा पुग्ने देखिन्छ ।
तेलको मूल्य वृद्धिसँगै डलरको मूल्य पनि बढेकाले निगमलाई प्रत्यक्ष असर परेको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची बढाउने गर्छ । सोही मूल्यलाई आधार मानेर निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्छ । लगातार मूल्य बढ्दै गए पनि भारतको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटरमा ३१ रुपैयाँ ७५ पैसा, डिजेल प्रतिलिटरमा ३० रुपैयाँ १५ पैसा सस्तो रहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्