Logo

२८ सय व्यावसायिक फर्ममा अनुगमन

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मुलुकभर २ हजार ८ सयभन्दा बढी व्यावसायीक फर्ममा अनुगमन गरेको छ । बजार अनुगमन गर्ने जिम्मेवारी पाएको विभागले पछिल्लो चार महिनामा २ हजार ८ सय ७७ फर्ममा अनुगमन गरेको हो । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, तौलमा कमी, मिसावट, म्याद नाघेको सामान बिक्री, मनपरी मूल्य रोक्न विभागले दैनिकजसो बजार अनुगमन गर्ने गरेको छ । यस अवधिमा उपत्यकामा २ हजार ७ सय ३२ व्यवसायीमाथि अनुगमन गरिएको छ ।
अनुगमनका क्रमममा ३ सय २२ व्यावसायिक फर्मले लेबल नभएका सामान बिक्री गरेको फेला परेको थियो । ६ सय ९५ व्यावसायिक फर्म दर्ता नगरी सञ्चालन गरेको भेटिएपछि व्यवसाय दर्ता प्रमाणपत्र पेस गर्न तथा नवीकरण गर्न निर्देशन दिइएको विभागले जानकारी दिएको छ । सो अवधिमा ३ सय ५५ व्यवसायीलाई सरसफाइमा सुधार गर्न र १८ व्यवसायीलाई खाद्य अनुज्ञापत्र पेस गर्न निर्देशन दिइएको विभागले जनाएको छ । ४ सय ४१ फर्मलाई भ्याट प्यानको प्रमाणपत्र लिन र विलक विजक लिन दिन निर्देशन दिइएको छ । विभागका अनुसार २ सय ३ व्यवसायीलाई म्याद नाघेका सामान बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा ६२ वटा व्यवसाय बन्द गरिएको र ११ वटाको कारोबार नै रोक्का गरिएको छ । ८० वटा फर्मलाई खाद्य र अखाद्य सामान अलग राख्न निर्देशन दिइएको छ । यस्तै १ सय ९० व्यवसायीलार्ई विभागमा उपस्थित भई आवश्यक कागजपत्र पेस गर्ने निर्देशन दिइएको विभागले जनाएको छ ।
यस अवधिमा विभागले १८ जना व्यवसायीलाई कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको छ । विभागकै सिफारिसबमोजिम प्रहरीले महँगोमा सामान बिक्री गर्ने दरबारमार्गका व्यवसायीलाई प्रक्राउ गरिसकेको छ । अनुगमनका क्रममा ५ सय ३५ व्यवसायीलाई मूल्यसूची राख्न र अद्यावधिक गर्न निर्देशन दिइएको छ । २ सय ६० व्यावसायीक फर्मलाई साईनबोड राख्न निर्देशन दिएको विभागले जानकारी दिएको छ ।
विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बजार अनुगमनसँगै कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायको कारोबार रोक्का गर्नेदेखि कारबाहीका लागि मुद्दा दायर गरिएको उनले जानकारी दिए । “दरबारमार्गका ब्रान्डेड पसलमा ठगीको आरोपमा प्रहरीमार्फत कारबाहीका लागि मुद्धा दायर भई व्यवसायी प्रक्राउ परिसकेका छन्,” उनले भने, “बजारमा हुने मूल्यवृद्धि, कृत्रिम अभाव, मिसावट, ठगी रोक्न नियमित रूपमा अनुगमन गरिरहेका छौं ।”
राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले विभागले अनुगमन गरे पनि उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नहुँदा बजार व्यवस्थित र मर्यादित बन्न नसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्