हार्ले डेभिडसन शताब्दीपछि नेपाली सडकमा «

हार्ले डेभिडसन शताब्दीपछि नेपाली सडकमा

ग्राहकको माग र छनोटअनुसार नयाँ मोडलहरु ल्याउँदै जान्छौं । हार्ले डेभिडसन मोटरसाइकल प्रयोगकर्ताहरुको ड्रिम मोटरसाइकल हो । नेपाली उपभोक्ताहरुको चाहनाअनुरुप हामीले हार्ले डेभिडसन नेपाली बजारमा ल्याएका हौं ।

चन्द्रप्रसाद ढकाल
अध्यक्ष, आईएमई ग्रुप

अमेरिकी ब्रान्डको हार्ले डेभिडसन मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । मोटरसाइकल प्रयोगकर्ताहरुको ‘ड्रिम’को रुपमा रहेको हार्ले डेभिडसन आइएमइ ग्रृुपअन्तर्गतको आइएमइ अटोमोटिभ्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो । नाडा अटो शो २०१८ मा हार्ले डेभिडसनको मोटरसाइकल शोकेसका रुपमा राखिएको थियो ।
नाडा अटो शोको अवसर पारेर नेपाली बजारमा अमेरिकी मोटरसाइकल हार्ले डेभिडसन मोटरसाइकल प्रदर्शन गरिएको थियो । हार्ले डेभिडसनलाई छोटकरीमा हार्ले भन्ने गरिएको छ । यो अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हो र यसको उत्पादन अमेरिका सहित भारतमा हुँदै आएको छ । भारतमा हार्लेका स्ट्रिट ५००, स्ट्रिट रड ७५० उत्पादन हुँदै आएको छ ।
हार्ले डेभिडसन कम्पनीको स्थापना सन् १९०३ मा अमेरिकाको मिलवोकी, विस्कन्सिनमा भएको थियो । विलियम एस हार्ले र उनका साथी आर्थर डेभिडसनको परिकल्पनामा निर्माण भएको यो मोटरसाइकलको नाम हार्ले डेभिडसन राखिएको हो ।
हालका लागि नेपाली बजारमा उपलब्ध हार्ले डेभिडसनको आईरन ८८३ मोडल उपलब्ध रहे पनि आगामी दिनमा कम्पनीले हार्ले डेभिडसनका विभिन्न मोडलहरु उपलब्ध गराउने छ । यो मोटरसाइकलको मूल्य ४५ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । आइएमई अटोमोटिभ्स अन्तर्गतको हार्ले डेभिडसन युनिटका अनुसार नाडा अटो शोमा बुक गर्नेहरुले ८५ हजारसम्म छुटको अफर पाउने व्यवस्था गरिएको थियो ।
नाडामा शोकेस गरिएको आइरन ८८३ मोडलमा ग्राहकको चासो र जिज्ञासा रहेको कम्पनीको भनाइ छ । ग्राहकको माग र छनोट अनुसार नयाँ मोडलहरु ल्याउँदै जाने आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । “हार्ले डेभिडसन मोटरसाइकल प्रयोगकर्ताहरुको ड्रिम मोटरसाइकल हो,” उनले भने, “नेपाली उपभोक्ताहरुको चाहनाअनुरुप हामीले हार्ले डेभिडसन नेपाली बजारमा ल्याएका हौं ।” नेपाली बजारमा आइरन ८८३ चारवटा रंगमा उपलब्ध रहेको छ ।
हार्लेको आईरन ८८३ बाइकमा ८८३ सीसी क्षमताको एयर कुल्ड एफआइ डबल सिलिन्डर इन्जिन रहेको छ । यसले ५५०० आरपीएममा ५० बीएचपी पावर तथा ३५०० आरपीएममा ७० एनएम टर्क जेनेरेट गर्छ । फ्रन्ट तथा रियरमा २९२ एमएमको डिस्क ब्रेक रहेको यो बाइकमा १९ इन्चको रेडियल अलोय ह्वील रहेको छ । १४० एमएमको ग्राउन्ड क्लियरेन्स रहेका आइरन ८८३ को २५६ केजी तौल रहेको छ ।
२० किलोमिटर प्रतिलिटर माइलेज दिने यो मोटरसाइकलमा १२.५ लिटरको फ्युल ट्याङक रहेको छ भने रिर्जभमा २.६५ लिटर फ्युल रहने छ । विगतमा पनि हार्ले डेभिडसनका मोटरसाइकल आएका थिए । तर आधिकारिक विक्रेताको मार्फत् नआएकाले सर्भिस, स्पेयर पार्टस्लगायतको समस्या थियो ।
अब आइएमई अटोमोटिभ्सले छिट्टै नै थ्रीएस सुविधासहितको शोरूम संचालनमा ल्याउने तयारी गरेको छ । आइएमइले लिएपछि स्पेयर पार्टस तथा सर्भिस सहज रुपमा उपलब्ध गराउने विश्वास दिलाएको छ । नयाँ तथा पुराना हार्ले राइडरहरुलाई कम्पनीले आवश्यकता अनुसार स्पेयर पार्टस् तथा सर्भिस उपलब्ध गराउने छ ।
सुरुवाती चरणमा कम्पनीले काठमाडौं बाहिरका उपभोक्ताका लागि सर्भिसका लागि मोबाइल भ्यानमार्फत् सर्भिस उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । हार्ले डेभिडसनले विश्वव्यापी रुपमा विस्तार गरेको हार्ले मर्चेन्डाइज कम्पनीले नेपालमा पनि हार्ले राइडरहरुका निम्ति त्यो प्ल्याटफर्म कम्पनीले उपलब्ध गराउने छ ।

मुख्य विशेषता 
रबर–माउन्टेड, एयर कुल्ड ८८३ सीसी इभोलुसन इन्जिन
५–स्पीड ट्रान्समिसन
एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस)
ओटू सेन्सरसहित इलेक्ट्रिक सिक्वेन्सियल पोर्ट फ्युल इन्जेक्सन (इएसपीएफआइ)
ट्रिम-स्टार्ट स्वीचसहित इन्टिग्रेटेड इलेक्ट्रिकल सिस्टम
५५०० आरपीएममा ५० बीएचपी पावर तथा ३५०० आरपीएममा ७० एनएम टर्क
तौल २ सय ५६ केजी
१२.५ लिटरको फ्युल ट्याङक

प्रतिक्रिया दिनुहोस्