सरकारप्रति शंका नगर्न मुख्यमन्त्री पौडेलको आग्रह «

सरकारप्रति शंका नगर्न मुख्यमन्त्री पौडेलको आग्रह

हेटौंडा-३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारमाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन् । आफूहरु संघीयता अभ्यासको सुरुवाती चरणमा रहेको भन्दै केही समयपछि प्रदेश सरकारले देखिने गरी काम गर्ने प्रतिवद्धता दोहो¥याएका हुन् ।
प्रदेश सरकार बनेको ७ महिनामात्र बितेको अवस्थामा केन्द्रीय सरकारसँग तुलना गरेर केही काम गरेन भन्नु मुर्खता हुने उनले बताए । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १५ औं साधारणसभालाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले २५० वर्ष पुरानो इतिहास बोकेको केन्द्रीय सरकार र सात महिने प्रदेश सरकारको बीचमा व्यवस्थापन, विकासको विषय लिएर तुलना गर्न नहुनेमा जोड दिए ।
प्रदेश सरकार स्थापना भएयता कानुन निर्माणमा जुटेकाले अन्य काम गर्न नपाएको मुख्यमन्त्रीको भनाइ थियो । पत्रकारको हकहितको निम्ति ३ नं प्रदेश सरकार सधै प्रतिवद्ध रहेकोसमेत उनले बताए । पत्रकारिता क्षेत्रको विकासको लागि पनि आफूहरुले योजना बनाइरहेको बताउँदै पौडेलले त्यसको लागि पत्रकारहरुको सुझावको अपेक्षा गरे । “यहाँका श्रमजीवी पत्रकारको क्षमता विकासको लागि हामीले बजेटको पनि व्यवस्था गरेका छौं, उचित योजना लिएर आउनुस्, हामी सहयोग गर्न तयार छौं ।”
प्रदेश सरकारको समृद्धिको सपना पूरा गर्न पत्रकारलाई पनि सकारात्मक सहयोग गर्न उनले आग्रह गरे । सभामा बोल्दै ३ नं प्रदेशका आन्तरिक मामिला एवं कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले समृद्ध राष्ट्र निर्माणमा पत्रकारको भूमिका उल्लेखनीय रहने भन्दै निष्पक्ष भएर कलम चलाउन आग्रह गरे । कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका अध्यक्ष प्रताप विष्ट, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, निर्माण व्यवसायी संघका अध्यक्ष श्यामसुन्दर ढकाल लगायतको उपस्थिति थियो । पत्रकार महासंघ मकवानपुरको साधारणसभाले पत्रकार उपचार कोष स्थापना गरी कार्यान्वयन गर्न पत्रकार उपचार कोष कार्यविधिसमेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्