मेलमिलाप दिवसमै नेविसंघमा देखियो फुट

२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका तत्कालिन सभापति वीपी कोइराला मेलमिलापको नीति अख्तियार गर्दै भारत निर्वासनबाट स्वदेश फर्किएका थिए । जतिबेला उनीमाथि फाँसीसम्म हुनसक्ने मुद्दा लगाइएका थिए । देशभित्रैका शक्तिहरू मिल्नुपर्छ भन्दै जोखिम मोलेर स्वदेश आएका उनी विमानस्थलबाटै पक्राउ परेको सोही दिनलाई कांग्रेसले ‘मेलमिलाप दिवस’को रूपमा मनाउने गर्छ ।
कांग्रेस केन्द्रीय समितिले कार्यक्रम आयोजना नगरे पनि उसको सबैभन्दा सशक्त मानिने भ्रातृ संगठन नेपाल विद्यार्थी संघले भने मेलमिलाप दिवसको अवसरमा कार्यक्रमको आयोजना गर्यो आइतबार । तर, मेलमिलापको कार्यक्रम आयोजना गर्ने नेविसंघभित्रै फुट देखियो ।
मेलमिलापकै कार्यक्रम पनि कांग्रेसभित्रका ३ वटा गुटले ३ ठाउँमा गरे । नेविसंघ केन्द्रीय समितिमा सभापति नैनसिंह महरको सभापतित्वमा भएको कार्यक्रम पौडल समूहका उपाध्यक्ष उर्मिला थपलिया, नवीन राई, सागर परियारसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूले बहिष्कार गरे भने सिटौला निकट महामन्त्री कुन्दन काफ्ले समूहले पनि बहिष्कार गरेको थियो ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा केन्द्रीय समितिको कार्यक्रम राष्ट्रिय सभामा चलिरहँदा सोही समयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने त्रिचन्द्र क्याम्पसमा छुट्टै कार्यक्रम आयोजना गर्यो । कृष्णप्रसाद सिटौला निकट विद्यार्थीहरूले भने शनिबार नै छुट्टै कार्यक्रम गरी मेलमिलाप दिवस मनाएका थिए ।
अन्यत्र कार्यक्रम गरेको जानकारी पाएका सभापति देउवाले त्यसलाई सांकेतिक रूपमा अनुशासनहिनता भएको बतए । “विपीको मेलमिलाप अनुशासन नभएको मेलमिलाप थिएन,” सभापति देउवाले भने, “कांग्रेसभित्रै अनुशासनसहितको आन्तरिक एकता आवश्यक छ ।” उनले कांग्रेस बाम गठबन्धनका कारण नभई आफ्नै कारण पराजित भएको पनि बताए ।
उता, त्रिचन्द्रमा आयोजित कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंह सभापति देउवामाथि खनिए । उनले सभापति देउवाले १३औँ महाधिवेशन भएको दुई वर्ष भइसक्दा समेत केन्द्रीय पदाधिकारी र विभागहरूलाई पूर्णता दिन नसकेको भन्दै आलोचना गरे ।
“१३औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष भइसक्यो । सभापतिज्यूले उपसभापति र महामन्त्री मनोनित गर्न सक्नुभएन । विभागहरूले पूर्णता पाउन सकेको छैन । उहाँले कांग्रेसलाई क्रियाशिल बनाउन सक्नुभएन,” उनले भने । कांग्रेसलाई बलियो बनाउन विधान र नियमअनुसार पार्टी चलाउन पनि सभापति देउवालाई सिंहले सुझाव दिए ।
मेलमिलाप दिवसको अलग्गै कार्यक्रम गरेका नेविसंघ महामन्त्री कुन्दन काफ्लेले केन्द्रस्य समितिको ब्यानरमा आयोजित कार्यक्रम गरिए पनि मेलमिलापबिनाको एकलौटी तय गरिएको कार्यक्रम भएकाले एकथरिमात्र उपस्थित भएको बताए । “नेविसंघभित्र समस्या छ । त्यसलाई समाधान गर्नुपर्छ भन्ने संकेत हाम्रो अनुपस्थिति हो,” महामन्त्री काफ्लेले भने “नेविसंघको केन्द्रीय कार्यक्रम के नेविसंघभित्र मेलमिलापकै त्यही मर्म अनुसारको कार्यक्रम भयो त ? अहिलेको केन्द्रीय नेतृत्वको कार्यशैली विपीको मेलमिलापको भावना ठिक विपरित अगाडि बढिरहेको छ । मुख्य समस्या यही हो ।”
अध्यक्षको कार्यशैलीमाथि आपत्ति जनाउँदै पौडेल समूहका विद्यार्थीहरूले केही दिनअघि सभापति देउवालाई प्रधानमन्त्री निवास बालुवाटार पुगेर ध्यानाकर्षण पत्र नै बुझाएका थिए भने सिटौला समूहले विज्ञप्ति जारी गर्दै अध्यक्ष महरको कार्यशैलीमा असन्तुष्टि व्यक्त गरेको थियो ।
तर, अध्यक्ष महरले भने कार्यक्रममा बोल्दै संगठनको अनुशासन नमान्नेलाई कारवाही गर्न पार्टीले आफूलाई सहयोग गर्नुपर्ने बताए । “पार्टीले सहयोग गर्नुपर्यो । अनुशासन समितिलाई बलियो बनाएर संगठनको केन्द्रीय नीति विपरित गतिविधि गर्नेलाई कारबाही गर्छु,” अध्यक्ष महरले भने ।
आफू जित्न नसक्ने, दोषचाहिँ मलाई : देउवा सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पराजयको जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन् । तर, उनले टिकट लिएर जाने तर निर्वाचन जित्न नसक्नेले आफूमाथि दोष लगाएको भन्दै असन्तुष्टि व्यक्त गरे । नेविसंघले मेलमिलाप दिवसको अवसरमा गरेको ‘आजको सन्दर्भ र राष्ट्रिय मेलमिलाप’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति देउवाले चुनावमा पराजित हुने उम्मेदवारहरूलाई जथाभावी नबोल्न पनि चेतावनी दिए । उनले भने, “पार्टीभित्र मेरो विरोध गर्नेले पनि बुझुन् । चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने ?” आफ्नै कारणले कांग्रेस पराजित भएको बताउँदै उनले हारको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने बताए । स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही नगर्दा अहिले अन्तर्घातका कारण कांग्रेस हारेको पनि उनको भनाइ थियो । केही सिट एमालेभन्दा कम भए पनि कांग्रेस नहारेको उनको भनाइ थियो । उनले आफू निराश नभएको भन्दै अहिलेको परिणामले देश जितेकाले निराश नहुन पनि युवा विद्यार्थीलाई आग्रह गरे । |