गहुँमा ४३ वर्षमा ४४ जातको अनुसन्धान

• ‘भैरहवा लायन ४३४१’ नँया जातको गहुँ आउँदै
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाले ‘भैरहवा लायन ४३४१’ नामक नयाँ जातको गहुँ अनुसन्धानपछि प्रयोगका लागि सिफारिस गरेको छ । कार्यालयले तराईमा निकै प्रचलित नेपाल २९७ जातको गहुँमा खैरो सिन्दुरे रोगको प्रकोप देखिन थालेपछि विगत १ दशकभन्दा बढी समयदेखि ‘नेपाल २९७’ जातको विकल्पमा नयाँ गहुँ जात अनुसन्धान गर्दै आएकोमा यो वर्ष नेपाल २९७ जस्तै ठूला दाना हुने र उस्तै उत्पादन दिने मात्र नभइ खैरो सिन्दुरे रोगले समेत नसमात्ने खालको बीउ अनुसन्धान गर्न सफल भएको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका प्रमुख तथा गहुँबाली संयोजक शेषरमण उपाध्यायले बताए ।
नेपाल २९७ जातको गहुँ तराईमा धेरै लोकप्रिय थियो र तीन दशकदेखि प्रचलनमा थियो । तर, पछि यसमा खैरो सिन्दुरे रोगको प्रकोपले समस्या बढदै गएपछि विकल्पमा यो नयाँ जात अनुसन्धानपछि सिफािरस यसै साता भएको हो । यसको नामांकन ‘भैरहवा लायन ४३४१’ बिउल ४३४१ राखिएको संयोजक उपाध्यायले बताए ।
कार्यालयले नेपाल २९७ जातलाई प्रयोग नगर्न किसानहरूलाई आग्रह पहिलादेखि नै गर्दै आएकोमा अहिले केहीले मात्र प्रयोगमा ल्याउने गरेको पाइन्छ । कार्यालयले लामो समयदेखिको अनुसन्धानपछि किसानमाझ खेतमा लगाउन लगाइ परीक्षणजस्ता कार्य विगत एक दशकभन्दा बढी समयदेखि गर्दै आएकोमा यसै हप्ता माथिल्लो निकायमा सिफारिसका लागि पठाएको थियो । माथिल्लो निकायबाट स्वीकृत भएको र अब प्रजनन बीउबाट मूल बीउ बनाउन कृषि अनुसन्धान स्टेसनहरूमा मूल बीउ उत्पादनका लागि पठाउने तयारी भइरहेको उनले बताए । नेपाल २९७ जस्तै ‘भैरहवा लायन ४३४१’ पनि तराईमा लोकप्रिय हुने उनले बताए । गहुँको जातीय विकास र स्रोत बीउ (प्रजनन स्तरको) अनुसन्धान पछि उत्पादन गरी वितरण गर्ने काम २०३२ सालबाट यो कार्यालयले गर्दै आएको छ ।
कार्यालयले प्रजनन बीउ उत्पादनपछि कृषि अनुसन्धान स्टेसनहरूमा मूल बीउ उत्पादनको लागि प्रजनन बीउ पठाइन्छ । देशैभरका करीब २० वटा अनुसन्धान कार्यालयले मूल बीउ उत्पादन गर्छन् । सो मूल बीउलाई विभिन्न बीउबिजन कम्पनी, कृषि तथा सहकारी कम्पनी, बीउबिजन गर्ने सहकारी तथा निजी उद्योग, अगुवा कृषकहरूले किसानले प्रयोग गर्ने बीउ उत्पादन गरी वितरण गर्छन् । यसरी अनुसन्धानपछि सिफारिस भएको गहुँको नयाँ जात बजारमा आउन कम्तिमा तीन वर्षको समय लाग्छ । ‘भैरहवा लायन ४३४१’को उत्पादन पूर्ण रूपमा बजारमा आउन तीन वर्ष लाग्छ ।
गत वर्ष मुनाल, च्याखुरा, खजुरा ड्युरम–१, खजुरा ड्युरम–२ जातका गहुँको बीउ सिफारिस भएको कार्यालयका प्राविधिक अधिकृत भक्तिराम घिमिरेले बताए । खजुराको दुवैजात पश्चिम नेपालको दाङ, बाँके र बर्दियामा बढी उत्पादन हुने गरेको छ । सुजी बनाउन बढी यो जातको गहुँ प्रयोग हुनेछ । तराईमा गौतम, एनएल ९७१, आदित्य, विजय, तिलोत्तमा, वाणगंगा र भृकुटी बढी प्रचलित जात हुन् । गौतम, आदित्य, वाणगंगा, भृकुटी उत्पादन बढी हुने जात हुन् । विजय जातलाई रोटी खान मिठो र कालोसिन्दुरे अवरोधी जातका रूपमा लिइन्छ ।
पहाडी क्षेत्रमा डब्लू के १२०४, धौलागिरी, डाँफे, स्वर्गद्वारी र मुनाल लोकप्रिय जात हुन् भने हिमाली क्षेत्रका लागि डाँफे उत्कृष्ट हो ।
गहुँ लगाउने समय नजिँकिदै छ । पहाडमा डब्लु के १२०४ र हिमाली क्षेत्रमा डाँफे ढिलो पाक्ने जातका गहुँ हुन् । यस्तै, तराईमा ढिलो पाक्ने प्रजातिमा एनएल ९७१, गौतम र भृकुटी हुन् । ढिलो पाक्ने जातका गहुहरू नोभेम्बर दोस्रो साता र छिटो पाक्ने जातका गहुहरू डिसेम्बर दोस्रो साता भित्र लगाउनु पर्छ । डिसेम्बर दोस्रो साताभित्र लगाइएका गहुँहरूबाट उत्पादनमा ह्रास आउने प्राविधिक अधिकृत घिमिरेले बताए ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाले ४३ वर्षमा ४४ वटा गहुँका जात अनुसन्धान गरी सिफारिस गरिसकेको छ । त्यसमध्ये अहिले खेतीका लागि जम्मा ३१ जात उपयुक्त ठहरिएका छन् । २०३२ सालमा मेक्सिकोबाट जर्मप्लाज्म ल्याएर अनुसन्धान पछि छनौट गरीएको पहिलो जात लेर्ना ५२ हो ।
नेपालमा अहिले ९५ प्रतिशत बढी कृषकले नेपालमै उत्पादन हुने गहुँको विभिन्न जात प्रयोग गर्ने गरेको कार्यालयले जनाएको छ । नेपालमा सन् १९६० बाट गहुँ अनुसन्धान सुरु भएको हो ।