अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे

विश्वभर हवाई यात्रुको संख्यामा ६.५ प्रतिशतले वृद्धि हुँदा नेपालको भने ९.६३ प्रतिशतले वृद्धि भएको छ । सन् २०१६ जनवरीदेखि अक्टोबरसम्म १० महिनाको तुलनामा २०१७ मा ९.६३ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । २०१७ को १० महिनामा अन्तर्राष्ट्रियतर्फ ३१ लाख ११ हजार सय ६३ हवाई यात्रुलाई सेवा दिइएको प्राधिकरणले जनाएको छ । २०१६ मा अन्तर्राष्ट्रिय हवाई यात्रु २८ लाख ३८ हजार २ सय ३८ पुगेका छन् भने २०१७ मा आन्तरिक हवाई यात्रु १९ लाख ९२ हजार ९ सय ३ रहेकोमा २०१६ मा यो संख्या १४ लाख ११ हजार १३ मात्रै थियो ।
वायुयानतर्फ पनि २६.४८ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । जसमा २०१७ को १० महिनामा २७ हजार ४ सय ९ उडान भएका छन् । २०१६ मा २१ हजार ६ सय ७१ उडान भएको तथ्यांक छ । यस्तै, कार्गोतर्फ भने २०१७ को १० महिनामा १६ हजार २ सय २९ टन ढुवानी भएको छ अघिल्लो वर्षमा भने १७ हजार ३ सय ८२ टन कार्गो ढुवानी भएको तथ्यांक छ ।
प्राधिकरणको आम्दानी साढे ५ अर्ब
आर्थिक वर्ष २०७३-७४ मा नागरिक उड्डयन प्राधिकरणले विमानस्थल शुल्कबाहेक ५ अर्ब ५६ करोड ४० लाख आम्दानी गरेको छ । प्राधिकरणको पुँजीगत खर्चतर्फ २७ अर्ब ३५ करोड ४० लाख र कार्य सञ्चालन खर्च ३ अर्ब ४८ करोड ५४ लाख गरी ३० अर्ब ८३ करोड ९४ लाख ब्यय अनुमान गरिएको थियो । तर पुँजीगत खर्च २ अर्ब ३४ करोड ७९ लाख र कार्य संचालन खर्च ३ अर्ब ४३ करोड ९६ लाख गरी जम्मा ५ अर्ब ७८ करोड ७४ लाख रुपैयाँ मात्रै खर्च भएको प्राधिकरणले जनाएको छ ।
बोनस वितरणमा कानुनी समस्या
नेपाल नागरिक उड्डयन प्राधिकरणको १९ औ वार्षिकोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बोनस वितरणमा कानुनी समस्या भएको बताएका छन् । प्राधिकरणले विगत ३ वर्षयता बोनस वितरण गर्नका लागि विभिन्न चरण पार गर्दै आए पनि हालसम्म पनि वितरण भने हुन सकेको छैन । नाफा गरेपछि बोनस पाउनु पर्दछ, तर प्राधिकरणको हकमा केही कानुनी समस्या रहेको समेत सचिव न्यौपानेले बताए । १९ औ वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले हवाई सुरक्षा र सेवा विस्तारमा नै ध्यान केन्द्रित रहेको बताए । “अहिले पूर्वाधार निर्माणमा हाम्रो ध्यान केन्द्रित छ,” गौतमले भने । कार्यक्रमा वायुसेवा सञ्चालक संघ (आयोन)का अध्यक्ष पवित्रकुमार कार्कीले विमानस्थलमा पूर्वाधार विस्तार नहुँदा निजी वायुसेवाले ठूलो नोक्सानी बेहोर्नु परेको गुनासो गरे ।