हरियाली सहर कि प्रकृति दोहन ? «

हरियाली सहर कि प्रकृति दोहन ?

सगरमाथाबाट सङ्कलित फोहोरको व्यवस्थापनका प्रक्रियासम्म आइपुग्दा वातावरणीय प्रदूषणका विषय भयावह बन्दै छन् ।

जब धूलो, फोहोरमैलाको उरुङ चुलिन थाल्छ तब छेपाराको घर बनाउने कथा सुरु हुन्छ । अदूरदर्शी सोचमा अव्यवस्थित सहर विस्तार अर्कातिर सार्वजनिक स्थानका स्मार्ट शौचालयका योजनासँग हरियाली वातावरणका विषय गफमा निकै मार्मिक बन्छन् । काठमाडौँजस्तो घना बस्ती बाक्लिसकेको सहरमा स्मार्ट सिटी निर्माणका बहस टेबलमा, कागजमा मात्र सम्भव हुने लाग्दैन ? के सुन्दर सहरको संरचनाका लागि यहाँका कसैको कुनै घर या बस्तीलाई सार्न सकिएला ? समस्या घटाउने वाचामा मान्छे उराल्ने रणनीतिलाई पनि कुराजनीतिको रोग लाग्छ । वर्षायाममा फोहोर व्यवस्थापन, प्रदूषण नियन्त्रणका कुरा हराउँछन् । घरभित्र फोहोर कुहिएर फोहोरको गाडीको प्रतीक्षा गरिरहने हद नाघेपछि खुला स्थानमा उरुङ लाग्छ । देखिन्छ नि, ‘यहाँ फोहोर फालेमा यस्तो कारबाही हुनेछ, यति जरिवाना हुनेछ अर्थात् जथाभावी फोहोर फाल्ने मानिस असभ्य हो ।’ बिचरा एक महिनासम्मको फोहोरको पोको आफ्नै कोठामा कुहाएर कति सभ्यता टिकाउला मानिसले ? काठमाडौँ, विराटनगर, जनकपुरजस्ता कतिपय नेपालका सहरमा फोहोर व्यवस्थापन मात्रै पनि वातावरण संरक्षणको एउटा आधार बन्न सक्छ । काठमाडौँमा मात्रै १० लाख बढी प्लास्टिक प्रयोग हुने अनुमान गरिन्छ । सामान्य अवस्थामा एउटा घरमा ५ देखि १० केजीसम्मका बोतल, फोहोरजन्य पदार्थ फाल्ने तथ्याङ्कको नतिजासँगै हाम्रो देशमा दैनिक प्लास्टिकजन्य फोहोर मात्रै २ सय ४ टन हुने फोहोरमैला प्राविधिक सहयोग केन्द्रको तथ्याङ्कलाई केलाउन सकिन्छ ।
संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय ऐक्यबद्धता जाहेर गरेका सुन्दर खबरका बीचमा सुन्दर देश नेपाल आपूm दोषी नहुँदा समेत जलवायु परिवर्तनको सिकार बनिरहेको छ । बुद्धिजीवी, सचेतकको बृहत् छलफलका क्रममा उक्त सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जुन १९७३ देखि विश्वमा वातावरण दिवसलाई अन्तर्राष्ट्रिय स्तरबाटै अङ्गीकार ग¥यो । यता नेपाल सरकारले आर्थिक वर्ष २०७५/०७६ लाई ‘राष्ट्रिय सरसफाइ अभियान वर्ष’ का रूपमा मनाउने घोषणा पनि गरेको छ । विडम्बना, फोहोरले सडकको नाली थुनिन्छ, वार्षिक करिब २२ अर्ब बराबरको प्लास्टिक आयात गर्ने नेपालको अवस्थासँगै अन्य विकसित देश पनि यसबाट अछुतो त छैनन् । तर, व्यवस्थापन कि विकल्प भन्ने विषय आपैmँमा रहस्यात्मक छ । नेपालका पाल्पा, इलाम, दमक लगायतका केही जिल्लाले २० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलालाई निषेध गरेको पाइन्छ । स्वच्छ श्वासमा हावा लिएर वातावरणसँग रमाउन चाहनु मानिसको मात्र पेवा÷रहर होइन । सारा जीव प्रकृतिकै उपज हुन् । तिनलाई पनि स्वतन्त्र बाँच्न पाउने अधिकार यो प्रकृतिले दिएको हो । फोहोरको टोकरीरूपी यो धर्तीमा मानिस वास्तविक सबैको बाधक बन्दै छ । प्रकृति संहारक मान्छेले आफ्ना लागि यो सुन्दर प्रकृतिलाई नरक त बनाएकै छ, साथमा सजीव प्राणीको अस्तित्वमा समेत प्रहार गर्दै छ । यहाँ हावा, पानी, माटो, स्वच्छतालाई पैसाले किन्नुपर्ने चिज बनाइरहिने हो भने सजीव प्राणीको अस्तित्व कसरी सम्भव रहला ?
सगरमाथाबाट सङ्कलित फोहोरको व्यवस्थापनका प्रक्रियासम्म आइपुग्दा वातावरणीय प्रदूषणका विषय भयावह बन्दै छन् । बेलाबेलामा वातावरणीय संरक्षणका नीतिलाई अगाडि सार्दै २० वर्ष पुराना यातायातका साधनलाई विस्थापन गर्नेदेखि प्लास्टिकको झोला उत्पादनका कडाइ गर्नेसम्मका योजनालाई अघि सार्दै प्रदूषण परीक्षणका नीतिगत आधारलाई पनि तय गरिएका खबर आउँछन् । एक झ्वाँकमा आएर बिलाउँछन् । हामी सन्ततिलाई शिक्षित बनाएर प्रकृतिलाई जोगाउन सिकाउने विषयलाई उत्तम मान्नै छोड्यौँ । मानिस, प्रकृति र जीवको सहसम्बन्ध किताबमा सीमित हुन्छ । यहाँ ‘क्लिन सिटी’को भाषण भइरहँदा राजधानीमा ८९.५ प्रतिशत वायु प्रदूषण डिजेलबाट चल्ने गाडीबाट हुने साथै उद्योगको अस्तव्यस्तता र पुराना मेसिन, अव्यवस्थित बसोबास, मानवीय लापर्वाही आदि गन्जागोल धूलमाडौँका कथा उस्तै लाग्छन् । विश्वले परिवर्तनका अनेकौँ स्वरूप अपनाएर दगुरिरहँदा हाम्रो मुलुकमा दसैँको मुखमा डिजेल, पेट्रोल, ग्याँसमा झनै महँगी बढिरहेको छ । विश्वमा शून्य प्रदूषण परियोजनाका नीति तथा कार्ययोजनाहरू तय भइरहेका छन् । सोचौँ, बेलायतले सन् २०४० देखि, स्कटल्यान्ड, नेदरल्यान्ड, चीन, भारत र फ्रान्सले २०३० देखि, नर्वे र अस्ट्रेलियाले २०२५ देखि, फिनल्यान्डले २०३९ देखि डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनमा रोक गरी विद्युतीय सवारीको अवधारणा तथा अत्याधुनिक प्रदूषणरहित सवारी साधन प्रयोग गर्ने नीति सार्वजनिक गरिसकेका छन् ।

आरोग्य र स्वस्थताको चिप्लो भाषण छाँट्ने तर हरिया पहाडलाई सुकेनास लगाएर वन्यजन्तुलाई सुकुम्बासी बनाउँदै स्वतन्त्र पन्छीलाई शरणार्थी बनाउने मानिसको दुष्चरित्रमा सुधारको शङ्ख ध्वनि बजाउनु आवश्यक छ । प्राणी अस्तित्वरक्षाको बाटो खन्नु जरुरी छ ।

अर्काको देशमा घुमेपछि यहाँको परिकल्पना गर्ने तर अव्यवस्थित सहरका घरैको घना जङ्गलमा कुनै रूख रोप्ने परिकल्पना दिवास्वप्न लाग्दैन । एउटा भत्केको धुलाम्मे रोड बनाउन वर्षौं कुर्नुपर्ने गफाडी नीतिमा विकासको गति कति तीव्र होला । हरियाली सहर बनाउन भन्दै वन फडानी गर्ने सोच र कल्पनामा कमसेकम सुन्दर, सफा र व्यवस्थित सहर बनाउने पाटोमा सचेतना छ र ? हिजो गाडीको हरनले कान खाने सहरमा केही राहतको महसुस गरिरहँदा नीति नै बलियो हुनुपर्ने रहेछ । सहरीकरणको दीर्घकालीन सोच नहुँदा आज काठमाडौँले भोगेको दुरवस्थाबाट मुलुकका अन्य सहरले पाठ सिकेर बेलैमा सचेत बन्नुपर्छ । काठमाडौँमा एक हप्ता फोहोर नउठ्दाका पीडा, हैजाको भय, रोग वृद्धि हुने पिरलो जस्ता समस्याका चाङ देखा पर्छन् । नेपाल वातावरण प्रदूषण गर्न माहिर देश भइरहँदा विश्वसम्पदा सूचीका हाम्रा धरोहरहरू वसन्तपुर दरबारदेखि पाटन दरबार स्क्वायरजस्ता क्षेत्रहरूलाई उक्त स्थानबाट च्युत हुनुपर्ने हो कि भन्ने भयसँग वर्तमान सरकार कति सचेत छ ?
वैज्ञानिक बस्ती तथा ढल व्यवस्थापनको साटो भद्रगोल सहरको दुरावस्थाको दबदबामा हरेक खुला सडक दुर्गन्धित र सौन्दर्यहीन लाग्छन् । गाउँका स्वच्छ पाखा पखेरीमा थोत्रा, पुराना जुत्ताचप्पल, प्लास्टिकले अलिअलि विस्तारवादी नीति लिएर दौडिँदै गर्दा पाटी, वनभोज या शुभ–अशुभ कार्यहरूमा सर्वश्रेष्ठ प्राणी मानिसले प्रकृतिका गर्भमा फोहोरपदार्थ फाल्नुलाई मन सानो पार्दैन, मान्छे । सिसा, टिनजन्य प्रकृतिका अपाच्य पदार्थलाई बिनाहिचकिचाहट मिल्काउने आधुनिक आडम्बरमा गमक्क पर्ने मानिसले आपूmलाई प्रकृति विध्वंसक हुँ भन्न चाहँदैन ! हाम्रो सनातन संस्कारले सिकाएको वृक्षारोपण, प्रकृति संरक्षण तथा प्रकृति पूजादेखि आजका पढाइने विषयमा राखिएका विषय भाषण, पढाइ र भावनामा अल्झिरहेकै छन् ।
विकास र परिवर्तनका नाममा कृत्रिमताको ढोल मात्र पिटेमा पुस्तौँपुस्ताले प्रकृतिको सजाय भोग्नुपर्ने कुरामा बोध हुनुपर्छ । वर्तमान सन्दर्भमा वायु, भूमि, ध्वनि र जलप्रदूषणको मुस्लोले मुलुकका लाखौँ मानव शरीरका अङ्गप्रत्यङ्ग मक्काउँदै छ । आज मानवीय सुविधाका लागि विकसित वैज्ञानिक सामग्रीको उचित उपयोग तथा फोहोरजन्य सामग्रीको व्यवस्थापनमा दर्बिलो तौरतरिका नहुँदा कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडजस्ता ग्यासको मात्रा बढेर अनगिन्ती थाहै नपाएका डरलाग्दा रोग जन्मिरहेका छन् । यो हाम्रो देशको मात्र दोष होइन तर हामी जलवायु परिवर्तनको सिकार बनिरहेकै छौँ । यहाँका सेताम्मे हिमाल पग्लिरहेका छन् । कतै दाना नलागेका मकै उब्जेका घटना कतै बीउ नउम्रिएका पीडा सुनिन थालिएका छन् । हाम्रोजस्तो विकासोन्मुख मुलुकमा समेत खाद्यचक्रको असन्तुलन हुनु, तापक्रमको वृद्धि हुनु, हिउँ पग्लिरहनु अर्थात् दैनिक जीवनका लागि अपरिहार्य पारिस्थितिक पद्धति खलबलिनुले चुनौती बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्