बालाजु–तारकेश्वर क्षेत्रलाई पर्यटकीय बनाइने «

बालाजु–तारकेश्वर क्षेत्रलाई पर्यटकीय बनाइने

प्रतिनिधि सभाका सदस्य एवं नेकपा पार्टीका सांसद रामवीर मानन्धरले बालाजु–तारकेश्वर क्षेत्रलाई काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बनाउने सरकारको लक्ष्यमासाथ दिन सम्बन्धित निकाए र स्थानीयवासीलाई आग्रह गरेका छन् । शनिबार सम्पन्न तारकेश्वर नगरपालिका–५ स्थित हरियाली समाजको दोस्रो वार्षिक साधारणसभामा सांसद मानन्धरले यस्तो आग्रह गरेका हुन् ।
यहाँका प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र स्थानीय उत्पादनको उचित उपयोग एवं प्रवद्र्धन गरी उपत्यकाकै आकर्षक नमुना पर्यटकीय हब बनाउने कार्यमा आफूहरू निरन्तर लागिपरेको बताउँदै उनले अहिलेसम्म त्यसै खेर गइरहेका वस्तु एवं प्राकृतिक, ऐतिहासिक धरोहर र धार्मिक सम्पदाको उचित उपयोगको माध्यमबाट सजिलै आन्तरिक एवं विदेशी पर्यटक भिœयाउन सकिने दाबी गरे । अहिले यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि तारकेश्वर नगरपालिकाले स्थानीयवासीको सहकार्यमा केही काम गरेको जानकारी गराउँदै उनले यस नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यस्थलहरूको प्रवद्र्धनसँगै नयाँ ठाउँको पूर्वाधार विकासलाई अघि बढाएर पर्यटक आकर्षित गर्न सकिने बताए ।
अहिलेसम्म यहाँका स्थानीयवासीको सक्रियतामा व्यवस्थित बस्ती विकास र सडक स्तरउन्नतिका काम पनि विस्तारै अघि बढेको जानकारी गराउँदै उनले अब स्थानीय सरकारले जन अपेक्षा अनुरूप अघि बढ्न सक्यो भने मात्र समृद्ध मुलुक र सुःखी नेपालीको लक्ष्यमा सजिलै पुग्न सकिने बताए । जसकालागि अझै सरकारले अपेक्षा अनुरूप काम गर्न नसकेको भन्दै उनले २०७२ सालमा गएको विनासकारी महाभूकम्पको चपेटामा परेका भूकम्प पीडितले तीन वर्षसम्म पनि घर बनाउने पैसा नपाएकोमा आफूलाई निकै दुःख लागेको बताए । उनले आवस्यक कानुनको अभावले अहिलेसम्म भूकम्प पीडितमाथि यस्तो अन्याय भएको बताए ।
३ नं. प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठले पनि अहिले बालाजु–तारकेश्वर क्षेत्रलाई राजधानीकै पर्यटकीय आकर्षणको हब बनाउन यस प्रदेश सरकारले पूर्वाधार विस्तार एवं सम्भावित पर्यटकीय गन्तव्यस्थलको खोजी र डपिीआर बनाउनका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनले तारकेश्वर नगरपालिकाको ४÷५ वडामा देखिएको खानेपानी व्यवस्थापनको समस्यालाई लिएर ३ नं. प्रदेश सरकारले ५० लाख रुपैयाँको बजेट विनियोजन गरेको जानकारी गराए । उनले अब यस क्षेत्रलाई खानेपानी समस्या मुक्त क्षेत्र बनाइने दाबी गरे । यसैगरी, उनले ३ नं. प्रदेशमा निर्माण कम्पनीहरूसँग सम्झौता भएका सबै सडक निर्माण कार्य समयमा नै सम्पन्न गर्नका लागि पनि यस प्रदेश सरकारले निर्देशक दिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्