‘प्रदेश नम्बर दुई समृद्ध अभियान’ सुरु «

‘प्रदेश नम्बर दुई समृद्ध अभियान’ सुरु

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु रावतले देश संघात्मक संरचनामा गैसकेपछि ‘प्रदेश नम्बर दुई समृद्ध अभियान’ सुरु भएको कुरा बताएका छन् । धनुषा चेम्बर अफ कमर्सको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् ।
आफ्नो ठाउँको समृद्धिको अभियानका लागि केन्द्रीय सरकारमा भर पर्नुपर्ने बिगतको राज्य–व्यवस्थाको कारण देशपछि परेको कुरा उल्लेख गर्दै उनले अबको समृद्ध प्रदेश बनाउने अभिभारा आफूहरूको काँधमा आएको कुरा बताए । त्यसका लागि अब प्रदेश भित्रका सम्पूर्ण साधन–स्रोतको उचित पहिचान गरी समुचित वितरण र परिचालन समेत गरिने कुरा पनि मुख्यमन्त्री राउतले बताए ।
प्रदेश नम्बर दुईका उद्योगी–व्यापारीहरू आफ्नो प्रदेशको गहना भएको कुरा उल्लेख गर्दै राउतले भने, “यस प्रदेश भित्रका तपाई सम्पूर्ण उद्योगी–व्यापारीहरूले गर्ने सम्पूर्ण लगानीलाई आफ्नै प्रदेशमा केन्द्रित गर्नुहोस् र त्यसको लागि उचित वातावरण प्रदेश सरकारले बनाउनेछ ।” साथै उद्योगी–व्यवसायी र प्रदेश सरकारको सहकार्यले मात्रै प्रदेश समृद्धिको अभियान सार्थक हुने तर्क मुख्य मन्त्री राउतको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषि, पर्यटन र उद्योगको क्षेत्रमा अब प्रदेशले फड्को मार्नुपर्ने कुरा बताए । यस प्रदेशभित्रका उद्योगी–व्यवसायीहरूले प्रदेश सरकारसँग मिलेर कृषि, उद्योग र पर्यटनको क्षेत्रमा लगानीका लागि वातावरण बनाउनलाई आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न उनले अपिल गर्दै उनले अन्तर्राष्ट्रिय पहुँचको कोणबाट प्रदेश नम्बर दुई सबैभन्दा सहज स्थितिमा रहेको भन्दै भने, “आन्तरिक पर्यटनको प्रबद्र्धन, कृषिमा आधुनिकीकरण र उद्योगमा वैज्ञानिकीकरण गर्न सके आन्तरिक तथा बाह्य लगानीको वातावरण बन्दै जाने र त्यसले प्रदेश नम्बर दुईलाई देशकै समृद्ध प्रदेशको रूपमा स्थापित गर्न सकिन्छ ।” यसका लागि आफूहरूले नेपाल चेम्बर अफ कमर्सको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने पनि श्रेष्ठको भनाइ थियो ।
धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर शाह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका सभापति दीपक मल्होत्रा, नेपाल चेम्बर अफ कमर्स प्रदेश नम्बर दुईका संयोजक शंकर जलन, तथा चेम्बरकै केन्द्रीय सदस्यद्वय सन्तोष पाण्डे र राम श्रेष्ठको समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्