विकासशील देशमा बिमाको पहुँच वृद्धि चुनौतीपूर्ण «

विकासशील देशमा बिमाको पहुँच वृद्धि चुनौतीपूर्ण

विकासशील राष्ट्रका नियामक, बिमा र पुनर्बिमा कम्पनीहरूको संगठन (एआईआरडीसी) २१ औं सम्मेलन गत साता काठमाडौंमा सम्पन्न भयो । ‘वित्तीय सुदृढीकरण : विपत् जोखिम वित्तीय व्यवस्थापन र बिमा’ भन्ने नाराका साथ भएको कार्यक्रममा दुई दिनसम्म बिमाका विभिन्न पाटोमा छलफल तथा विचार विमर्श भए । विशेष गरी महाविपत्तिपछि इस्योरेन्स कम्पनीको भूमिका र कम्पनीहरूले भोग्नुपर्ने चुनौतीका विषयमा छलफल केन्द्रित भएको थियो । सम्मेलन विकासोन्मुख देशमा मानवसिर्जित तथा प्राकृतिक विपत्तिपछिको जोखिम उत्तिकै रहेको र विपत्तिपछिको क्षतिमा बिमाको जोखिमलाई न्यूनीकरण गर्ने विषयमा एक–अर्काको अनुभव आदानप्रदान भयो । यसैगरी विकासशील मुलुकमा बिमा व्यवसायको वृद्धिका लागि महत्वपूर्ण भूमिका रहेको सहभागीहरू बताउँछन् । विशेष गरी विकासोन्मुख देशहरूमा बिमाको पहुँच बढाउनका लागि सरकार र नियामक निकायले लिनुपर्ने नीति, बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीहरूको भूमिकाका विषयमा पनि छलफल केन्द्रित रह्यो । यसैगरी बिमाको पहुँच बढाउनका लागि बिमा कम्पनीहरूले प्रदान गर्ने सेवामा आधुनिक प्रविधिको प्रयोगका विषयमा पनि छलफल भयो । ८८ मुलुकका प्रतिनिधिसहित १८ मुलुकका बिमा तथा पुनर्बिमा कम्पनीका ४ सय जना सहभागी रहेको सम्मेलनमा विपत्तिपछिको क्षतिमा बिमाको जोखिमलाई न्यूनीकरण गर्ने विषयमा विभिन्न देशका अनुभव आदान प्रदानसमेत भए । विशेषगरी विश्वमा प्राकृतिक तथा मानवसिर्जित महाविपत्तिका कारण ठूलो जनधनको क्षति हुने गरेको र यसका लागि इस्योरेन्स कम्पनीको भूमिका कसरी प्रभावकारी बनाउने विषयमा पनि सहभागीहरू छलफलमा केन्द्रित रहे । महाविपत्तिको समयमा इस्योरेन्स कम्पनीहरूलाई एकै पटक आर्थिक भार पर्ने र त्यस अवस्थामा इस्योरेन्स उद्योगलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा पनि कार्यपत्र प्रस्तुति तथा छलफल भयो । छलफलका विषयहरू विकासकोन्मुख राष्ट्रहरूमा बिमाको जोखिम कम गर्न, बिमाको पहुँच र प्रभावकारिता बढाउन महत्वपूर्ण रहने बताइएको छ । बिमा समिति र नेपाल इस्योरेन्स एसोसिएसनको संयुक्त आयोजनामा भएको सम्मेलनमा व्यक्त भएका विभिन्न विज्ञहरूको धारणालाई हामीले यहाँ प्रस्तुत गरेका छौं :

बिमा साक्षरता आवश्यक
भोजराज शर्मा
सल्लाहकार, बिमा समिति
नेपालमा धेरै प्राकृतिक तथा मानवसिर्जित विपत्तिका जोखिम छन् । त्यसमध्ये सबैभन्दा बढी भूकम्पको जोखिम हो । हामीले सन् २०१५ को महाभूकम्पबाट धेरै क्षति बेहोरेका छौं । पछिल्लो भूकम्पमा परी १० हजार सर्वसाधारणले ज्यान गुमाए । ग्रामीण तथा सहरी भेगमा धेरै घरमा क्षति भयो । कृषि, पशुपन्छी तथा खाद्यान्नको पनि क्षति भयो । हाम्रो अर्थतन्त्रको एकतिहाइ अंश क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । महाभूकम्पका कारण मानवीय तथा भौतिक क्षति धेरै भए पनि त्यसले बिमा कम्पनीहरूमा धेरै असर गरेन । भूकम्पमा परी मृत्यु भएकामध्ये थोरै व्यक्तिको मात्र जीवन बिमा थियो । यसैगरी सम्पत्तिको पनि कम मात्र बिमा भएकाले बिमा कम्पनीलाई गार्हो भएन । कम्पनीहरू समयमै दाबी–भुक्तानी दिए । नेपालमा बिमाको पहुँच एकदम कम भएकाले पनि यो अवस्था आएको हो ।
नेपालमा भूकम्पपछि अर्को ठूलो जोखिम बाढी हो । धेरै पहाडी तथा हिमाली क्षेत्र भएकाले पहिरोको जोखिम छ । पहिरोका कारण पहाडी क्षेत्रमा नदीको बहाव छेक्ने र त्यो एकैपटक खुल्दा ठूलो क्षेत्रमा बाढीले ठूलो क्षेत्रमा असर पर्ने देखिन्छ । गत वर्ष पनि बाढीका कारण तराई क्षेत्रमा ठूलो क्षति बेहोर्नुपर्यो । नेपालको अर्को जोखिम भनेको हिमताल फुट्ने र यसबाट आउने बाढी पनि नेपालको जोखिम हो ।
नेपालमा अहिले हामीसँग मुख्य गरी दुईवटा चुनौती छन् । बिमाको पहुँच बढाउनुपर्ने र ग्रामीण भेगमा बस्ने गरिब वर्गलाई बिमाको दायरामा ल्याउने । बिमाको पहुँच बढाउनका लागि जनचेतना बढाउनुपर्नेछ । यसका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम सुरु गरेका छौं । बिमा शिक्षा र साक्षरताका कार्यक्रम सञ्चालन गरिरहेका छौं । यसैगरी गरिब तथा तल्लो वर्गका मानिसलाई बिमामा ल्याउनका लागि लघुबिमा कार्यक्रम पनि सुरु गरेका छौं । बिमा कम्पनीहरूलाई जिल्ला तोकेर ग्रामीण क्षेत्रसम्म पुराउने प्रयासमा लागिरहेका छौं । माइक्रोफाइनान्स कम्पनीसँग मिलेर लघुबिमा पुराउने काम भइरहेको छ । यसैगरी ठूला बैंक तथा वित्तीय संस्थासँग बैंकास्योरेन्स सम्झौता गरेर पनि बिमाको पहुँच बढाउन लागिरहेका छौं ।
नेपालमा आतंककारी गतिविधि जोखिममा हुने इस्योरेन्सका लागि रि–इस्योरेन्स गर्न कम्पनीहरूले चासो देखाएनन् । त्यसका लागि नेपाल इस्योरेन्स एसोसिएसनको अगुवाइमा पुल निर्माण गर्येउ । यसका लागि सरकारले पनि सहयोग गर्यो, जसबाट अहिले नेपाल रि–इन्स्योरेन्स कम्पनी निर्माण भयो । यो अरू देशका लागि पनि उदाहरण हुन सक्छ । यस्तै कृषिक्षेत्रमा बिमा कार्यक्रम प्रभावकारी बनाउन वातावरणका आधारमा बिमा योजनाहरू सुरु गरेका छौं । यसका लागि एक–दुईवटा कम्पनीहरूले काम सुरु गरेका छन् । यसका लागि अन्य कम्पनीहरूलाई पनि प्रोत्साहन गरिरहेका छौं ।

लघुबिमा बढाउनुपर्छ
डा. जगथ आलविस
विमाविज्ञ, श्रीलंका
विकासशील मुलुकहरूमा बिमाको पहुँच र प्रभावकारिता बढाउनका लागि लघुबिमाको अत्यधिक महत्व छ । तर, यसको सञ्चालन लागत अत्यधिक हुने गरेकाले यसको सञ्चालन भने अप्ठ्यारो छ, जसलाई बिमाको आवश्यकता छ र तिनीहरूको पहुँचमा बिमा पुगेको छैन, त्यसलाई सम्बोधन गर्ने बाटो नै लघुबिमा हो । लघुबिमाको माध्यमबाट मूलधारको बिमाको पहुँचमा आउन नसक्ने गरिब तथा तल्लो वर्गलाई समेट्नुपर्ने आवश्यकता हो । तर, अहिलेसम्म जसका लागि लघुबिमाको आवश्यकता छ, उसको पहुँचसम्म हामीले पुराउन सकेका छैनौं । श्रीलंकामा लघुबिमाको सुरुवात गरे पनि नेपालको जस्तो सफल देखिएको छैन । कतिपय अवस्थामा यो अलि महँगो पनि हुन्छ । वितरण प्रणाली अत्यन्तै कठिन छ । ग्रामीण भेगमा एउटा बिमा लेख बिक्री गर्न धेरै समय खर्च गर्नुपर्ने भएकाले यसमा काम गर्न गार्हो भएको हामीले अनुभव गरेका छौं ।
श्रीलंकामा अहिले मोबाइल बिमा कार्यक्रम सफल भएको छ । सेवाक्षेत्रका कर्मचारी, ट्याम्पु ड्राइभर, किसानलगायतका वर्गलाई यो बिमाले समेटेको छ । तर, अझै पनि यो बिमा कार्यक्रम आवश्यक सबैको पहुँचमा पुराउन सकिएको छैन । यसको प्रिमियम न्यून हुने भएकाले इन्स्योरेन्स एजेन्टहरूले यो बिमा लेख बिक्री गर्न खासै चासो देखाउँदैनन् । यसको सञ्चालन लागत पनि उच्च छ । ग्रामीण तहसम्म पुग्न नसक्नु अझै पनि चुनौती छ । यसलाई प्रभावकारी बनाउनका लागि हामीले विभिन्न पेसा समूहका संगठनहरूसँग मिलेर काम गरिरहेका छौं । महिला, कृषक, ड्राइभर, माछापालनलगायतका एसोसिएसनसँग सहकार्य गरी बिमा कार्यक्रम सञ्चालन गरिरहेका छौं ।

विकासशील देशहरूको दाबी भुक्तानी राम्रो छ
डा. रोजर सेलेक
प्रमुख कार्यकारी अधिकृत (एसिया प्यासिफिक),
एम बेस्ट रेटिङ सर्भिस
बिमा उद्योगमा बढ्दो प्रतिस्पर्धासँगै कम्पनीहरूको रेटिङको महत्व बढ्दै गएको छ । हामीले ८४ देशका ३ हजार ४ सय ९५ वटा कम्पनीको रेटिङ गरेका छौं भने २ हजार ८ सय ६४ वटाको भने अन्य कम्पनीहरूले गरेका छन् । हाम्रो रेटिङका आधारमा भन्न सक्छौं, विकसित मुलुकभन्दा विकासशील देशहरूमा बिमाको दाबी भुक्तानी राम्रो छ । विकासशील देशहरूले ४५ प्रतिशतसम्म दाबी भुक्तानी दिएका छन् भने विकसित देशहरूले बढीमा २५ प्रतिशत मात्र दिएको पाइन्छ ।
देशकोे जोखिम बिमाकर्ताहरूको आफ्नो वित्तीय दायित्व तिर्न सक्ने क्षमतामा निर्भर गर्छ । कन्ट्री रिस्कभित्र आर्थिक, राजनीतिक र वित्तीय व्यवस्था प्रणालीको जोखिमको अध्ययन हुन्छ । त्यसमध्ये पनि आर्थिक जोखिमभित्र म्याक्रोइकोनोमी प्रस्पेक्ट र गभर्मेन्ट फाइनान्स पर्छ भने राजनीतिक जोखिमभित्र व्यापारको वातावरण, स्थिर सरकार, सामाजिक स्थिरता र कानुनी व्यवस्था पर्छ । त्यसैगरी फाइनान्सियल सिस्टमभित्र बैंकिड व्यवस्था, रिपोर्टिङ स्ट्यान्डर्ड एन्ड रेगुलेसन, सरकारी ऋण, सरकार र उसको कानुनी व्यवस्था, अनुगमन निकाय र इन्स्योरेन्स कम्पनीहरूको उत्तरदायित्व पर्छ । एसिया क्षेत्रमा सबैभन्दा कम जोखिम भएको देश अस्ट्रेलिया, जापान र दक्षिण कोरिया रहेका छन् । मध्यम खालको जोखिम भएका देशहरूमा चीन, ताजकिस्तान र थाइल्यान्ड छन् भने सबैभन्दा बढी जोखिम भएका देशहरूमा नेपालसहित मंगोलिया, म्यानमार, कम्बोडिया र भुटान छन् ।
व्यावसायिक आवश्यकताका लागि बिमा व्यवसायमा विभिन्न क्षेत्रको प्रवेश भयो, जसमा ब्रोकरहरूले समेत व्यापार गरे, त्यसले गर्दा पुनर्बिमा र बिमामा ठूलो व्यापारिक जोखिम भएको छ । यही जोखिम कम गर्दै बिमा उद्योगलाई सबल बनाउन रेटिङ महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय र क्षेत्रीय रूपमा विश्वसनीयताको आवश्यकता छ । त्यसका लागि बिमा कम्पनीहरू एक–आपसमा गाभ्नका लागि पुँजीवृद्धि गर्न तथा पुनर्बिमाको खरिदका लागि पनि रेटिङले सहजीकरणको काम गर्छ । यसैगरी संस्थागत सुशासन, विकासको, बाह्य समर्थन र कम्पनीको प्रगति देखाउन पनि रेटिङ महत्वपूर्ण हुन्छ ।

प्रविधिमा आधारित सेवा दिनुपर्छ
जिम्मी मोलिनक्स
बिमाविज्ञ
आमसर्वसाधारणलाई बिमाको पहुँच बढाउन र बिमा उद्योगलाई प्रतिस्पर्धी बनाउनका लागि यसको लागत घटाउनु अहिलेको मुख्य एजेन्डा हो । त्यसैले बिमाको पहुँच बढाउन र लागत घटाउन लागि बिमा कम्पनीहरूले आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ । कम्पनीहरूले बिमा लेख जारी गर्न, बिमा शुल्क संकलन गर्न र दाबी भुक्तानी गर्नका लागिसमेत आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ । प्रविधिको प्रयोगबाट लागत घटाउँछ भने सेवाग्राहीले सहज रूपमा सेवासमेत पाउँछ ।
बिमा कम्पनीले प्रविधिको प्रयोग गरेमा बिमा योजना जारी गर्न, समयमा दाबी भुक्तानी गर्न, बिमा शुल्क संकलन गर्न सहज, सरल र छरितो हुनेछ । विकासशील राष्ट्रहरूले त अझ प्रविधिमा केन्द्रित गर्नु आवश्यक छ । बिमा लेख खरिद गर्नका लागि सरलीकृत गराउनका लागि प्रविधिको प्रयोग महत्वपूर्ण हुन्छ । प्रविधिको प्रयोगबाट कम विकसित राष्ट्रहरूमा अवरोधहरू पनि कम हुन्छ । बिमा क्षेत्रले प्रविधिको उचित प्रयोगका लागि बैंकसँग मिलेर काम गर्न सक्छन् । बैंकको एटीएम मेसिनलगायतका उपकरण प्रयोग गरी बिमा लेख जारी, प्रिमियम संकलन र दाबी भुक्तानी समेत सजिलो बनाउन सकिन्छ ।
प्रविधिको प्रयोगबाट बिमा लेख खरिद गर्न सजिलो, छिटो र समयको पनि बचत हुने भएकाले यसबाट बिमाको पहुँच बढाउन सकिन्छ । विकासशील देशमा बिमा लेख खरिद गर्नका लागि धेरै समय खर्चिनुपर्ने बाध्यता छ । यसलाई घटाउने उपाय भनेको प्रविधिको प्रयोग हो । यसैगरी बिमितहरूले प्रिमियम तिर्न र दाबी भुक्तानी लिनका लागि समेत प्रविधिको प्रयोग गर्न सकेमा सजिलो हुन्छ भने बिमा कम्पनीको लागत पनि घट्छ ।

प्रतिक्रिया दिनुहोस्