नेकपा विवादः संसद्देखि सामाजिक सञ्जालसम्म «

नेकपा विवादः संसद्देखि सामाजिक सञ्जालसम्म

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद संसद्देखि सामाजिक सञ्जालसम्म छरपष्ट भएको छ । प्रदेश संयोजक चयन र सरकार सञ्चालनका विषयमा रहेको नेकपाको विवाद पछिल्ला केही दिनयता सतहमा आएका हुन् ।
सरकारले अपेक्षाअरूपको काम गर्न नसकेको, महँगी नियन्त्रण गर्न नसकेको, दशैंको मुखमा यातायात भाडा वृद्धी गरेको, अपराधको ग्राफ बढिरहँदा दोषीको पहिचान र कारबाही गर्न चुकेको अरोप प्रधानमन्त्री केपी शर्मा ओली माथि लागिरहेको छ । योसँगै पार्टी एकता पश्चात तल्लो तहको एकिकरण र प्रदेश कमिटीको जिम्मेवारीका विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले खुलेरै नेतृत्वको आलोचना गरिरहेका छन् ।
विहीबार संसद बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सरकारको चर्को आलोचना गरेपछि नेकपाको विवाद सतहमा आएको हो । उनले सरकारको कार्यशैलीका कारण सांसदहरूले शीर निहुराएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताएका थिए । बुधबारको बैठकमा नेकपाकै सांसद विरोध खतिवडाले सरकारको कार्यशैलीका कारण मुख देखाएरै हिँड्न लाज भएको बताएका थिए ।
शुक्रबार नेपालले चियापान कार्यक्रम भन्दै स्थायी समितिको भेला बोलाएपछि ओलीपक्षधर नेता आक्रमक बनेका छन् । पार्टी अध्यक्ष ओलीको विरोधमा उत्रेका नेपाललाई लक्षित गरी ओली समूहले समाजिक सञ्जालमार्फत नै आक्रमण शुरु गरेको छ ।
नेपालले आफ्नै पार्टीको सरकारलाई ढाल्न खोजेको आरोपसमेत ओली पक्षले लगाएको छ । नेपालले आफ्नो पतनको सुरुवात आफैले गरेको भनाई पनि ओली पक्षबाट आएको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि नेता नेपालप्रति लक्षित गरी आफ्नै सरकारलाई ढाल्न खोजेको आरोप लगाएका छन् । । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने तयारीका लागि भारत र चीनको भ्रमण गरेको आरोप ओली पक्षबाट लागेको बताइन्छ ।
रिमालले ट्वीटरमा लेखेका छन्, “मानिसको पतन त्यस समय सुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरू गरिन्छ ।” प्रधानमन्त्री ओलीसँगै अमेरिकामा रहेका रिमालको ट्वीटलाई नेपाल माथिको प्रहारकारूपमा लिइएको छ । रिमालको ट्वीट आएलगत्तै नेपाल पक्षका नेताहरू समेत प्रतिकार सुरु गरेका छन् । रिमालको ट्वीटको जवाफ ट्वीटमार्फत नै नेपाल पक्षका नेता योगेश भट्टराई दिएका छन् । उनले सत्तारको चुचोरोबाट हेर्दा अर्काको पतन भएको देखिने रहेछ भन्दै रिमाल लक्षित ट्वीट गरेका हुन् । उनले लेखेका छन्, “शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् । कठै दोषी चस्मा !”
यो श्रृंखला यतिमामात्रै समाप्त भएको छैन । लगत्तै ओलीनिकट डा. राजन भट्टराईले सरकारको विकल्प र वैकल्पिक राजनीतिको खोजिमा धमिलो पानीमा माछा मार्न खोजेको आरोप समेत लगाएका छन् । उनले ट्वीटमा भनेका छन्, “सामाजिक क्षेत्रमा देखापरेका समस्या र विकास निर्माणले चाहेजति गति लिन सकेन भन्ने नाममा सरकारको विकल्प र अझ कतिपयको वैकल्पिक राजनीतिको खोजी गर्न धमिलो पानीमा माछा मार्न खोजेको भन्दा बढी के होला र ?” उनी त्यतीमा मात्रै रोकिएका छैनन् उनले अर्को ट्वीटमा भनेका छन्, “सरकारलाई थिंक ट्यांक बनाउन घच्घच्याउनु पर्ने पंक्तिबाटै यसको गठनको विरोध भएको छ । यस किसिमको उदेकलाग्दो अवस्था यहिँ मात्र त होला ।”
यो चर्काचर्कीमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत जोडिएका छन् । उनले शनिवार राति ट्वीट गर्दै यो विषयमा आफ्नो धारणा राखेका हुन् । उनले लेखेका छन्, “वर्तमान सरकारप्रतिको आलोचना-टिप्पणी सरकारलाई थप प्रभावकारी एवम् सफल बनाउने उद्देश्यले हुनुपर्छ । यतिबेला यो सरकारको विकल्पको सोच देश, जनता, पार्टी र आन्दोलनको पक्षमा हुँदैन । अहिले त्यस्तो कल्पना गर्नु पनि गलत हुन्छ । कसैले त्यस्तो सोचेका छन् जस्तो पनि लाग्दैन ।”
पछिल्लो समयमा नेकपामा सरकारसँगको असन्तुष्टि र पार्टी एकीकरणका विषयमा विवाद चुलिँदै गएको बताइन्छ । जसको असर सार्वजनिकरूपमै छताछुल्ल हुन थालेको जानकारहरू बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्