बिमा कम्पनी सुपरिवेक्षणका २० सूचकांक निर्धारण «

बिमा कम्पनी सुपरिवेक्षणका २० सूचकांक निर्धारण

बिमा कम्पनीहरूको जोखिममा आधारित अनुगमनका लागि बिमा समितिले थप २० वटा सूचकांकहरू निर्धारण गरेको छ । विश्वव्यापी कम्पनी प्राइस वाटर हाउस कर्पोरेसन (पीडब्लुसी)ले नेपाली बिमा क्षेत्रको जोखिम बहन गर्नसक्ने क्षमताको अध्ययनपछि निर्धारण गरेको अनुपातलाई अनिवार्य रूपमा वार्षिक तथा त्रैमासिक वित्तीय विवरणमा पेश गर्न समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ । निर्जीवन तथा जीवन बिमा कम्पनीहरूको वित्तीय विवरणसम्बन्धी निर्देशनको २०६६ मा समितिले उक्त सूचकांकहरू थप गरेको छ । निर्जीवन बिमा कम्पनीको अनुसूची २७ र जीवन बिमा कम्पनीको अनुसूची ३० मा उक्त सूचकांकहरू राखिएको समितिका निर्देशक राजुरमण पौडेलले बताए । समितिले गत शुक्रबार नै कम्पनीहरूलाई पत्राचार गरी सूचकांकहरू थप गर्न सुचित गरेको छ ।
व्यवसायको परिदृश्य, पुँजी पर्याप्तता र सोल्भेसी, सम्पत्ति गुणस्तर र कर्जा नियन्त्रण, पुनर्बिमा र बिमांकीय खर्च विश्लेषण तथा लगानी र प्रतिफल शीर्षकअन्तर्गत जीवन बिमा २० वटा सूचकांक तथा निर्जीवन बिमा कम्पनीको हकमा १९ वटा सूचकांकहरू थप गरिएका छन् । जसमा मुख्यगरी कम्पनीहरूले सोल्भेन्सी अनुपात, सेयरमा भएको लगानी, अभिकर्तालाई दिइएको कर्जा, खुद जोखिम धारण अनुपात, कमिसनको अनुपात, बिमालेख जारी खर्च अनुपात साथै कम्पनीहरूले व्यतित बिमालेखको अनुपात र बिमालेख नवीकरणको अनुपातको खुलासासमेत गर्नुपर्ने भएको छ ।
सामान्यतया विदेशमा जोखिमका आधारमा बिमा कम्पनीहरूको मूल्यांकन गरे पनि नेपाल भने बिमा कम्पनीहरूको पुँजीको आधारमा मूल्यांकन गरिँदै आएको पाइन्छ । यसले कम्पनीहरूको वास्तविक अवस्था पहिचान गर्न नसकिने महशुश गर्दै समितिले जोखिममा आधारित मूल्यांकनको अवधारणालाई अघि सारेको हो । यसै क्रममा पीडब्लुसीले केही समयदेखि नेपालमा बिमा कम्पनीहरूको जोखिमको अवस्थाको अध्ययन गर्दै आएको थियो । सोहीअनुरूप कर्पोरेसनले निर्धारणको गरेको अनुपातलाई आधार मानेर समितिले उक्त सूचकांकहरू निर्धारण गरेको हो । जोखिममा आधारित अनुगमनको लागि समितिले पहिलो चरणमा उक्त व्यवस्थाहरू गरेको समितिका निर्देशक पौडेलले बताए । “हामीले विश्व बैंक लगायतका अन्तराष्ट्रिय संस्थाहरूसँग मिलेर बिमा क्षेत्रको थप अध्ययन गरिरहेका छौं । अबका दिनमा हामी कार्यलयमा नै बसेर (गैरस्थलगत निरिक्षण) सफ्टवेयरको माध्यमबाट कम्पनीहरूको अनुगमन गर्न सक्षम हुनेछौं,” उनले भने ।
कम्पनीहरूले व्यवसायको परिदृश्यअन्तर्गत कुल बिमाशुल्कमा वृद्धि, प्रथम बिमाशुल्कमा वृद्धि, लगानीमा वृद्धि, बिमा कोषमा वृद्धिको प्रतिशतमा समितिमा विवरण पेश गर्नुपर्नेछ । त्यस्तै, पुँजी पर्याप्तता र सोल्भेसीअन्तर्गत पुँजी र खुद जम्मा सम्पत्तिको अनुपात, पुँजी र टेक्निकल रिजर्भको अनुपात, सोल्भेन्सी अनुपात विवरण समावेश गर्नुपर्नेछ । सम्पति गुणस्तर र कर्जा नियन्त्रणअन्तर्गत सूचिकृत नभएको शेयरमा लगानी र आसामी, सेयमा भएको लगानी, अभिकर्तालाई दिइएको कर्जा, अभिकर्ता संख्याको विवरण पनि बुझाउनु पर्नेछ । पुनर्बिमा र बिमांकीयअन्तर्गत खुद जोखिम धारण अनुपात, खुद टेक्निकल रिजर्भ, असमाप्त जोखिमबापतको व्यवस्था विवरण, खर्च विश्लेषणअन्तर्गत खर्च अनुपात, कमिसनको अनुपात, कुल व्यवस्थापन खर्च, अभिकर्ता खर्च, बिमालेख जारी खर्चको विवरण बुझाउनु पर्नेछ । लगानी र प्रतिफलअन्तर्गत लगानीमा प्रतिफल र पुँजीमा प्रतिफलको विवरण पनि समावेश गर्न समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्